हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो एक सय दिनको मुख्य उपलब्धी सार्वजनिक गर्नुभएको छ । आज सुक्रबार पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री पाण्डेले ६७ बुँदामा आफूले गरेको प्रमुख उपलब्धी सार्वजनिक गर्नुभएको हो ।
मुख्यमन्त्री पाण्डेले सार्वजनिक विदा दिने निर्णयदेखि समिति गठन, ऐन, नियामावली, निर्देशिकाको मस्यौदा तयारी, संशोधन र स्वीकृतिलाइ प्रमुख उपलब्धी मान्नुभएको छ । मुख्यमन्त्री पाण्डेले सरकारको काम छिटो तथा पुँजीगत खर्च प्रभावकारी रुपमा वृद्धि हुने र जनताले सहज रुपमा सेवा प्राप्त गर्ने विश्वाससहित मन्त्रालय संख्या बढाइएको उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको निर्णय कार्यान्वयन गर्न मन्त्रिपरिषद् समितिका संयोजक र सदस्य तोक्ने, चालु आर्थिक वर्षभित्रै जग्गा पहिचान गरी प्रदेश सरकारको प्रशासकीय भवन निर्माण कार्य सुरु गर्ने विषयलाई पनि प्रमुख उपलब्धीको रुपमा प्रस्तुत गर्नुभएको छ । अन्तर प्रदेश समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रमको आयोजनादेखि साइवर क्राइम, जातीय तथा लैंगिक हिंसा तथा चेलिबेटी बेचबिखन विरुद्धको सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुलाई पनि उहाँले प्रमुख उपलब्धीको रुपमा प्रस्तुत गर्नुभएको छ ।
प्रदेश सरकारको नियमित कार्यक्रमहरूलाई पनि उपलब्धीको रुपमा प्रस्तुत गर्नुभएका मुख्यमन्त्री पाण्डेले सीमान्तकृत चेपाङ समुदायको सम्मान गर्दै न्वागी पर्वमा विदा दिने निर्णय गरेको बिषयलाइ प्रदेश सरकारको उपलब्धिको भएको दाबी गर्नुभएको छ । मुख्यमन्त्रीसहित उच्चस्तरीय टोलीले चितवन जिल्लाको शक्तिखोर औद्योगिक पार्क स्थापना गर्न स्थलगत निरीक्षणको कार्य पनि उपलब्धीको अन्तिम सूचिमा समावेश गरिएको छ ।
गत कात्तिक ११ गते नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टीको गठबन्धन सरकारको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।