काठमाडौं । प्रतिनिधि सभाको बैठक आजका लागि बोलाइएको छ ।
दिउँसो १ बजे बस्ने बैठकमा केही विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । सङ्घीय संसदका महासचिव भरतराज गौतमका अनुसार आजको बैठकमा सांसद प्रेम सुवालले “यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्ने, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्र प्रसाद बडूले “यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भन्ने प्रस्ताव गर्ने, सांसद सुवालले नै “फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्ने कार्यसूची छ ।
मन्त्री बडूले नै “फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बिहान बस्दैछ ।
संसदको अवरोध हटाउने र एमसीसी परियोजनाका बारेमा छलफलका लागि सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजेका लागि आह्वान गर्नुभएको बैठक संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूले कारबाही गरेका सांसदको सूची सार्वजनिक नगरिएको भन्दै सभामुख सापकोटाको भूमिकामा प्रश्न उठाउँदै आएको छ ।
संसदको अवरोध खुलाउने तथा एमसीसीको बारेमा सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवाले अस्ति सर्वदलीय बैठक बोलाउनुभएको थियो । उक्त बैठकमा पनि एमाले अनुपस्थित भएको थियो ।
आफूहरूको माग पूरा नभएकाका कारण आजको बैठकमा पनि अवरोध जारी राख्ने एमाले प्रमुख सचेतक बिशाल भट्राइले जानकारी दिए । हिजो बसेको राष्ट्रिय सभाको बैठक पनि एमालेको अवरोधका कारण अनिश्चितकालका लागि स्थगित भएको छ ।