काठमाडौं । स्थानीय तहको निर्वाचणको मिति घोषणा भएसँगै विभिन्न सात राजनीतिक दलहरुले सिबी गहतराजको नेतृत्वमा डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्स (डि.एस. ए.) घोषणा गरेका छन् ।
आज (शनिबार) काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सामाजिक एकता पार्टी, नेकपा समाजवादी, नेपाल दलीत पार्टी, जनवादी मोर्चा नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, गणतान्त्रिक संयुक्तमोर्चा नेपाल र नेकपा राष्ट्रवादी पार्टीले संयुक्त रुपमा डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्सको घोषणा गरेका हुन् ।
देशमा भ्रष्टचार र कुशासन बढेको साथै सरकारमा रहेका राजनीतिक दलहरुले नेपाली जनतामा खुसी ल्याउन नसकेको भन्दै एलायन्सको घोषणा गरिएको एलायन्सका अध्यक्ष सिबी गहतराजले बताए ।
साथै, एलायन्स अहिले विद्यमान नेकपा (एमाले), नेकपा माओवादी र नेपाली काँग्रेसको वैकल्पीक शक्तिको रुपमा आउने उनको दाबी थियो । साथै, उनले निर्वाचन आयोगले साना दलहरुलाई स्वतन्त्र रुपमा चुनाव लड्नुपर्ने कानुन रहेको भन्दै उक्त ऐनलाई यथाशिघ्र खारेज गर्न माग गरे ।
‘निर्वाचन आयोगले स्थानीय ऐन २६.६ मा साना दललाई चुनाव चिन्ह स्वतन्त्र रुपमा लड्नुपर्छ भनेको छ । त्यो ऐनलाई यथाशिघ्र खारेज गर्न माग गर्दछु’–उनले भने । साथै, उनले उक्त ऐनको विरुद्धमा आफुहरुले सर्वोच्च अदातलमा मुद्दा हाल्न लागेको पनि जानकारी दिए । ‘निर्वाचन आयोगमा पनि ज्ञापनपत्र बुझाउन जानेछौं । यो देश सबैको हो । हामी चुनाव लड्न नपाउने ? यो कहाँको प्रजातन्त्र हो ? हामी खुलेर चुनाव लड्न पाउनुपर्छ’–उनले भने ।
यस्तै, उनले नेपालको संविधान कागजमा मात्र सिमित रहेको आरोप लगाए । नेपालमा सबैखालका विभेदहरुको अन्त्य गर्नको लागी एलायन्सले काम गर्ने उनको दाबी थियो । ‘पूर्ण रुपमा संविधानको कार्यान्वयन गराएर राज्यले जनताको स्वास्थ्य र शिक्षाको जिम्मा लिनुपर्ने व्यवस्था मिलाउन एलायन्स आएको हो । बृद्धभत्ता दिलाउने मात्र होइन्, सरकारले बृद्धाहरुलाई जिम्मा लिनुपर्छ’–उनले भने । सामाजिक एकता पार्टीका अध्यक्षसमेत रहेका गहतराजले घोषणापत्र पढेर सुनाएका थिए ।
सामाजिक एकता पार्टीका वरिष्ठ उपाध्यक्ष वीरबहादुर तामाङले यो देशमा अहिलेको आवश्यकता भनेको नयाँ नेतृत्व र एकता रहेको बताए । ‘हाम्रो पार्टीको बिधान र उद्देश्य समृद्ध नेपाल बनाउने हो । त्यसैले यसै मूल्य र मान्यताको साथ यस घोषणासभाको आयोजना गरिएको हो’–उनले भने ।
त्यस्तै, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका सभापति डा. जितेन्द्र घिमिरेले झिक्राहरुले मुढा गडाए भन्ने उखानलाई सम्झिँदै नेपालमा सक्ता हाँकिरहेका राजनीतिक दललाई एकतामा कति बल हुन्छ भन्ने देखाउन एलायन्सको घोषणा गरिएको स्पष्ट पारे ।
नेकपा समाजवादीका अध्यक्ष राजु कार्कीले नेपालमा राजनीतिक संस्कारको विकास नै नभएको भन्दै राजनीतिक संस्कारको विकास गर्नको लागि आफूहरुले एलायन्सको आवश्यकत्ता देखेर गठन गरेको सुनाए ।
