काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा २ सय जनालाई एकैसाथ मतदान गर्ने व्यवस्था गर्न लागिएको छ।
राष्ट्रियसभागृह र महेन्द्र पुलिस क्लवमा कांग्रेसले मतदान गर्न २ सय बुथ राख्न लागेको हो। त्यसका लागि तयारी भइरहेको नेपाली कांग्रेस काठमाडौंका सचिव गोविन्द पुडासैनीले जानकारी दिए। महाधिवेशनमा सहभागी हुने ४५ सय भन्दा बढि प्रतिनिधिले ब्यालेटमै मतदान गर्नुपर्ने भएको छ।
एकजनालाई मतदान गर्न कम्तीमा पनि एक घण्टा भन्दा बढी लाग्ने पुडासैनीले बताए। मंसिर २४ गते कांग्रेस महाधिवेशनको उद्घाटन हुने कार्यतालिका छ। त्यसका लागि तयारीका काम धमाधम भइरहेका छन्।
किन दिएन कांग्रेसले भोटिङ मेसिनलाई मान्यता
कांग्रेसले भोटिङ मेसिनलाई मान्यता नदिने भएको छ। महिला संघको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्दा गल्तिहरु आएको भन्दै ब्यालेटमै मतदान गर्ने व्यवस्था गरिएको पुडासैनीले जानकारी दिए। 'महिला संघमा हामीले प्रयोग गरेका थियौं। त्यहाँ राम्रो भएन। त्यसैले हाम्रा प्रतिनिधिले ब्यालेटमै मतदान गर्नुपर्ने छ,' पुडासैनीले भने।
यसअघि नेकपा एमालेको चितवनमा सम्पन्न भएको १० औं महाधिवेशनमा भोटिङ मेसिनको प्रयोग गरिएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि भोटिङ मेसिनको प्रयोग मार्फत मतदान गरेको थियो। परम्परागत मतदान भन्दा भोटिङ मेसिनमा मतदान गर्न र मतगणना चाडो हुने भएकाले पछिल्लो समय राजनीतिक दलहरुले भोटिङ मेसिनको प्रयोग गर्दै आएका थिए।
४ सय बस्ने र ४० नाच्ने मञ्च
कांग्रेसले ४ सय जनालाई मञ्चमा राखेर महाधिवेशनको उद्घाटन गर्ने भएको छ। शक्ति प्रदर्शन नगर्ने भए पनि कांग्रेसले मञ्चमा भने तीन स्टेपमा बस्ने व्यवस्था गरेको छ। मञ्च व्यवस्थापनको जिम्मेवारी पारएका काठमाडौंका सचिव पुडासैनिले ४ सय जना बस्ने र ४० जना नाच्ने मञ्च बनिरहेको बताए। 'हामीले सांस्कृतिक समूहलाई ४० जना सम्म सँगै नाच्ने तयारी गर्नुस भनेका छौ,' उनले भने। विदेशी पाहुना, नेता र कलाकार गरी मञ्चमा तीन स्टेपमा बस्न मिल्ने छ।
राजनीतिक दलहरुले ठुलो लगानीमा मञ्च बनाउने गरेका छन्। नेकपा एमालेले आफ्नो १० औं महाधिवेशनमा ५० लाख रुपैया खर्चेर मञ्च बनाएको थियो। कांग्रेसले भने मञ्च बनाउन कति रकम लाग्छ भन्नेबारेमा भने केही बताएको छैन्। तर भव्य मञ्च बनाउने कांग्रेसले बताएको छ। त्यसका लागि ८० फिट लम्बाइ र ४० फिट चौडाइको मञ्च बनिरहेको पुडासैनिले जानकारी दिए। उनले कांग्रेसले उद्घाटनलाई भव्य बनाउन ठुलो मञ्च बनाइएको जानकारी दिए।
८६ होटल बुक
महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ। सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको हो । हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले बताए । 'चार हजार ३०० महाधिवेशन प्रतिनिधि बस्न मिल्ने गरी होटल बुकिङको तयारी गरेका छौँँ,'उनले भने।
समितिले महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि खानाको व्यवस्था गर्न लागेको छ । ुअनुपम फुडल्याण्ड, बत्तीसपुतली र दियालो फुडल्याण्ड, बसुन्धरामा भोजनको व्यवस्था गरिएको छ,ुउनले भने। मङ्सिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म खानाको व्यवस्था गरिएको छ।