काठमाडौं । अहिले देशभर रहेका ७ सय ५३ स्थानीय तहमा प्रमुख र उपप्रमुखको गरि १ हजार ५ सय ६ पद रहेको छ । जसमध्ये १० पद रिक्त छ ।
गाउँपालिका राष्ट्रिय महासङ्घका अनुसार देशभरि रहेका ४ सय ६० गाउँपालिकामा मात्रै ७ अध्यक्ष र २ उपाध्यक्षको पद रिक्त छ । दुबै पदको कार्यभार एउटै व्यक्तिले निभाउँदा कामकारबाहीमा समस्या भएको जनप्रतिनिधि बताउँछन् भने सेवामा पनि चुस्तता हुन नसकेको नागरिकको गूनासो छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको निधनपछि उपप्रमुख चन्दाकुमारी बुढाले नै पालिका चलाइरहनुभएको छ । अध्यक्षको कार्यभार पनि आफैले सम्हाल्नुपर्दा कामको चाप बढेको उपप्रमुखको गूनासो छ, नागरिक भने पालिकाको काममा चुस्तता देख्दैनन् । नवलपरासी बर्दघाट सुस्ता पश्चिममा पर्ने प्रतापपूर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको २०७७ जेठ ३२ गते निधन भयो । त्यसयता कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष अन्जुकुमारी चौधरीले सम्हाल्दै आउनुभएको छ ।
पालिकाका प्रमुख प्रशासकिय अधिकृत कुन्दन कुमार सिंह दुई जनाको जिम्मेवारी एक जनाको काँधमा आउँदा सेवाप्रवाहमा समस्या देखिएको बताउनुहुन्छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जे शेर्पाको २०७७ असार ३ गते निधन भएको थियो । अध्यक्षको जिम्मेवारीमा रहेको काम उपाध्यक्ष र कर्मचारीले गर्नुपर्दा काम प्रभावकारी हुन नसकेको सूचना अधिकारी सुमन कुमार बुढाथोकी स्वीकार गर्नुहुन्छ ।
अध्यक्ष अशोक कुमार थापाको मृत्यु भएपछि करिब ७ महिनादेखि गुल्मी दरबार गाउँपालिकाका उपाध्यक्ष मिना भण्डारीले नै कार्यवाहक अध्यक्ष चलाउँदै आउनुभएको छ । नेपालको संविधान अनुसार जनप्रतिनिधिले राजिनामा दिएमा, पदावधि समाप्त भएमा र निजको मृत्यु भएमा पद रिक्त हुने उल्लेख छ, एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा भने उपनिर्वाचन मार्फत रिक्त पदको पूर्ति गर्नुपर्ने व्यवस्था छ ।
२०७६ मङ्सिर १४ गते उपमहानगर प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष गरि ४८ जनाको उपनिर्वाचन भएको थियो । त्यसयता स्थानीय तहको उनिर्वाचन भएको छैन । जनप्रतिनिधि रिक्त रहेका मध्ये अधिकांश पालिका २ वर्षदेखि कार्यवाहकको भरमा चलेका छन्, जसका कारण स्थानीय तहको सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन ।