काठमाडौं । केन्द्रीय सदस्य चयनका लागि सहमति खोज्न आज साँझ ५ बजेसम्मका लागि नेकपा (माओवादी केन्द्र)को बन्दसत्र स्थगित भएको छ।
भएसम्म सहमति खोज्नका लागि आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्र स्थगित गरिएको हो। ५ बजेसम्म सहमति नजुटेमा निर्वाचन प्रकृया अगाडि बढ्ने छ।
यसअघि आज बसेको स्थायी कमिटी बैठकले पनि समावेशी सहित क्लस्टरमा भूगोलसहित ८ प्रदेश लगायतबाट केन्द्रीय सदस्य छान्ने विषयमा छलफल भएको थियो।
महाधिवेशनको बन्द सत्रमा सर्वसम्मतले पार्टीको विधान पारित गरेको हो। विधान अनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ। केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुनेछ। यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ।
महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ। पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ।
५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ। केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ।