पुष्पकमल दाहाल
काठमाडौं । आज देशको समग्र राजनीतिक परिस्थिति निकै तरल र चुनौतीपूर्ण छ । जनताको लामो सशस्त्र एवं शान्तिपूर्ण आन्दोलनबाट प्राप्त उपलब्धिहरूमाथि प्रतिगामी हमला बढेर गएको छ । समावेशी र समानुपातिक चरित्रको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान उल्ट्याउन निरंकुश तत्वहरूले टाउको उठाइरहेका छन् ।
विभिन्न नाम र रुपका दक्षिणपन्थी शक्तिहरूका बीचमा मोर्चाबन्दी बढ्दो छ । देशको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थी मोर्चाबन्दीलाई विदेशी प्रतिक्रियावादी शक्तिहरूले मलजल गर्दै लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधिनतामाथि हस्तक्षेप बढाएर लगेका छन् ।
निश्चय नै उपरोक्त प्रकारको प्रतिगामी र निरंकुश प्रवृति र तत्वहरूकाविरुद्ध संविधान, लोकतन्त्र, राष्ट्रिय स्वाधिनताका पक्षधर राजनीतिक शक्तिहरूका बीचमा पनि नयाँ प्रकारको ध्रुवीकरण र मोर्चाबन्दी सुरु भएको छ । नेपाली जनमत आज पनि लोकतान्त्रिक संविधान, राष्ट्रिय स्वाधिनताका पक्षमा स्पष्ट रहेको तथ्य प्रतिगमन विरोधी आन्दोलनमा व्यापक जनसहभागिताले प्रष्ट गरेको छ ।
वाम लोकतान्त्रिक मोर्चाबन्दी र व्यापक जनदबाबका कारण तत्कालीक र कार्यनैतिक रूपमा देशी विदेशी प्रतिक्रियावादीहरूको प्रतिक्रान्तिकारी शक्तिहरूको योजना सेटिङ असफल भएको छ । तर, रणनैतिक रूपमा प्रतिक्रान्तिकारीहरू षडयन्त्रका नयाँ नयाँ तानाबाना बुन्ने षडयन्त्र भने रोकिएको छैन ।
वस्तुतः यो स्थिति नेपाली समाजमा विद्यमान वर्गसंघर्ष कै राजनीतिक अभिव्यक्ति हो । हिजो जनयुद्ध र जनआन्दोलनबाट पराजित सामन्ती तत्वहरू दलाल, नोकरशाही, पुँजीपतिहरू र तिनका पृष्ठपोषक राजनीतिक दलहरू एकातिर एवं मजदूर किसानदेखि राष्ट्रिय पूँजीपति समूह तथा परिवर्तनका पक्षधर राजनीतिक दलहरू, उत्पीडित जाती, समूदायदेखि देशक्त बुद्धिजिवीसम्म अर्कोतिर ध्रुवीकृत भएर संघर्ष चलिरहेको सजिलै देख्न सकिन्छ । यो ऐतिहासिक रूपले अनिवार्य संघर्षमा विजयका लागि वाम लोकतान्त्रिक शक्तिले आफ्नो विचारलाई अझ स्पष्ट र धारिलो पार्नु आफ्नो राजनीतिक मुद्दालाई दृढताका साथ जनसमूदायमा स्थापित गर्नु तथा आफ्ना आचरणलाई जनहित बनाउन अझ जोड गर्नुको विकल्प छैन ।
यस सन्दर्भमा हामी स्पष्ट हुनुपर्दछ कि महान जनयुद्ध र ऐतिहासिक संयुक्त जनआन्दोलनको प्रमुख नेतृत्वकर्ता एवं संविधानसभा समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली, धर्मनिरपेक्षता सहितको प्रमुख वाहक शक्ति हुनुको नाताले यो परिवर्तनको रक्षा विकास र परिमार्जनमा पनि हाम्रो पार्टीको प्रमुख जिम्मेवारी रहेको छ ।
केही वर्षदेखि स्वयं हाम्रो पार्टीमा देखा परेका वैचारिक र राजनीतिक अस्पष्टता, विभाजन, गुटबन्दी अराजकताका साथै शान्ति सम्झौतापछिका कतिपय राजनीतिक र संगठनात्मक कमजोरीसमेतका कारण हामीले परिवर्तनको रक्षा, विकास र परिमार्जनमा प्रभावकारी भूमिका खेल्न सकेका छैनौं । यसको परिणामस्वरुप दक्षिणपन्थी, प्रतिक्रियावादीशक्तिहरूले टाउको उठाउने मौका पाइरहेका छन् । यो विषयमा हाम्रो पार्टीले गम्भीरताका साथ समीक्षा गर्ने र तद्नुसार संगठन र कार्यशैलीको विकास गर्नुपर्ने आवश्यकता रहेको छ ।
आज राष्ट्रिय राजनीतिदेखि कम्युनिष्ट आन्दोलन र हाम्रो पार्टीमा समेत देखा परेका समस्याहरूको प्रमुख र ठूलो कारण विचारको विकास र स्पष्टताको अभाव नै हो । हामीले यसलाई राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय आयामबाट समेत हेर्नुपर्दछ । भुमण्डलीकृत साम्राज्यवादका विशेषताहरू, सूचना प्रविधिमा भएको क्रान्तिको समग्र प्रभावका साथै आजको उत्पादन शक्ति र उत्पापदन सम्बन्धबारे आंकलन गरेर तथा हाम्रो आफ्नै आर्थिक, सामाजिक तथा राजनीतिक विकासको अवस्थालाई ठोस रुपमा विश्लेषण र संश्लेषण गरेर मात्रै हामीले पार्टीको राजनीतिक विचारमा स्पष्टता हासिल गर्न सकिन्छ ।
विकासको वर्तमान राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिमा उभिएर सही विचारधारा र राजनीतिक कार्यदिशाका आधारमा क्रान्तिकारी पार्टी र क्रान्तिकारी रुपान्तरणको ठोस आधार प्रस्तुत गर्ने चुनौती हाम्रो अगाडि छ । विगतको निर्मम आत्मसमीक्षा, वर्तमानको वस्तुवादी विश्लेषणका आधारमा समाजवादी क्रान्तिको भविष्यको स्पष्ट रुपरेखा खिच्न सकिन्छ ।
हाम्रो आठौं राष्ट्रिय महाधिवेशनले आफ्नो ध्यान मुख्यरुपमा विचार संश्लेषण र ऐतिहासिक कार्यभार पुरा गर्ने कुरामा लिनेछ । महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, ऐतिहासिक मधेस आन्दोलन लगायत सम्पूर्ण उत्पीडित समुदायका आन्दोलनहरूका अमर शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता एवम् घाइते योद्धा र उहाँहरूका परिवारहरूप्रति हार्दिक सम्मान प्रकट गर्दै यो आठौं राष्ट्रिय महाधिवेशन सहिदहरूको सपना पूरा गर्ने दिशामा निरन्तर अघि बढ्ने प्रतिज्ञा गर्दछ ।
वर्तमान परिस्थितिको समीक्षा
क) अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा
शिकार गर्नका लागि ढुंगाका हतियारको आविष्कारबाट सुरु भएको श्रमशक्ति र उत्पादन उपकरणको प्रक्रिया आगोको आविष्कार हुँदै आज स्याटेलाइट र डिजिटल सूचनाको युगसम्म आइपुगेको छ । मानव जातिको इतिहासलाई यसरी उत्पादन शक्ति र आपसी मानवीय सम्बन्धको विकासक्रमसँग जोडेर हेर्ने कुरा नै ऐतिहासिक भौतिकवादको वैज्ञानिक सारतत्व हो । वस्तुतः आदिम साम्यवाददेखि सामन्तवादी र पूँजीवादी युगसम्मको यात्रा, यात्रामात्रै होइन, समाजवाद र साम्यवादसम्मको यात्राको आंकलन पनि यसै ऐतिहासिक भौतिकवादी विज्ञानको आधारमा गरिएको हो ।
आज मानव समाज साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगबाट श्रम र पूँजीविहीन समाजवाद र पूँजीवादका बीच, साम्राज्यवादी गुटहरूको बीच तथा साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूबीचको आधारभूत अन्तरविरोध अहिले पनि कायम नै छन् ।
कमरेड स्टालिनको अवसनपछि लुकेर बसेका अवसरवादीहरूले समाजवाद र कम्युनिष्ट पार्टीलाई आवरणको रुपमा प्रयोग गरेर पुँजीवादी प्रतिक्रान्तिको अभ्यास सुरु गरे । रुसमा देखिएको प्रतिक्रान्तिको अनुभवसमेत गहिरो अध्ययन गरी माओले समाजवादी चरणमा वर्ग संघर्षको स्थितिबारे गम्भीर विश्लेषण गर्नुभयो ।
रुसमा पुँजीवाद पुनर्स्थापनासँगै आफ्नै पार्टीभित्र देखापरेको गलत विचार र प्रवृत्तिविरुद्ध संघर्ष समेतको संष्लेषण गर्दै समाजवादमा वर्ग संघर्ष र क्रान्तिको निरन्तरता सम्बन्धी महत्वपूर्ण संस्थापनाहरू अघि सार्नु भयो । यसरी कमरेड माओको योगदानकै कारण मार्क्सवाद, लेनिनवाद माओवादमा विकसित हुन पुग्यो । उपरोक्त ऐतिहासिक सन्दर्भ र पृष्ठभूमिमा समाजवादी आन्दोलनलाई कसरी अघि बढाउने भने अहम प्रश्न रहेको छ ।
मार्क्सवादको सैद्धान्तिक दिशानिर्देशनमा भूमण्डलीकृत वित्तीय पुँजीवादका विशेषताहरू, विज्ञान र प्रविधिको मुख्यतः सूचनाप्रविधिमा भएको प्रगति, उत्पादक शक्ति र उत्पादन सम्बन्धको विकासमा परेको प्रभावसमेतको वस्तुवादी विश्लेषणको आधारमा आजका कम्युनिस्ट क्रान्तिकारीहरूले नयाँ चरणमा समाजवादी क्रान्तिका लागि नयाँ विचारको विकास, परिमार्जन अनिवार्य बन्न गएको छ । हामी ऐतिहासिक रूपमा नयाँ चरणमा आइपुगेका छौं । हामीलाई नयाँ विचार चाहिएको छ र समाजवादी क्रान्तिको नयाँ मोडल चाहिएको छ ।
अर्को भाष्यमा प्रतिक्रान्तिको अनुभवसहित मार्क्सवादको सिर्जनात्मक विकास र परिमार्जन अनिवार्य बन्न गएको छ । प्रतिस्पर्धात्मक औद्योगिक पुँजीवादको चरणमा देश र वित्तीय संस्थाहरूको भूमिका उत्पादनका निम्ती पुँजी लगानी गर्ने सहयोगी संस्थाहरूको रुपमा रहेका थिए । तर आजको भूमण्डलीकृत वित्तीय पुँजीवादको चरणमा देश र वित्तीय संस्थाहरूको भूमिका परिवर्तन आएको छ । पुँजीपतिहरूको हातमा केन्द्रीकृत भएको अत्याधिक पुँजीलाई उत्पादनको क्षेत्रमा भन्दा मुख्यत वित्तीय क्षेत्रमा लगानी गरी छिटो समयमा अत्याधिक मुनाफा लिनु नै वित्तीय पुँजीवादको विशेषता हो ।
उत्पादनको क्षेत्रमा लागनी गर्न नाफा कमाउने पहिलेको मुद्रा, माल र फेरि मुद्रा थियो । त्यो मुद्रा, माल र मुद्राको अवस्थामा अब मुद्रा लगानी गरेर मुद्रा नै कमाउने प्रक्रियाले निकै बढेको छ । दोस्रो विश्वयुद्धपछि अमेरिका र बेलायत पहिले सुरु गरेको वित्त क्षेत्रमा पुँजी लगानी गर्ने सुरु प्रक्रिया आज विश्वका सबै धनी देशहरूको आमचरित्र बनेको छ । उत्पादनमुलक क्षेत्रबाट वित्त क्षेत्रमा पुँजी पलायन हुदा समाजमा वेरोजगारीका साथै विभिन्न प्रकारको संकटहरू उत्पन्न गराएको छ ।
वित्त क्षेत्रमा पुँजीको पलायन हुनुको मुख्यकारण पुँजीपतिको छोटो समयमा धेरैभन्दा धेरै नाफा कमाउने अतृप्त भोक नै हो । उत्पादनको क्षेत्रमा लगानी गर्दा समय धेरै लामो लाग्ने, मिहिनेत पनि धेरै गर्नुपर्ने, मजदूर आन्दोलनको सामना गर्नुपर्ने, नाफा चाँही कम आउने कारणले नै पुँजीपतिहरूले अरुको सम्पत्ति छिट्टै हड्पेर छोटो समयमा अकुत सम्पत्ति आर्जन गर्न नै पुँजीलाई शेयर बजार, मुद्रा बजार, धितोपत्र खरिदबिक्री तथा घरजग्गा किनबेचमा गर्न थालेका हुन् । त्यस सन्दर्भमा नेकपाको राजनीतिक प्रतिवेदनको पृष्ठ ३ मा रहेको निम्न निष्कर्ष मुठ्ठीभर पुँजीपति घरानाहरूको हातमा पुँजीको अत्याधिक संकलन र वित्तीय एकाधिकारको पुँजीमार्फत नवऔपनिवेशिक शोषण, वित्तीय तथा बहुराष्ट्रिय कम्पनीमार्फत विश्व अर्थव्यवस्थालाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयास नव उदारवादी विचारधारा, व्यक्तिवाद र उपभोक्तावादमा प्रश्रय दिन विश्वलाई पुँजीवादी माल र मनोरन्जनको बजार बनाउनु यसको विशेषताको रुपमा रहेका छन् ।
अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू मार्फत विश्वव्यापी रूपमा निजीकरण, उदारीकरण र भूमण्डलीकरणको बर्चश्व कायम राख्ने प्रयास भइरहेको छ । औद्योगिक रुपमा तयार रहेको वस्तुहरुको निर्यात भन्दा पनि वित्तीय पुँजीको निर्यातमा जोड दिँदै एकाधिकार बनाउने प्रयास अघि बढेको छ ।
अर्थतन्त्रको निर्धारक तत्व खुलाबजारलाई बनाउँदै, राज्यलाई नियमकारी निकायको रुपमा सीमित गर्न खोजिएको छ । स्थायी श्रमको साटो करार, ज्यालादारी, आउट सोर्सिङमार्फत श्रमजिवि वर्गलाई विभाजित, असुरक्षित, कमजोर र पराश्रित बनाइएको छ ।
विज्ञान र प्रविधिको मार्फत प्रगतिबाट लाभान्वित हुन बहुसंख्यक जनता बञ्चित नै छन् । आजको वित्तीय पुँजीवाद विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको माध्यमबाट वित्तीय एकाधिकारको, दलालहरूको सञ्जाल तयार गरि नयाँ प्रकारको नव औपनिवेशिक प्रणाली थोपर्ने गरिरहेको छ । उनीहरूले पुँजीवाद र साम्राज्यवादको नवीनतम अभिव्यक्तिको रुपमा विश्व वित्तीय पुँजीवादले आज उत्पीडित श्रमजिवीमाथि शोषण नयाँ र सुक्ष्म रुपहरू पकडिरहेका छन् ।
भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय पुँजीवादलाई सही सावित गर्न पुँजीवादी विचारकहरुले नवउदारवाद नीति अघि सारेका छन् ।
प्रत्यक्ष हस्ताक्षेप र टकरावको परिणाम राम्रो नहुने दुई वटा विश्वयुद्धबाट हारजित गरेका विभिन्न पुँजीवादी गुटहरूले अप्रत्यक्ष हस्तक्षेप नै उपयुक्त हुने निष्कर्ष निकाले । त्यसअनुसार आपसमा मिलेर एशिया, अफ्रिका र ल्याटिन अमेरिकाको गरिब देशहरूको दोहन गर्ने नीति लिइयो । निजीकरण र उदारीकरणको पक्षपोषण गर्न नव उदारवादलाई यो सन्दर्भमा पुँजीवादले आफ्नो हतियारको रुपमा प्रयोग गर्दै आयो । नवउदारवाद अर्थशास्त्रीहरूले भन्दै आएको कुरा ुसूचना, सञ्चार र यातायातमा भएको अभूतपूर्व विकासले विश्वका देशहरूलाई यसरी जोडेको छ कि राष्ट्रियताको घेराभित्र खुम्चिएर एक्लै अर्थतन्त्र विकास गर्न सकिदैन, प्रत्येक देशले आफूलाई अन्तर्राष्ट्रिय बजारमा जोड्नै पर्छ, उदारवादी अर्थनीति अपनाउनै पर्दछ र सीमानाका सबै बार बन्देजहरू भत्काएर निर्वाध रुपमा पुँजी र मालसामानलाई आवात जावत गर्न खुला छुट दिनुपर्छु रहेको छ ।
आश्चर्य के छ भने प्रचार गर्न पुँजीवादी देशहरू स्वयंका लागि भने त्यो नीति लागू गर्दैनन् । आफ्ना लागि उनीहरूले संरक्षणवादको आडमा देश अर्थतन्त्र अझ बलियो बनाउने काममा लागिरहेका छन् । निजीकरण र उदारीकरणको विषय केवल विश्वका गरिब देशहरूमा अपार प्राकृतिक स्रोत र सस्तो श्रमशक्ति दोहन गर्न प्रयोग गरिएको छ । हामीहरूलाई मात्रै बजार खुला गर उदार हौ, निजीकरण गरे भन्ने आफू चाहि त्यस्तो नगर्ने । वस्तुतः आज विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठन जस्ता संगठनहरूको सञ्चालक सबैमा विश्वका ठूल्ठूला एकधिकारवादी पुँजीपतिहरू नै रहेका छन् ।
सूचना, सञ्चार र यातायातको भएको विकासलाई वित्तीय पुँजीवादले उत्पादनमा विकेन्द्रीकृत रुपमा जहाँ सस्तो श्रम पाइन्छ, जहाँ अन्य साधानहरूको सहज उपलब्ध हुन्छ त्यही गर्ने गरेको छ । नेटवर्क र साइबरको विकासले गर्दा बहुराष्ट्रिय कम्पनीहरूले एउटा वस्तु उत्पादन एकै ठाउँमा नगरी एउटै ब्राण्ड र मोडलको माल सामान विश्वका विभिन्न ठाउँमा उत्पादन गर्न थालेका छन् । आजभोलि कम्पनीहरूले विश्वका विभिन्न देशका साना कम्पनीहरूलाई एउटै सामानका अगल अगल पार्टपूर्जा उत्पादन गर्न लगाइ अर्को ठाउँमा जोडजाड गरेर बजारमा पठाउने पनि गर्न सुरु भएको छ । उत्पादनको लागत घटाउन, बजारको सुनिश्चितताका लागि यसो गर्न गरिएको छ । वित्तीय पुँजीवादअन्तर्गत उपरोक्त प्रक्रियाबाट पुँजीको चरम केन्द्रीकरण भयो । पुँजीको यो चरम केन्द्रीकरणबाट उत्साहित भएका पुँजीपतिहरू र पुँजीवादी अर्थशास्त्रीहरू अब पुँजीवादको विश्वव्यापी विजय अभियान रोक्न कुनै तागत छैन भन्न थालेका छन् । पुँजीका लागि सीमा भत्काइएको निकै ठूलो प्रचारवाजी गरिएको छ । विज्ञान र प्रविधिको भएको विकासलाई नव उदारवादीहरूले भूमण्डलीकृत पुँजीवादको अर्थात आजको सन्दर्भमा वित्तीय पुँजीवादको औचित्य पुष्टीको प्रमाणको रुपमा प्रस्तुत गर्ने चेष्टा गरिरहेका छन् । जबकी वास्तविक धारतलमा भने विज्ञान प्रविधिको मुख्यतः सूचना प्रविधि, यातायातमा भएको अभुतपूर्व विकासले धनी र गरिबका बीचमा खाडललाई विश्वव्यापी रूपमा सामाजवादी क्रान्तिको वस्तुगत आधारलाई भने बलियो पारिरहेका छन् ।
नवउदारवादीहरूको प्रचारवाजी चलिरहदा पुँजीबजारले अन्तरनिहीत अन्तरविरोधको कारण वित्तीय पुँजीवाद, कथित उदार भयानक संकट रुपमा विष्फोट भयो । पुँजीको अत्याधिक केन्द्रीकरण अनियन्त्रित बजार व्यवस्था र विभिन्न शक्ति राष्ट्र र बहुराष्ट्रिय निगमहरूका विचारमा नाफाका लागि हुने अश्वस्थ प्रतिस्पर्धा आदि कारणले पुँजीवाद अर्थशास्त्रको रामवाणको रुपमा प्रचार गरेको नीजिकरण, उदारीकरणको नवउदारवादी बेलुनको हावा सजिलै खुस्कियो । विश्वमा पहिले कहिले नदेखिएको आर्थिक मन्दीको चपेटमा स्वयम विकसित पुँजीवादी देशहरू नै पर्न गए ।
सन् २००८ देखि विश्वव्यापी रूपमा परेको आर्थिक मन्दीबाट कतिपय मुलुकहरू अझै बाहिर निस्किन सकेका छैनन् । कयौं वित्तीय संस्था, घरजग्गा कारोबार गर्ने रियल स्टेट कम्पनी, उद्योगहरू टाट पल्टिए । संकटकै कारण कतिपय मुलुकमा सरकारसमेत परिवर्तन भए । राज्यले अर्बौं लगानी गरेर त्यस्ता व्यवसायलाई उद्दार गर्न खोजेपनि समस्या जहाँको तहिँ नै रह्यो । सीमिति पुँजीपतिहरूको स्वार्थ रक्षाका लागि ती देशका सरकारले मितव्ययिताका नाममा सुरु गरेको खर्च कटौती, सामाजिक सुरक्षा र नियन्त्रण, मजदुर तथा कर्मचारीको निष्कासनले गम्भीर सामाजिक समस्या र उत्पादन बढ्दै गएको छ ।
यो आर्थिक संकटसँगै विश्वव्यापी रूपमा आर्थिक, सामाजिक समस्याका विरुद्ध विभिन्न स्वरुपका आन्दोलनहरू पनि विकसित हुन थाले । स्वयं अमेरिकामा नै ुवालस्ट्रिट कब्जा गर, पुँजीवाद संकटमा छु भन्ने नाराहरू घन्किए । त्यो आन्दोलन दर्जनौं पुँजीवादी देशका झन्डै नौ सय सहरहरूमा फैलियो । यो संकटसँगै तथाकथित एकध्रुवीय विश्वको सपना पूरा नहुने स्पष्ट भयो । विश्व तीव्र रूपमा बहुध्रुवीय बन्दै जान थाल्यो ।
हालै अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको अभिव्यक्तिले अमेरिका थप युद्धमा संलग्न रहने स्पष्ट संकेत गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले दिएको जानकारी हेर्दा शीत युद्धकालीन मानसिकताका साथ चीन र रुससँगको प्रतिस्पर्धा अमेरिकाले चर्काएर लान खोजेको छ । बाइडेनको शासनले अमेरिका र चीनबीचको संघर्ष लोकतन्त्र र निरंकुशतन्त्र बीचको लडाइँको रूपमा व्याख्या गरिएको छ । रक्षा मन्त्रालयको समीक्षामा हिन्द प्रशान्त क्षेत्रमा साझेदारहरूसँग थप सहकार्य गर्न निर्देशन दिइएको छ भन्ने कुरा स्पष्ट लेखिएको छ । हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेकरिकाले बेलायत र अष्ट्रेलियासँग विशेष सैन्य साझेदारी गर्नुका साथै विभिन्न देशमा थप सैन्य अड्डा बढाउने र सुदृढ गर्ने योजना बनाएको छ ।
आज अमेरिकाले भारतसँगको सम्बन्ध सुदृढ पार्नुका पछाडि त्यै रणनीतिले काम गरेको देखिन्छ । वास्तवमा अमेरिका आफू मात्रै नभई आफ्ना साझेदारहरूलाई समेत लिएर युद्धमा जाने तयारी गरिरहेको संकेत स्पष्ट देखिएको छ । नयाँ शीतयुद्धका रूपमा देखा परेको यो परिघटनाले नयाँ युद्धलाई जन्म दिएर पुँजीवादले आफ्नो संकट मोचनको दिशामा अगाडि बढ्न सक्दैन भन्ने स्थिति विल्कुलै छैन ।
आज बिशुद्ध पुँजीवादी मुनाफाका लागि अन्दाधुन्ध खोलिएका कलकारखानाबाट निस्कने धुँवाले व्यापक रूपमा वायुमण्डललाई प्रदुषित गरेको छ । आधुनिकताका नाममा प्रयोग हुने रासायनिक मलले किटनाषक औषधिको प्रयोग आदिले समेत वातावरणलाई प्रदुषित गर्दै अत्यधिक कार्बन उत्सर्जन गरिरहेको तथ्य स्पष्ट नै छ । वन विनाशको प्रक्रिया अनियन्त्रित छ । यातायातका साधनहरूको प्रयोगबाट निस्कने कार्बसमेतका कारण पृथ्वीको तापक्रमको वृद्धिले जलवायु परिवर्तनको गम्भीर समस्या उत्पन्न भएको छ । चौतर्फी पर्यावरण विनाशका कारण भइरहेको तापक्रममा बृद्धि र जलवायु परिवर्तनको तीव्रताले पृथ्वीकै संरचनामाथि खतरा उत्पन्न भएको छ । समुद्रको किनारामा रहेका देशहरू डुब्ने खतरा दिनप्रतिदिन बढ्दैछ । हिमालय श्रृंखलाबाट हिउँ पग्लिने प्रक्रियाले यसको वरिपरी रहेका देशहरूको मौसम र पर्यावरणमा अस्वाभाविक परिवर्तन भएर प्रकृति, जीवजन्तु र मानिसकै भविष्य खतरामा रहेको स्पष्ट देखिन्छ ।
स्पष्ट छ कि प्रकृति र मानवजातीमाथि पर्दै गएका संकटहरूको प्रमुख कारण पुँजीवादी उत्पादन प्रणाली नै हो । पुँजीवादी उत्पादन प्रणालीको मुख्य प्रेरक शक्ति जसरी भएपनि बढीभन्दा बढी नाफा कमाउनु नै हो । यो प्रणालीले उत्पादन प्रणालीको प्रवृत्ति, संहार र मानवजातीलाई हुने हानीनोक्सानीबारे हिसाब गरेर योजनाबद्ध विकासमा होइन नाफाका निम्ती मात्रै अराजक उत्पादनमा ध्यान दिने भएकाले आज यो संकट विश्वमा आइपरहेको छ ।
अतः आजका कम्युनिस्ट आन्दोलन र लवकतान्त्रिक आन्दोलनका शक्तिहरूले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने र साम्राज्यवादी उत्पादनप्रणालीका विरुद्ध समुदाय र राष्ट्रियताको हितमा प्रकृति र पर्यावरणको संरक्षण गर्ने मुद्दालाई विश्वव्यापी अभियानको नेतृत्व लिन जोड गर्नुपर्दछ । उपरोक्त विश्लेषणमा आधारमा निस्किने निम्न निष्कर्षहरूलाई गम्भीरता पूर्वक आत्मसात् गरी अगाडि बढ्ने नयाँ संकल्प लिनु आजका कम्युनिस्ट क्रान्तिकारीहरूको ऐतिहासिक दायित्व हो ।
क) भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय पुँजीवादको प्रकृति र मानवजातीको हितविरोधी प्रवृतिको खण्डन आलोचना गर्दै २१ औँ सताब्दलीमा नयाँ समाजवादी क्रान्तिको अनिवार्यताबारे निरन्तर, व्यवस्थित र योजनाबद्ध रुपमा जनसमूदायमा प्रचार गर्ने ।
ख) मार्क्सवादको आधारभूत सिद्धान्तको निर्देशनमा सबैखाले जडता, यान्त्रिकता र आत्मसमर्पणवादका विरुद्ध विचारधारात्मक संघर्ष चलाउँदै वित्तीय पुँजीवादका रूपमा प्रकट भइरहेको भूमण्डलीकृत सामाज्यवादका विरुद्ध क्रान्तिका अनुभवहरूको समीक्षासहित २१ औँ सताब्दीमा नयाँ विचारको रूपमा स्थापित गर्न जोड गर्ने ।
