काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवशेन अन्तर्गतको जारी बन्दसत्रबाट विधान मस्यौदा पारित भएको छ ।
बन्दसत्रमा विधान मस्यौदा पेश गर्नुभएका नेता देव गुरुङले मस्यौदा माथि उठेका जिज्ञासाको जवाफ दिएपछि विधान सर्वसम्मतिले पारित भएको हो । विधानलाई आगामी केन्द्रीय समितिले अन्तिम रुप दिने गरी विधान मस्यौदा पारित गर्न गुरुङले आग्रह गर्नुभएको थियो ।
विधानअनुसार अब पार्टीको केन्द्रीय समिति ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने छ । केन्द्रीय समिति २९९ सदस्यीय हुने छ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत पु¥याइएको छ । महाधिवेशनले केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गर्नेछ ।
पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने माओवादी नेताहरूले बताएका छन् । ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपाङ्गता , पिछडिएको क्षेत्र, महिला र युवाको समुह बनाइएको छ । माओवादीको महाधिवशेन पुस ११ गतेदेखि सुरु भएको हो ।