काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ ।
प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले प्रतिवेदन पारित गरेको हो । प्रतिवेदनमाथि राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत राख्नुभएको छ । अध्यक्ष प्रचण्डले सबैको भावना समेट्ने पनि बताउनुभएको छ ।
प्रतिनिधिहरूले उठाएको प्रश्नको जवाफ दिदै अध्यक्ष प्रचण्डले आएका सुझावहरूलाई समेट्ने बताउदै आफ्नो राजनीतिक प्रतिवेदनमा व्यापक परिमार्जन गर्नुपर्ने अवस्था भने नरहेको दाबी गर्नुभयो । अध्यक्ष प्रचण्डले सबैले प्रतिवेदनको मूल स्प्रिट सही छ भनेको भन्दै सहि र आवश्यक बिषयहरू थपेर परिमार्जन गर्ने धारणा राख्नुभयो ।
सबैको सुझाव समेटेर प्रतिवेदन सबैलाइ बाढ्ने प्रचण्डको भनाइ रहेको थियो । यसअघि प्रचण्डले आफ्नो प्रतिवेदन पढेर सुनाउनुभएको थियो, तर सबैलाइ वितरण गरिएको थिएन । प्रतिवेदनमाथीको गोपनीयताको लागि पनि यसो गरिएको प्रचण्डको भनाइ रहेको थियो । प्रचण्डले मुलुकका लागि आवश्यक परे जस्तोसुकै बलिदान दिन तयार रहेको पनि बताउनुभयो ।
देशमा जनयुद्ध सुरु गरेर शान्ति प्रक्रिया हुँदै गणतन्त्रको स्थापना, संविधान निर्माण गरेर आजको अवस्था सम्म आउनुलाई गतिशीलता भन्दै प्रचण्डले अब पनि आफ्नै टाउकोमा आगो लगाएर हिँड्न तयार रहेको धारणा पनि राख्नुभएको थियो । अध्यक्ष प्रचण्डले विचारको निर्माण गर्न चुनावपछि छुट्टै महाधिवेशन गर्ने घोषणा पनि गर्नुभएको छ ।
वर्तमान महाधिवेशन विचारको बहसमा सुरुवात भएको र अर्को विशेष महाधिवेशनमा थप अध्ययन, अनुसन्धान र बहस गरेर विचारको विकास गरिने उहाँको भनाइ छ । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।