ग) आजको पुँजीवादले स्थानीय स्तरमा गएर आदिवासी र स्थानीय समुदायको प्राकृतिक साधनस्रोतमाथिको हक र उनीहरूको सांस्कृतिक पहिचानमाथि भइरहेको हमलालाई स्पष्ट गर्दै व्यापक रूपमा स्थानीय सामुदायिक मोर्चा कायम गरी प्राकृतिक स्रोत साधनमाथि स्थानीय जनताको हक अधिकार कायम गर्न तथा समुदायको आर्थिक सामाजिक र सांस्कृतिक पहिचान र अधिकार स्थापना गर्न देशव्यापी अभियानलाई तीव्रता दिनुपर्छ ।
घ) राष्ट्रिय सीमा भत्कियो भन्ने नवउदारवादीहरूको प्रचारका विरुद्ध आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र विकास तथा वित्तीय एकाधिकार पुँजीवादको पक्षपोषण गर्ने दलाल नोकरशाही पुँजीवादका विरुद्धको संघर्षलाई नयाँ उचाइमा उठाउँदै राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई अगाडि बढाउनु पर्दछ ।
ऐतिहासिक पृष्ठभूमि र राष्ट्रिय राजनीतिक परिस्थिति
प्राकृतिक र भौगोलिक रूपले स्वच्छ एवं उर्वर भूखण्ड नेपालमा आदिकालदेखि नै मानव सभ्यता र समाजको विकास भएको तथ्य वौद्धिक वाङ्मय, उपनिषद्, साहित्य, त्रिपटिकहरू एवं विभिन्न काव्य ग्रन्थहरूमात्र होइन आधुनिक वैज्ञानिक अनुसन्धानबाटसमेत प्रमाणित भएका छन् । सन् १९८० मा गरिएको वैज्ञानिक अन्वेषणबाट पाल्पा जिल्लामा पर्ने दोभानको तिनाउ नदी किनारमा भेटिएको दाँतको अवशेषको अमेरिकामा गरिएको विशेष परीक्षण गर्दा एक करोड १० लाख वर्ष पहिलेको प्रमाणित भएको छ । त्यसबाट स्पष्ट हुन्छ कि नेपाल र यो भूखण्ड परापूर्व कालदेखि नै मानव सभ्यताको विकासको आदि थलो हो ।
फिरन्ते युगबाट जब समाज पशुपालनको युगमा प्रवेश गर्यो, त्यतिबेला देखि नै नेपालका विभिन्न भू(भागमा कविलाई गणराज्यको विकास हुन थालेको थियो । उत्पादक शक्तिको विकास प्रक्रियामा पशुपालनबाट खेतिपाती र सामान्य बन्द व्यापार हुँदै त्यसप्रकारका गणराज्यहरूको विकास र विस्तार हुँदै आएको ऐतिहासिक प्रमाणहरू छन् । पहाडी भूभागको पहिलो र बलियो गणराज्यका रूपमा किराँतमाथि दक्षिणबाट मगध सामाज्यबाट हमला भयो । उत्पादक शक्तिको विकाससँगै उहिलेका प्रकृति पूजक कविलाई गणराज्यमा मातृसत्ता भेटिन्छ । क्रमशः विभिन्न गणराज्यमा वंशका राजारजौटा हुँदै बाइसे, चौबिसे राज्यहरू बनेको पाइन्छ । इतिहासमा ऐतिहासिक भौतिकवादी व्याख्याले मात्रै वर्तमानलाई बुझ्न र जनताको हित गर्न सकिँदैन ।
त्यसकारण कमरेड पुष्पलालले नेपालमा मातृसत्तात्मक समाज लेख्नुभयो । उहाँले लेख्नुभएको छ । नेपालमा आदिम युगमा मातृसतात्मक समाज थियो, मातृ सतात्मक समाजको अस्तित्वलाई मान्नुको अर्थ हुन्छ, आदिम साम्यवादी समाजको अस्तित्वलाई मान्नु हो । यसबाट हामीमा भएको गलत धारणा समाप्त हुन्छ कि नेपालको इतिहास मञ्जुश्री अथवा ने मुनीबाट सुरु भएको हो । सबैभन्दा ठूलो कुरा त नेपालको इतिहासलाई परालौकिक शक्ति, पुराण र धार्मिक दृष्टबाट मुक्त गरी ऐतिहासिक भौतिकवादको स्तरमा उठाउनु हो । यसै दृष्टिकोणअनुसार नेपालको इतिहासको खोजी गरेमा हामी आफ्नो वास्तविक राष्ट्रिय परम्परा पत्ता लगाउन सक्नेछौं र नेपालमा देखिएको प्रत्येको प्राचीन संस्थाहरूको भौतिकवादी व्याख्या दिन सक्नेछौं र राष्ट्रिय एकतालाई बलियो पार्ने दर्बिलो आधार तयार पार्न सक्नेछौं । यो कमरेड पुष्पलालले मातृसत्ताको अध्ययन भन्ने आलेखमा लेख्नुभएको कुरा हो । यो नै इतिहास अध्ययन गर्ने सही दृष्टिकोण हो । सामन्ती शासकहरूले नेपालको लामो समयदेखि इतिहासलाई राजा महाराजाको र दैविक शक्तिको धार्मिक अन्धताका रूपमा व्याख्या गर्दै आएका छन् । यसको ठिक विपरीत भौतिकवादी दृष्टिकोणले इतिहासलाई निश्चित देशकालमा विकसित भएको निश्चित उत्पादन प्रणालीसँग जोडेर हेर्न सिकाउँछ ।
नेपालमा रहेका भुरेटाकुरे राज्यहरू उत्पादक शक्तिको विकासमा बाधक बन्दै गएपछि नै एउटा विशाल नेपाल निर्माणको वस्तुगत आधार निर्माण भएको हो । वस्तुतः पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानको सफलताका पछाडि त्यै वस्तुगत आधारको आवश्यकताले काम गरेको हो । एकात्मक केन्द्रीकृत र बलियो नेपाल बन्यो त्यतिबेलादेखि सामन्तवादको प्रवृतिका रूपमा केन्द्रीकृत सामन्ती सत्ता पनि मजबुत भएर देखा पर्यो । यसकारणको सामन्ती सत्ता निरंकुश भ्रष्टका कारण क्रमशः जनताबाट अलग्गिँदै र उत्पादक शक्ति र विकासको बाधक बन्दै गयो ।
राणाशासनका विरुद्ध तथा कुख्यात सुगौली सन्धीपश्चात् बढ्दै गएको वैदेशिक हस्तक्षेपका विरुद्ध बढ्दै गएको नेकपा कांग्रेस लगायतका दलहरू स्थापना गरिए । यसरी नेपाल सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिको नयाँ युगमा प्रवेश गर्यो । २००७ सालमा राणाशासनको अन्त्य सामन्ती जमिनदारहरूका विरुद्ध भएका ठूल्ठूला किसानसंघर्षहरू भए । मुख्यतः तराईमा भएका किसान संघर्षहरू, २०१७ सालमा जनतामा थोपरिएको निरंकुश र निर्दलीय पञ्चायती शासनका विरुद्ध ३० वर्षसम्म चलेका सानाठूला सशस्त्र र शान्तिपूर्ण आन्दोलनका श्रृंखलासहित पञ्चायती तानाशाहीको अन्त्य गर्ने २०४६ सालको ऐतिहासिक जनआन्दोलन भयो ।
सामन्तवादका विरुद्ध योजनाबद्ध र सशस्त्र विद्रोहको नेतृत्व गर्ने १० वर्षको महान जनयुद्ध जनयुद्ध र शान्तिपूर्ण जनआन्दोलनको समायोजनमा अगाडि बढेको १९ दिने ऐतिहासिक संयुक्त जनआन्दोलन मधेस आन्दोलन, विस्तृत शान्ति सम्झौता सैविधानसभाको निर्वाचन, धर्मनिरपेक्ष, समावेशी, समानुपातिक, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासम्म आइपुग्दा नेपालमा सामन्ती राजनीतिक प्रतिनिधिका रूपमा रहेको राजतन्त्रमाथि आधारभूत रूपमा नेपाली जनताको विजय भयो ।
नेपाली जनताको यो विजय विश्वका कुनै पनि देशका क्रान्तिका मोडेलहरूको नक्कलका रूपमा होइन अपितु निक्कै मौलिक र जीवन्त रूपमा सफल हुन गएको पक्षमा पार्टीको धारणा स्पष्ट हुन जरुरी छ ।
आत्मगत रूपमा पार्टीको चाहना सामन्तवाद र साम्राज्यवादका विरुद्धको जनवादी क्रान्ति माओले भनेझैं समाजवादी क्रान्तिको अंगका रूपमा र नयाँ जनवादीका क्रान्तिका रूपमा सम्पन्न गर्न गएको भएपनि वास्तविक जीवनमा नेपाली पुँजीवादी जनवादी क्रान्तिका आफ्नै मौलिक रूप विकसित गर्यो । क्रान्तिको नेतृत्वमा कम्युनिस्ट पार्टीको महत्वपूर्ण भूमिका छ ।
बुर्जुवा पुँजीपति वर्गलाई समेत नेतृत्वको हिस्सा दिएर सामन्तवाद, त्यसको राजनीतिक प्रणालीमाथि आधारभूत विजय हासिल गरिएको उदाहरण अन्यन्त्र पाउन मुस्किल छ । यहिँ नै नेपाली पुँजीवादी जनवादी क्रान्तिको मौलिकता हो, विशेषता हो । यहिँ मौलिकता र विशेषतामा टेकेर नै समाजवाद उन्मुख समानुपातिक समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएको हो । यहि मौलिकता र विशेषतामा नै अबको नयाँ समाजवादी क्रान्तिकाका चुनौती र अवसरहरू अन्तरनिहीत रहेका छन् ।
बुर्जुवा वर्गसँग सम्झौता गरेर प्राप्त गरिएको यो सफलताभित्र समाजवादी क्रान्तिको नयाँ रणनीति अन्तर्गत सामन्तवादका अवशेषहरूका विरुद्ध तथा राष्ट्रिय स्वाधिनताको आन्दोलनसमेतलाई जोडेर अगाडि बढ्नुपर्ने आवश्यकता अन्तरनिहीत रहेको छ । यसको अर्थ हुन्छ कि नेपाली समाजवादी क्रान्तिको विचार रणनीति र कार्यनीति पनि मौलिक हुनेवाला छ । त्यसररी नै विशिष्ट र चुनौतीपूर्ण हुनेवाला छ । हामी दलाल नोकरशाही पुँजीवादका विरुद्ध संघर्ष गर्दै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणको मूल नीतिअन्तर्गत राष्ट्रिय पुँजीको विकास गर्न सहकारी, निजी, सार्वजनिक क्षेत्रको बीचमा सहकार्य गर्दै जनतामा सामाजिक न्याय र समृद्धिको प्रत्याभुत सहित समाजवाद उन्मुख संक्रभमणकालीन कार्यनीतिको श्रृंखला पार गर्नुपर्ने छ ।
आजको राजनीतिक परिस्थितिमा रहेका संभावना र चुनौती
वर्तमान संविधानको रक्षा गर्दै यसका आधारभूत विशेषताहरूमाथि थप विकास र संशोधन गर्दै समाजवादउन्मुख यात्रा प्रारम्भ गर्ने वा संविधानमा रहेको प्रगतिशील र जनपक्षीय चरित्रलाई र अन्ततः संविधानलाई नै खारेज गरेर प्रतिगामी यात्रातिर लाग्ने भन्ने प्रश्नमा केन्द्रित भएका छौँ । क्रान्तिमा पराजित सामन्ति तत्वहरूको प्रतिनिधित्व भएका दलहरू यो संविधान खारेज गराउने कार्यमा लागेका छन् भने कम्युनिस्ट क्रान्तिकारीदेखि राष्ट्रिय स्वाधीनताका पक्षधर, देशभक्त र लोकतान्त्रिक शक्तिहरू संविधानको रक्षा र यसको गरिमा जोगाउने पक्षमा अगाडि बढिरहेका छन् ।
यही दलीय राजनीतिक अन्तरविरोधको बीचबाट आजको नेपाली समाज अगाडि बढिरहेको छ । असंवैधानिक र निरंकुश तवरबाट पटकपटक प्रतिनिधिसभाको विघटन गर्ने, संविधान र ऐनको व्यवस्थाविपरीत राजनीतिक दलहरूमा विभाजन गर्नेदेखि संविधानले निर्धारण गरेका महत्वपूर्ण निकायहरूमा अवैधानिक नियुक्ति गरेर अस्थिरता र अराजकतालाई मलजल गर्ने, संघीयताको मर्म र भावना विपरीतका क्रियाकलाप गर्दै संविधान, ऐन र अदालतका निर्णयलाई चुनौती दिँदै जाने र संविधानबाटै स्थापित लोकतान्त्रिक प्रणालीविरुद्ध निरंकुश राजतन्त्रको पुनःस्थापनाको हल्ला गर्ने जस्ता कामहरू नै प्रतिगामी तत्वहरूले आजका दिनमा चलाइरहेको कदम हो ।
त्यसको ठीक विपरीत संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका निमित्त वाम–लोकतान्त्रिक शक्तिहरू मोर्चाबद्ध रुपमा अगाडि बढेर सफलतापुर्वक अघि बढिरहेका छन् । तथापि आज पनि देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरूले आफ्नो प्रतिगामी चाहनालाई नयाँ नयाँ रुपमा अगाडि बढाउने कार्य भने छाडेका छैनन् । कहिले व्यवस्थापिका, त कहिले न्यायपालिका, त कहिले कार्यपालिकामाथि हमला गरेर देशलाई प्रतिगमनको सुरुङमा हाल्ने प्रतिक्रियावादीहरूको कदम अझै रोकिएको छैन ।
उपयुक्त पृष्ठभूमिमा हामीले निम्न कार्यहरू गर्नु आवश्यक छ
क) परिवर्तनको प्रमुख बाहक हुनुको नाताले सबैभन्दा पहिले हामीले आफ्नै पार्टीलाई वैधानिक, राजनीतिक, सांगठनिक र सांस्कृतिकरुपले बलियो पार्न र जनसंगठनलाई बलियो पार्न जोड लगाउनुको विकल्प छैन ।
