काठमाडौं । नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सरेको छ ।
विवादका कारण पार्टीको १४ औं महाधिवेशनअघि हुन नसकेको जिल्ला अधिवेशन पुस २७ गतेका लागि तय भएकामा फेरि सारिएको हो । काँग्रेस निर्वाचन समितिले पार्टी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा व्यस्त रहनुपर्ने कारण देखाउँदै अधिवेशन सारिएको जनाएको छ ।
निर्वाचन समितिका सचिव केशव रिजालले बुधबार जारी गरेको विज्ञप्तिमा जिल्ला कार्यसमितिको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन माघ १५ गते शनिबार हने उल्लेख गरेका छन् ।
काँग्रेसको अधिवेशन हुन बाँकी जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरलगायत जिल्ला रहेका छन् । त्यसमध्ये सिरहा र महोत्तरीमा विवाद रहेको छ ।