काठमाडौं । कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र समाजवादी)ले जनतासँग कम्युनिष्ट कार्यक्रम अन्तर्गत ‘कम्युनिष्ट सम्मेलन’को आयोजना गर्ने भएको छ ।
बिहीबार पत्रकार सम्मेलन गरेर उक्त पार्टीले आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने जानकारी दिएको हो ।
वैज्ञानिक समाजवाद स्थापनाको लागि ऐतिहासिक कम्युनिस्ट सम्मेलनको आवश्यकता’ ‘क्रान्तिकारी कार्यदिशा, पार्टी, सत्ता र नेतृत्व निर्माणको लागि व्यापक जनसहभागिता’ भन्ने नारासहित समाजवादी कम्युनिष्ट सम्मेलनको आयोजना गर्न लागेको उक्त पार्टीले जनाएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष कर्णजित बुढाथोकीले कम्युनिष्टहरुको पहिलोपटक सम्मेलनको आयोजना गर्न लागेको बताए । उनले कम्युनिष्ट सम्मेलन आयोजनाको लागि आयोजक समिति गठन गरिने जनाए । उक्त आयोजक समितिको संयोजक र संख्या निकट भविष्यमै सम्पुर्ण कम्युनिष्ट पार्टीहरुको बीचमा आपसी समझदारी कायम गरेर घोषणा गरिने उनको भनाई थियो । यसका साथै, उनले सम्मेलन सम्पन्न गर्न विभिन्न विभागहरु गठन गरिने पनि बताए । सम्मेलन आगामी २ वर्षभित्र गर्ने पनि उनले स्पष्ट पारे ।
नेकपा (एमाले) र नेपाली कांग्रेस, राप्रपालगायतको महाधिवेशन भर्खरै सकिएको भन्दै आफुहरुले नयाँ ढंगले कम्युनिष्टहरुको सम्मेलन गर्ने उनको भनाई थियो । बुढाथोकीले आफ्नो पार्टीको सम्मेलनको उद्देश्य सबै कम्युनिष्टहरुलाई एकै स्थानमा उपस्थित् गराउने भएको पनि जिकिर गरे । नेकपा माओवादी र क्रान्तिकारी पार्टीहरुको शक्तिको भरमा आज देश अगाडि बढेको उनको भनाई थियो ।
अहिले समय परिवर्तन भएको भन्दै अध्यक्ष बुढाथोकीले पहिला नेताले भनेको सबै कुरा जनताले विश्वास गर्ने तर अहिले प्रत्येक जनताले आफ्नो पार्टीमा भुमिका खोज्न थालेको उनले सुनाए । नेकपा (माओवादी केन्द्र) र एमाले एकता गरेर असफल भएर विभाजन भएको उनको टिप्पणी छ ।
समाजवाद आफ्नो पार्टीको लक्ष्य हो भन्दै उनले समाजवादलाई तीन चरणमा विभाजन गरेर आफ्नो पार्टीले लैजान खोजेको सुनाए । जनविद्रोहको उल्टो अवस्था अहिले रहेको उनको भनाई थियो । नेपालको राजनीति अत्यन्तै जटिल अवस्थामा पुगेको भन्दै बुढाथोकीले आज प्रधानमन्त्री शेरबहादुर देउवाको कारण लिपुलेक, लिपियाधुरालाई भारतले आफ्नो भनेर दाबी गर्ने हिम्मत गरेको आरोप लगाए ।
सबै नेपाली जनताको अभिभावक हुनको लागि आफु र आफ्नो पार्टी अगाडी बढेको उनले जिकिर गरे । आफ्नो पार्टी सिंगो कम्युनिष्टलाई एकिकृत बनाएर देशकै ठुलो शक्ति र ताकत हुने समेत उनले जिकिर गरे ।
कार्यक्रममा बोल्दै पार्टीका सचिव अरुण घिसिङले नेपालमा क्रान्तिकारी पार्टीहरुलाई पहिलोपटक एकजुट गर्न कम्युनिष्ट सम्मेलन गर्न लागिएको बताए ।
सबै क्रान्तिकारीहरुलाई एक ठाउँमा थुपारेर वैज्ञानिक कम्युनिष्ट सम्मेलन गर्ने उनको भनाई थियो । कम्युनिष्ट सम्मेलनमा कम्युनिष्टहरुको अवधारणा प्रस्तुत गरिने उनले जानकारी दिए ।
धेरै मानिसहरुले नेपालमा कम्युनिष्ट शासन व्यवस्था अपरिहार्य रहेको भन्दै आएको पनि उनले उल्लेख गरे । उनले कम्युनिष्ट सम्मलेनको अवधारणा आम मानिसहरुको मन–मनमा बस्ने र पुग्नेमा आफु आशावादी रहेको बताए ।