प्रतिक्रियावादी र प्रतिगामी शक्तिको जुनसुकै षडयन्त्रकारी कदमको प्रतिवादका लागि सडक, सदन र सरकारमा हाम्रो भूमिका प्रभावकारी बनाउन जोड दिनुपर्दछ । क्रान्तिकारी आन्दोलन र क्रान्तिकारी पार्टीले उठाएका मुद्दाहरू सडकबाटै उठाएर सम्बोधन भएको इतिहास हामीले कहिल्यै पनि भुल्नुहुँदैन । सुदृढ पार्टी, व्यापक जनसंगठन, घनिष्ट जनसम्पर्क, राष्ट्र र जनताको हितका निमित्त कठोर संघर्षको तयारी नै हाम्रो विजयका आधार हुन् ।
ख) प्रत्यक्ष वा परोक्ष वैदेशिक प्रतिक्रियावादी दबाब र हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनताको आन्दोलन निरन्तर अगाडि बढाएर मात्रै जनवादी क्रान्तिका बाँकी कामहरू पूरा गर्दै समाजवादी क्रान्तिको आधारहरू तयार पार्न सकिन्छ ।
आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्न सम्पूर्ण जाति, वर्ग क्षेत्र र समुदायका पहिचान र अधिकारलाई स्थापित गरेर मात्रै बाहृय हस्तक्षेपलाई निष्तेज पार्न सकिन्छ ।
ग) आजको ठोस राजनीतिक परिस्थितिमा संविधान, लोकतान्त्रिक गणतन्त्र एवं राष्ट्रिय स्वाधीनताको रक्षाका विषयमा समान विचार राख्ने लोकतान्त्रिक र वामपन्थी दलहरूका साथै सम्पूर्ण देशभक्त र जनपक्षीय शक्तिहरूसँग व्यापक सहकार्य र एकता कायम गर्दै प्रतिगामी शक्तिहरूका षड्यन्त्रका विरुद्ध व्यापक तयारी गर्नुपर्दछ ।
घ) समाजवादी क्रान्तिका आधार तयार गर्न समाजवादउन्मुख आर्थिक नीति, सामाजिक न्याय सहितको सहकार्य, सार्वजनिक र निजी क्षेत्रको सम्बन्धमा अगाडि बढ्न ठोस नीति योजना र कार्यक्रमहरू बनाउनु जरुरी छ । स्थानीय र समुदायको तहदेखि उत्पादन र श्रमको व्यवस्थापनका लागि तथा सांस्कृतिक रुपान्तरणको योजनाद्वारा जनचेतना विकास गर्न, उत्पादन श्रम र संस्कृतिको संयोजन गर्न ठोस योजना र कार्यक्रम अगाडि बढाउनुपर्दछ ।
सफ्टवेयर कम्पनीका बिल गेट्स १ सय २५ बिलियन डलरका मालिक छन् । मार्क जुकरबर्ग १ सय १४ अर्ब ७० करोड अमेरिकी डलरका मालिक छन् । वारेन बफेट १ सय ८ बिलियनका मालिक छन् । ल्यारी एडिसन १ सय २ अर्ब अमेरिकी डलरमा मालिक छन् । ल्यारी पेज १ सय बिलियन डलरका मालिक छन् । अमेरिकाका सर्गेइ ग्रीन ९७ अर्ब मालिक छन् । यसरी १० जनाको हातमा यति धेरै सम्पत्ति थुप्रिएको आफैमा एउटा बिडम्बना हो ।
यसैगरी धनी देशहरूले प्रकृति र मानवीय सेवामा खर्च गर्नुपर्ने बजेटको ठूलो हिस्सा हातहतियार र सैन्य प्रविधिको विकासमा खर्च गरिरहेका छन् । पहिलो र दोस्रो विश्वयुद्धको अनुभवबाट तेस्रो विश्वयुद्ध रोक्न प्रयत्न गरिएपनि साम्राज्यवादी गुटहरूको बीचमा पनि प्रतिस्पर्धा भने रोकिएको छैन । शीतयुद्धको समाप्तिपछि पनि नेटोमार्फत् विश्वमा विभिन्न प्रकृतिका युद्ध र हिंसा थोपर्ने कठपुतली सरकार निर्माण गर्ने, प्राकृतिक स्रोत र मानवीय श्रम दोहन गर्ने प्रक्रिया भने चलिरहेकै छ । यसका साथै अन्य विभिन्न देशहरूमा विभिन्न सैन्य सम्झौताहरू र गठबन्धन बनाएर आ(आफ्नो प्रभाव विस्तारका निमित्त उनीहरू आपसमा प्रतिस्पर्धा गरिरहेकै छन् ।
तत्काल यो प्रतिस्पर्धा बिष्फोट हुने र युद्धकै रुप लिने संभावना नदेखिएपनि क्षेत्रिय, राष्ट्रिय र स्थानीय तहमा थोपरिएका साना ठूला युद्ध एव विभिन्न पुँजीवादी गुटहरूको बीचमा नाफाका निम्ती अचम्मको प्रतिस्पर्धाले कुनै पनि बेला ठूलो रुप लिनसक्ने कुरालाई ध्यान दिएर आफ्नो प्रभुत्वलाई एकाधिकार लगायत अन्तिम अस्त्र सैन्य शक्ति नै हो । आफ्नो परिचयको कारण शक्ति राष्ट्रहरूले सैन्य क्षेत्रमा ठूलो लगानी बढाएका छन् । मानव अधिकारको उल्लंघन र आणविक हतियारको नियन्त्रणको नाममा अल्पविकसित र विकशील देशहरूको सार्वभौमिकतालाई कुल्चिँदै, सैनिक र जहाजी बेडाहरू राख्ने गरिएकै छ । ठूलठूला बहुराष्ट्रिय निगममार्फत् अमेरिकाले कम्प्युटर माइक्रो इलेक्ट्रोनिक्स, स्वाचालित उपकरण, हवाई जहाज आदिमाथि एकाधिकार कायम गर्न सैन्य बजेट र विश्वका विभिन्न देशहरूमा सैनिक अड्डा कायम गर्न सर्वाधिक ठूलो धनराशी खर्चिएकै हो । विश्वका ७० देशमा अमेरिकाको सैन्य सञ्जाल फैलिएको छ र यो आफ्नो पुरा गर्न उनीहरूले नियोजित रुपमा जातीय दंगा, हिंसात्मक भिडन्त र स्थानीय युद्ध थोपरेर व्यापाक रूपमा हतियार बिक्री गर्ने गरेको अनगिन्ती तथ्यहरू अहिले पनि सार्वजनिक भैरहेका छन् ।
विश्वका न्युनतम ११ देशहरूले सुरक्षा र सैन्य क्षेत्रमा गरेको खर्चले विवरणले पनि पुँजीको कति ठूलो हिस्सा अहिले पनि सैन्य क्षेत्रमा लगाइएको छ भन्ने तथ्य स्पष्ट हुन आउँछ । अमेरिकाले सैन्य क्षेत्रमा ६ सय १ बिलियन डलर वार्षिक रुपमा खर्चिन्छ । रुसको ८४।५ अर्ब, चीनको २ सय १६ बिलियन, जापानको ४१।६ बिलियन, भारतको २५।५ अर्ब, फ्रान्सको ६२ अर्ब, दक्षिण कोरिया ६२अर्ब, इटली ४३ अर्ब, बेलायतको ६० अर्ब, टर्कीको १८ अर्ब अमेरिकी डलर रहेको छ । सैन्य अड्डा राख्न, हतियार विकास गर्न, सैन्य क्षमताको वृद्धि गर्नका लागि अर्बै डलर लगाएको छ ।
माथि भनेको विज्ञान तथा प्रविधिमा भएको विकासले उत्पादन शक्ति र उत्पादन सम्बन्ध र वर्ग संघर्षमा पारेको असर बारेमा सामान्य अवलोकनबाट मात्रै पनि हामी निम्न वस्तुवादी निष्कर्षमा पुग्न सक्दैछौं ।
