काठमाडौं । अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौतालाई प्रतिनिधि सभाको बैठकमा टेबल गर्ने कुरामा सभामुख अग्निप्रसाद सापकोटाले फेरि आनाकानी गरेका छन्।
मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभामुख सापकोटा एमसीसी टेबल गर्ने प्रक्रियामा अपेक्षित सकारात्मक नदेखिएको ब्रिफिङ भएको छ।
सभामुख सापकोटाको भूमिका स्पष्ट नेदेखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलकी सचेतक पुष्पा भुसाललाई सभामुख सापकोटासँग फोनसंवाद गर्न लगाएका थिए।
बैठक जारी रहँदै सचेतक भूसालले सापकोटालाई फोन गरेर कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेकी थिइन्।
'सांसदहरुले हिजोको बैठक र एमसीसी टेबल हुने विषयमा प्रश्न उठाउनुभएको थियो। प्रधानमन्त्री तथा पार्टी सभापतिज्यूले पुष्पा भुसाललाई भनेर सभामुखसँग कुरा गर्न लगाउनुभएको थियोु, कांग्रेसका एक सांसद्ले भने, 'तर, एमसीसी टेबल हुने कुरामा ढुक्क हुन सकिएन।'
सोमबार सभामुख सापकोटाले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका थिए। एमालेले बहिस्कार गरेको सो बैठक ४ घण्टासम्म बसेको थियो। बैठकपछि सभामुख सापकोटाले पनि आफू अम्पायरको भूमिकामा रहने भन्दै एमसीसी टेबल गर्न सहमत भएको संकेत गरेका थिए।
'एमसीसीको विषयमा छलफल भएको छ। नेताहरुले आ(आफ्नो धारणा राख्नुभएको छ। मैले सबैको धारणालाई तटस्थ, निष्पक्ष र स्वतन्त्रतापूर्वक सोचेर गम्भीरतापूर्वक लिएको छु। किनभने अहिले वर्तमानमा सभामुखको हैसियतले मैले स्वतन्त्र र निष्पक्ष ढंगले निर्णय गर्नुपर्छ। मैले विशेष रुपमा जोड दिएको कुराचाहिँ संसद् सुचारु हुनुपर्छ। त्यसपछि मेरो अन्तिममा कुरा के हुन्छ भने म त अम्पायर न हो। निर्णायक भूमिका दलहरुको हुन्छु, सभामुख सापकोटाको भनाइ थियो।
तर, उक्त भनाइ एमसीसीसँग जोड्न नमिल्ने सभामुखनिकट स्रोतको दाबी छ। एमसीसीमा सभामुख सापकोटा पुरानै ठाउँमा रहेको संकेत स्रोतले गरेको छ।
कांग्रेस संसदीय दलको बैठकले एमसीसी पास गर्ने निर्णय गरेको छ। एमसीसी पास हुनेमा प्रधानमन्त्री देउवा ढुक्क रहेको कांग्रेस महामन्त्री गगन थापाले बताएका छन्। तर, सभामुखको भूमिका स्पष्ट नदेखिँदा एमसीसीमा फेरि अवरोध सिर्जना हुने आशंका भने कांग्रेस नेताहरुमा कायमै छ।