यस्तै, उनले नेपाली जनताले यस्तै एलायन्स खोजेको भन्दै आजको दिनमा नेपाली जनताको आवस्यकत्ता पूर्ति भएको बताए । विश्वका जनताले नेपाली जनता कस्ता छन् भन्दा खुसी छन् भनेर चिनाउन एलायन्सले काम गर्ने उनको दाबी थियो ।
गणतान्त्रिक संयुक्त मोर्चा नेपालका संयोजक सुशिल राजवंशीले एलायन्स सरकारमा जानको लागि नभएर जनताको आवस्यकत्ता पूरा गर्न बनेको स्पष्ट पारेका थिए ।
नेपाल दलित पार्टीका अध्यक्ष मेघबहादुर कामीले एलायन्स नेपालमा रहेका राजनीतिक पार्टीहरुको लागि चुनौती भएको दाबी गरे । ‘उत्पीडनमा परेका समुदायलाई उन्मुति दिन हामीले एलायन्सको घोषणा गरेका हौं,’–उनले भने ।
जनवादी मार्चा नेपालका संयोजक श्यामप्रसाद दाहालले नेपालमा इमान्दार नेतृत्वमा कमी आएको भन्दै भ्रष्ट, तानाशाह र लम्पट नेताहरु अबका दिनमा शक्तिमा बस्न नसक्ने दाबी गरे । यस्तै, उनले एलायन्स सात समून्द्र भएको भन्दै यसलाई सानो नसम्झिन चुनौती दिए ।
नेकपा राष्ट्रवादीका अध्यक्ष मिननाथ देवकोटाले अहिले मुलुक संकटपूर्ण अवस्थामा रहेको भन्दै नेपालका पुर्ववर्ती सरकारहरुले नेपाली अर्थतन्त्र र राष्ट्रवादलाई ध्वस्त पारेको आरोप लगाए । यस्तै, उनले नेपालमा बढ्दै गएको भष्ट्राचारलाई रोक्न एलायन्सले कोशिस गर्ने भन्दै आफुहरुको उद्देश्य राज्यसत्तामा नपुगेर समेत काम गर्न सकिन्छ भनेर देखाउने रहेको सुनाए ।
घोषणापत्रमा भनिएको छ–‘नेपाली जनता पुराना राजनीतिक दलहरुबाट निराश भएर वैकल्पीक राजनीतिक शक्ति खोजिरहेका छन् । जनताको चाहँना र राज्यको आवस्यकता नयाँ विचार सहितको नयाँ नेतृत्व हो । जसलाई हामीले उठाउने छौं । यस एलायन्स राष्ट्रको सम्बृद्ध र जनतालाई धनि, खुसी र सुखी बनाउने उद्देश्यबाट अभिप्रेरित छ । यो एलाइन्स राष्ट्रिय सार्वभौमसत्ता, स्वाधिनता र भौगोलिक अखन्डताको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्र संघियताप्रति प्रतिवद्ध रहँदै धर्म निरपेक्षताको सवालमा पूर्णरुपमा धर्मनिरपेक्ष कायम गर्न संविधान संशोधन गर्दै महिला, किसान, दलित, मधेशी, थारु, मुस्लीम, उत्पीडित र पिछडिएको समूदायबाट जनताको अधिकार सुनिश्चत गर्न प्रतिवद्द रहेका छौं ।
यस एलाइन्समा आबद्द पार्टीहरुले आफ्ना बहस र विचारलाई स्वस्थरुपमा अगाडी बढाउनको साथै एलाइन्सलाई सुढृद बनाउन एक–अर्काप्रति नकारात्मक टिप्पणी र आलोचना नगर्न प्रतिवद्द रहेको छ । यस महान अवसरमा एलाइन्समा आबद्द प्रगतिशिल, देशभक्त, राष्ट्रबादी, लोकतान्त्रिक समाजवादी तथा अग्रगामी चाहने शक्तिहरुलाई एलायन्समा आउन अपील गर्दछौं । एलाइन्समा आबद्द पार्टीहरु स्थानीय तहको निर्वाचन लगतै प्रदेशको निर्वाचन साझाँ घोषणापत्र र साझा अबधारणा आपसी सहमतिमा उम्मेद्वार खडा गर्न प्रतिवद्द रहेका छौं । राष्ट्रियता, जनतन्त्र र जनजिवीकाको सवालमा जनपक्षीय धारणा निर्माण गर्दै जनताको न्युनतम आवस्यकता दिनको लागी नयाँ अर्थनिति र आत्मनिर्भर राष्ट्रिय अर्थ निति लागु गरेर राष्ट्रलाई एक दशकमै समुन्नत राष्ट्र बनाउन कसैको इसारा र नक्कलमा नभई आफ्ना अनुभवको विकास गर्दै राष्ट्रको आवश्यकता पुर्ति गर्न हामी डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्स घोषणा गर्दछौं ।’