काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित कार्यसमितिको शपथ समारोह सम्पन्न भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा राजावादी पार्टी राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित पदाधिकारी र केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
लिङ्देनलगायत पदाधिकारीलाई निर्वाचन समितिका संयोजक तथा पूर्वमन्त्री हरिबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ दिलाएका थिए । यस्तै केन्द्रीय सदस्यहरुलाई लिङ्देनले शपथ गराएका थिए ।
आइतबार बिहान भएको मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्षका प्रत्यासी कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी भएका थिए । तर पदाधिकारीमा भने कमल थापा हावी भएको छ । यस्तै केन्द्रीय सदस्यतर्फ मिश्रित नतिजा आएको छ । राप्रपाको एकता महाधिवेशन मंसिर १५ गते सुरु भएको थियो ।
कमल थापा अनुपस्थित
राष्ट्रिय प्रताजन्त्र पार्टीको हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा भने उपस्थित भएका छैनन् ।
आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीसहित अधिकांश नेता तथा कार्यकर्ताहरूको उपस्थिति भए पनि थापा भने उपस्थित भएनन् । राजेन्द्र लिङदेन अध्यक्षमा निर्वाचित भएपछि थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले ठाडो हस्तक्षेप गरेको आरोप लगाएका थिए ।
उनले अब छिट्टै राजसंस्था आउनेमा बधाइ भन्दै पूर्वयुवराज्ञी हिमानी शाहलाई व्यंग्यसमेत गरेका थिए । आइतबार नै थापाले आफू निकट कार्यकर्ताहरूको भेलासमेत बोलाएका छन् ।
२०६१ सालदेखि लगातार अध्यक्ष रहेका थापा पछिल्लो महाधिवेशनमा लिङदेनबाट १९९ मतान्तरले पराजित भएका हुन् । शनिबार राति सम्पन्न मतगणना अनुसार लिङदेनले १८१७ मत ल्याएका थिए भने थापा १६१८ मतमा सिमित भए ।