काठमाडौैं । स्थानीय सरकारको पहिलो ५ वर्षे कार्यकाल पूरा हुनै लागेको छ ।
पाँच वर्षे यो अवधिमा स्थानीय सरकारले पुर्वाधार विकासलाई प्राथमिकतामा राखे र सोही अनुसार काम पनि गरे । स्थानीय सरकारको कामले नागरिक सन्तुष्ट भने हुन सकेका छैनन् ।
२०७४ वैशाखमा भएको चुनाबबाट निर्वाचित भएपछि दोलखा भिमेश्वर नगरपालिकाका जनप्रतिनिधिहरूले पालिका भित्रको खानेपानी र सडकको पहुँचमा स्तरबृद्धि गर्ने, बरोजगारीको समस्या समाधान गर्ने र कृषिमा व्यवसायीकता बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । स्वास्थ्य संस्थामा नागरिकको पहुँच बढाउने र अरु बिकास निर्माणको काम पनि जनप्रतिनिधिको प्राथमिकतामा थियो ।
पाँच वर्षे कार्यकाल पूरा हुने क्रममा रहँदा जनप्रतिनिधिको कामले खासै चित्त नबुझेको भिमेश्वर नगरपालिकाका स्थानीय मन्दीरा बुढाथोकीको भनाइ छ । सबैजसो स्थानीय तहले सडक, बिजुली, पानी, कृषि लगायत विषयलाई प्राथमिकतामा राखेका थिए, नागरिकलाइ पनि विकास निर्माणमा आस थियो । अहिले स्थानीय तहमा पुर्वाधार बिकास भएको छ तर व्यवस्थित नभएको नागरिकको बुझाइ छ ।
पूर्वाधार विकासमा केन्द्रीत हुँदा स्थानीय सरकारले नागरिकको जीवनशैली केन्द्रीत योजना बनाउनबाट भने चुकेको धनुषाको, मिथिला नगरपालिकाका पुजा कुमारी सिंहको बुझाइ छ । नागरिकको गुनासो एकातिर भएपनि मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतो भने सिमित स्रोत र साधनका बीचबाट काम गर्नुपर्दा नागरिकको अपेक्षा पूरा हुन नसकेको दाबी गर्नुहुन्छ । कतिपय स्थानीय तहमा अनियमितता भएको बाहिरियो भने अधिकांश स्थानीय तहले कर्मचारी अभाब झेले ।
कर्र्र्मचारी, व्यवस्थित योजना र बजेट अभावका कारण निर्वाचनका बेला महत्त्वकाङ्क्षी घोषणापत्र बनाएका जनप्रतिनिधिले घोषणा अनुसार काम गर्न सकेनन् । ५ वर्षे कार्यकाल सकिँदै गर्दा विभिन्न क्षेत्रबाट स्थानीय सरकारको मुल्याङकन पनि हुन थालेको छ । नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक कुमार बेञ्जु भने सङ्घ र प्रदेशको तुलनामा स्थानीय सरकारले उल्लेख्य काम गरेको दाबी गर्नुहुन्छ ।
जनप्रतिनिधिहरू आएर स्थानीय तहको संरचना बनेपछि वडा तहसम्म विकास निर्माणको लहर चलेको छ, तर प्राप्त अधिकार अनुसारको काम नभएको र भए पनि व्यवस्थित नभएको नागरिकको गूनासो छ ।