काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धनको बैठकलगत्तै बिहीबार साँझ प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुग्नु पछिल्लो राजनीतिक विकासक्रममा थप रोचक बनेको छ।
बिहीबारको निर्णायक भनिएको सत्ता गठबन्धनको बैठकअघि नै तय भएको कांग्रेसको रणनीतिअनुसार देउवाले यस्तो ‘मुभ’ गरेका हुन्।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको अनुदान सम्झौता संसदबाट जसरी पनि अनुमोदन गर्ने दिशामा प्रमुख सत्तारुढ घटक कांग्रेस लागेको छ। सत्ता सहयात्री दलकै सहमतिमा एमसीसी सम्झौता संसदमा टेबल गर्ने चाहना पूरा हुने संकेतहरु कमजोर देखिन थालेपछि प्रधानमन्त्री देउवाले फेरि प्रमुख प्रतिपक्षसँग संवाद अघि बढाएका हुन्।
बिहीबारको निष्कर्षविहीन बैठकपछि पनि कांग्रेस प्रवक्ता ज्ञानेन्द्र कार्कीले एमसीसी संसदबाट अनुमोदन हुने बाटोमै रहेको बताएका छन्। कार्की गठबन्धनमा मात्रै होइन, प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीसँग पनि निरन्तर संवादमा छन्।
केही दिनदेखि कांग्रेस र एमाले नेताहरुका बीचमा निरन्तर संवाद भइरहेको छ। सरकारका प्रवक्ता कार्कीले प्रधानमन्त्री देउवाको सन्देशसहित एमाले अध्यक्ष ओलीसँग टेलिफोन संवाद गरिरहेका छन्। यसैगरी, बिहीबार बिहान कांग्रेस नेता मीनेन्द्र रिजाल ओलीलाई भेट्न बालकोट नै पुगेका थिए। त्यसैगरी सूचना, प्रविधि तथा सञ्चारमन्त्री कार्कीले ओलीसँग संवादको सिलसिला निरन्तर कायम राखेका छन्।
बुधबार सत्ता साझेदार अर्को दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौता संसदमा टेबल गर्नका लागि नयाँ शर्त तेस्र्याएका थिए। दुवै दलले सडकबाट समेत विरोध जनाइरहेकाले कांग्रेसले प्रयास जारी राखेपनि उनीहरु सहमतिमा आउने सम्भावना कम देखेको छ।
बिहीबारको सत्ता गठबन्धनको बैठकमा सहभागी एक कांग्रेस नेताका अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीले अत्तो थाप्ने पूर्वानुमान प्रधानमन्त्री देउवाले गरेका थिए। त्यसपछिका मुभका विषयमा आफू निकटस्थ नेताहरुसँग देउवाले छलफल गरेका थिए। ती कांग्रेस नेताले भने, ‘भोलि बिहान १० बजेको बैठक कांग्रेसका कारण राखिएको हो। त्यतिन्जेल प्रमुख प्रतिपक्ष नेकपा एमालेको संकेत बुझिसकिन्छ र अन्य दलको अन्तिम धारणा आइसक्छ।’
सत्ता साझेदारलाई सकेसम्म नचिढाउने
एमालेले एमसीसीका विषयमा स्पष्ट धारणा सार्वजनिक गरेको छैन। सत्ता साझेदार दलहरुको साझा धारणा तय भए मात्रै आफ्नो मत प्रकट गर्ने नीति एमालेले अख्तियार गरेको छ। गठबन्धनका कारण निरन्तर हानी ब्यहोरिरहेको एमाले त्यसलाई फुटाउने हतियारका रुपमा यसलाई प्रयोग गर्दैछ।
बिहीबारको गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सुरुमै शुक्रवार एमसीसी टेबल गरेर अघि बढ्ने प्रस्ताव राखेका थिए। यसको निर्णय संसदबाट गर्ने बताउँदै दलहरुलाई आफ्नो मत त्यहीँ प्रकट गर्न आग्रह गरेका थिए। देउवाको प्रस्ताव थियो, ‘संसदमा टेबल गरौं। त्यहीँ आ–आफ्ना मत राखौं।’