क) सापेक्षतावादको सिद्धान्त, क्वान्टम मेकानिक्स, सूचना प्रविधिको क्रान्ति र डिजिटल युगको प्रारम्भसम्मका कुनै पनि वैज्ञानिक आविस्कारले वैज्ञानिक भौतिकवादको मार्क्सवादी विज्ञानलाई विस्थापन सकेका छैनन् । त्यसको वैज्ञानिकतालाई प्रमाणित गर्ने, विज्ञानको थप विकास र परिमार्जनमा थप योगदान गरेका छन् ।
विज्ञान प्रविधिको नयाँ विकासले मार्क्सवादलाई आधारभूत प्रस्तावलाई गलत सावित गरे भन्ने बुर्जुवा बुद्धिजिवीहरुको प्रचार बिल्कुल झुटो हो ।
ख) विज्ञान प्रविधिको अभतपूर्व विकासले उत्पादक शक्तिलाई गुणात्मक रुपमा विकसित अवस्य गराएको छ । तर पुँजीवादले त्यसको प्रयोग प्रकृति, समाज र मानव हितको पक्षमा होइन नाफा कमाउने साधनको रुपमा गर्ने हुँदा उत्पादन सम्बन्धसँग उत्पादक शक्तिको विश्वव्यापी तीव्र अन्तर विरोध बढेर गएको हो । उत्पादक शक्तिको नयाँ विकासले वस्तुतः अन्तत समाजवादीको वस्तुगत आधारलाई परिपक्व बनाउँदै लगेको छ, विकासको आवश्यकताले उत्पादन सम्बन्धमा क्रान्ति अनिवार्य बनाएको छ ।
विज्ञान प्राविधिको विकासले अब समाजवादी क्रान्ति अनावश्यक र असंभव भएको छ भन्ने नवउदारवादी पुँजीवादीहरूको प्रचारलाई गलत सावित गरेको छ । विज्ञानको नयाँ आविष्कारहरूको पुँजीवादले दुरुपयोगको कारण धनी र गरिबबीचको खाडल पुर्ने होइन झन भयानक रूपमा फराकिलो बनाउने काम गरेकाले वर्ग संघर्ष र वैज्ञानिक समाजवादको आवश्यकताको बारेमा मार्क्सवादका आधारभूत प्रस्तावना झन शक्तिशाली रुपमा प्रमाणित गरेको छ । विश्वव्यापी वर्ग संघर्षलाई तीव्र पारेर पुँजीवादी समाजवादी क्रान्तिको नयाँ लहरलाई अनिवार्य बनाएको छ । अतः आजको मार्क्सवादी क्रान्तिकारीहरू अगाडि वस्तुगत रुपमा परिपक्व बन्दै गएको समाजवादी क्रान्तिको आधारमा टेकेर आधारभूत शक्तिको विकासका लागि वैचारिक राजनीतिक कार्यदिशा र त्यसअनुसार विशिष्ट कार्यनीतिक श्रृङ्खला तथा सरचनागत कार्यशैली र कार्यान्वयनको विकास गर्ने चुनौतिलाई स्वीकार गर्नुको अर्को विकल्प छैन ।
ग० विज्ञान प्रविधिको पुँजीवादी दुरुपयोगको कारण पर्यावरण विनास, जलवायु परिवर्तन, पृथ्वीको तापक्रममा वृद्धि, हिमाल र अन्यत्र हिउ पग्लिएर भैरहेको समुद्र तहमा भैरहेको वृद्धि र अत्याधिक रुपमा कार्बनको उत्सर्जनको कारण वायुमण्डल भएको प्रदुषण, त्यसले निम्त्याएका नयाँ रोगव्याधीहरुले पुँजीवादी उत्पादन प्रणालीको विरुद्ध विश्वव्यापी मोर्चा बनाएर पर्यावरण, धर्ती र मानव जातिको रक्षाको निमित्तका लागि अघि बढ्न अनिवार्य भै सकेको छ । समाजवादले मात्रै प्राकृति, समाज र मानव जातिको हित संरक्षणमा प्राथमिकताका साथ योजना बनाएर अघि बढ्न सक्दछ भन्ने भनाइलाई स्थानीय तहदेखि राष्ट्रिय तहसम्म राष्ट्रियस्तरदेखि अन्तर्राष्ट्रियस्तरसम्म पनि स्थापित गर्ने अवसरको सन्देशलाई क्रान्तिकारीहरुले दृढतापूर्वक सदुपयोग गर्न सक्नु पर्दछ । आजका कम्युनिष्ट क्रान्तिकारीहरुले दृढतापूर्वक संकल्प गर्नुपर्दछ ।
पार्टी इतिहासको सक्षिप्त सिंहावलोकन
लेनिनको जन्मदिन गरेर सन् १९४९ मा नेकपा स्थापना हुनुलाई ऐतिहासिक घटनाको रुपमा लिएका छौं । कमरेड पुष्पलालको विशेष पहल र नेतृत्वमा स्थापना भएको पार्टीले आफ्नो विकासक्रममा वर्ग संघर्ष, विचारधरात्मक संघर्ष र अन्रत संघर्षका अनेकौ श्रृङ्खलाको पार गरेर छ । आफ्नो भित्र विकास भएको प्राकृतिगत राजनीति संघर्षको जटिलता एव अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा चलेको महाविचारको समेतको कारणले २०१९ को तेस्रो महाधिवेशनपछि एकीकृत रुपमा बाँकी रहेन । विभिन्न साना साना टुक्रामा विभाजित भै विभिन्न इलाकाहरुमा समिति र क्रियाशील हुन पुगेका कम्युनिष्ट समूहहरुले आन्दोलनलाई जीवित राख्न भने महत्वपूर्ण भूमिका खेलिनै रहे । सामन्ती राजतन्त्रसँग सम्पूर्ण रुपले आत्मसमर्पण गरेको रायमाझी गुटको अन्य समूहहरुले कुनै न कुनै रुपमा कम्युनिष्ट आन्दोलन मजवुत बनाउने काम गरिनै रहे । यो प्रक्रियाभित्रबाट निश्चित विचार, क्रान्तिको आधारमा पार्टीलाई एकीकृत र केन्द्रीयकृत गर्ने प्रयासहरु भए र अघि बढ्न थाले । त्यस सन्दर्भमा कम्युनिष्ट आन्दोलनमा चलेको महाविवाद सन्दर्भमा नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार निकिता खुश्चेवविरुद्ध चिनियाँ कम्युनिष्टको क्रान्तिकारी धारको पक्षमा दृढतापूर्कव खडा भयो । यो आफैमा नेपाली कम्युनिष्ट आन्दोलन दीर्घकालीन प्रभाव पार्ने सकारात्मक परिणाम हो । महाविवादको सन्दर्भमा क्रान्तिकारी धारा पक्षमा अघि बढेका हुन् । यो प्रयासहरु मध्ये पहिलो २०२६ सालमा कमरेड पुष्पलाल गर्नु भयो । मोहनविक्रम, निर्मल लामाले पार्टी पुनर्गठनको अर्को प्रयास भयो । त्यसैगरी २०२८ सालमा झापा विद्रोहमार्फत आएको शक्तिले कोअर्डिनेसन केन्द्रको नामबाट अर्को प्रयास भयो ।
( माओवादीको ८ औँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनको अंश सम्पादनसहित प्रकाशित गरिएको हो ।