काठमाडौं । मानवअधिकार एलायन्स नेपालले व्यक्ति हत्याको धम्की दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई मन्त्री पदबाट पदमुक्त गर्न माग गरेको छ ।
यहि माघ ५ गते रौतहट जिल्लाको गौरमा आयोजित कार्यक्रममा सामाजिक सद्भाव खल्बलाउने र हिंसा भड्काउने गरी दिएको अभिव्यक्ति प्रति खेद प्रकट गर्दै मानवअधिकार एलाइन्सले तत्कलै मन्त्री पदबाट पदमुक्त गर्न नेपाल सरकारसमक्ष माग गरेको हो ।
एलायन्सका अध्यक्ष मिनबहादुर शाहीले विज्ञप्ती जारी गर्दै राज्यको जिम्म्ेवारी पदमा बसेर नेता हत्याको दुरुत्साहन गर्न मन्त्री यादवलाई तत्काल पदमुक्त गर्न चार बुदें माग अघि सारेका छन् ।
‘नेपाल सरकारको मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले २०६३ चैत्र ३ गते तत्कालिन मधेसी जनअधिकार फोरमको नाममा २८ जना तत्कालिन माओवादी समर्थक व्यक्तिहरुको सामूहिक हत्या (गौर हत्या काण्ड) मा नीजको दलको संलग्नतालाई सार्वजनिक रुपमा स्वीकार गरेको छ,’ अध्यक्ष शाहीद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत)लाई गौर हत्याकाण्ड जसरी नै घेराहाली हत्यागर्ने धम्की दिएको देखिन्छ ।’
बहालवाला मन्त्रीले गौर हत्या काण्डको जिम्मा लिने र कुनै पार्टीको नेताको हत्या गर्ने दुरुत्साहनपूर्ण अभिव्यक्ति दिनुलाई मन्त्री पदमा रहने नीजको कुनै कानुनी र नैतिक आधार नभएको ठहर गर्दै अध्यक्ष शाहीले मन्त्री यादवलाई तत्काल मन्त्री पदबाट मुक्त गरि कानुनी कारबाहीको दायरामा ल्याउन, गौर हत्याकाण्डको निष्पक्ष छानवीन गरि उक्त हत्याकाण्डका दोषीहरुलाई न्यायको कठघरामा ल्याउन आग्रह गरेका छन् ।
अध्यक्ष शाहीले गौरहत्याकाण्डका पीडितलाई न्यायको अनुभूति गराउन र मुलुकमा दण्डहीनताको अन्त्य गरियोस्, प्रत्येक नागरिकलाई मानवअधिकारको प्रत्याभूति हुने वातावरणको निर्माण गर्न देउवा नेतृत्वको सरकारसँग माग गरेका छन् ।