अन्य दलका अप्ठ्यारा बुझेको बताउँदै एमसीसी पास गर्ने कुरामा नभइ टेबल गर्ने कुरामा मात्रै साथ खोजेको देउवाको प्रष्टोक्ति थियो। तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी संसदमा टेबल गर्नुअघि त्यहाँ छलफल गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे। उनको भनाइ थियो, ‘प्रमुख प्रतिपक्ष एमाले संसद अवरोध गरिरहेको छ। यस्तो अवस्थामा टेबल गरेर मात्रै कुनै फाइदा छैन। पहिले एमालेलाई मनाऔं।’
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शुक्रबार नै टेबल नगरी एकदिन आफ्नो पार्टीलाई कुर्न आग्रह गरे। उनको भनाइ थियो, ‘शनिबार हाम्रो पार्टीको बैठक छ। हामी छलफल गरेर टुंगोमा पुग्छौं। त्यसैले त्यतिन्जेल कुर्नपर्यो।’ एमालेसँग संवाद बढाएपनि सत्ता साझेदार दलसँग यति चाँडै दूरी बढाउने पक्षमा प्रधानमन्त्री देउवा छैनन्। त्यसकारण नेपाललाई एकदिन समय दिन शुक्रबार एमसीसी टेबल नगर्ने तयारी गरिएको एक कांग्रेस नेताले बताए। प्रचण्डले राखेको प्रस्तावअनुसार प्रतिपक्षलाई संसद सुचारुका लागि मनाउन देउवाले प्रयास गर्नेछन्। ‘अहिल्यै गठबन्धन टुटाउने कांग्रेसको चाहना छैन। एमालेलाई अवरोध हटाउन मनाएर एमसीसी टेबल गर्नु सवैभन्दा सहज उपाय हो। प्रधानमन्त्रीले अहिले त्यही प्रयास गरिरहनुभएको छ,’ ती नेताले भने।
ओलीको संकेत निर्णायक
एमालेले आधिकारिक धारणा तय गरेको छैन। एमसीसीका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली नकारात्मक छैनन्। यसअघि प्रधानमन्त्री हुँदा ओलीले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न चाहेका थिए। त्यसकारण एमाले एमसीसी सम्झौता संसदमा टेबल गर्ने कुरामा सहमत हुने कांग्रेसको विश्वास छ।
फागुन १६ गतेको अन्तिम समयसीमा नकटाइ एमसीसी पास गर्नुपर्ने कांग्रेसको बुझाइ छ। एमसीसीका विषयमा निरन्तर रुपमा सकारात्मक र प्रष्ट रहेको कांग्रेसले समय जति घर्कियो, त्यति हानी हुने बुझेको छ। ‘यतिबेला पनि पास गर्न सकिएन भने यो झन् धेरै गिजोलिन्छ, कांग्रेसलाई थप हानी हुन्छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘यसलाई राष्ट्रघाती सम्झौताका रुपमा भ्रम फैलाएकाले हामी ‘राष्ट्रघाती’को कोटीमा यसैत्यसै रहन्छौं। पास गरेर पूर्वाधार विकास हुँदा मात्रै भ्रम चिर्न सकिन्छ।’
एमाले अध्यक्ष ओलीले संसद अवरोध नगर्ने संकेत दिएमा शुक्रबार विहान १० बजेको बैठकमा प्रधानमन्त्री देउवाले फेरि एमसीसी टेबल गर्ने प्रस्ताव गर्नेछन्। एमालेले पुरानै अडान दोहोर्याएमा कांग्रेसले आइतबार एमसीसी संसदमा टेबल गर्ने योजना बनाएको छ। प्रधानमन्त्री देउवाको अहिलेसम्मको अपेक्षा चाहिँ एमालेले एमसीसीमा कांग्रेसलाई सघाउँछ भन्ने नै छ।