काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनको बन्दसत्रमा आज विभिन्न २५ समूहले छुट्टाछुट्टै छलफल गर्दैछन् ।
अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले प्रस्तुत गर्नुभएको विधान मस्यौदामाथि छलफल हुन लागेको हो । अध्यक्ष प्रचण्डले हिजो बन्दसत्रमा राजनीतिक प्रतिवेदन र नेता गुरुङले विधान मस्यौदा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
छलफलका लागि सात प्रदेश र जनवर्गीय सङ्गठनका छुट्टाछुट्टै समूह बनाइएको छ । बिहान ९ बजेदेखि छलफल सुरु गर्ने तयारी छ । महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठान परिसर, कोटेश्वरको पार्टी कार्यालय र विभिन्न पार्टी प्यालेसमा समूहगत छलफल गरिने नेता देवेन्द्र पौडेलले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार छलफलको निष्कर्षका आधारमा प्रतिवेदन संसोधनसहित पारित गर्ने तयारी छ ।
प्रचण्डले प्रस्तुत गर्नुभएको ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक प्रतिवेदनको बारेमा नेताहरूले छलफल गर्नेछन् । विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय रहने, पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने प्रस्ताव गरिएको छ ।
केन्द्रीय कमिटीमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुश्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ ।