काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बोलि बस्ने गरी स्थगित भएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा परियोजना सम्झौता प्रक्रिया अगाडी बढाइने कार्यसूची तय गरिएको थियो । तर, अन्तिम समयमा आएर संसद बैठक भोलि १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
संसद सचिवालयका सह प्रवक्ता दशरथ धमलाका अनुसार आजको लागि एमसीसीबारेको सम्झौता सम्बन्धी विषय कार्यसूचीमा राखिएको थियो । तर, अन्तिम समयमा आएर सभामुखले बैठक भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको छ । सत्ता गठबन्धन दलहरूबीच मत बाँझिएपछि एमसीसी पारित हुनेमा शङ्का देखिएको छ ।
सत्ता गठबन्धन दल माओवादी केन्द्रले संसदमा एमसीसीको विरोध गर्ने प्रस्ट पारेको छ भने अर्को दल नेकपा एकिकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । तर, मतदानको प्रक्रियामा गएको खण्डमा सांसदहरूलाई मतदान नगर्न ह्वीप लगाउने या नलगाउने बारेमा भने अझै पनि निर्णय भएको छैन ।
जसका कारण कतिपय सांसदले एमसीसीको पक्षमा मतदान गर्ने सम्भावना रहेको छ । यता प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले पनि यथास्थितिमा एमसीसी पारित हुन नसक्ने बताउँदै यसमा नसघाउने बताएको छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले भने एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ भने सत्ता घटक दल जनता समाजवादी पार्टीले पनि एमसीसीको पक्षमा मतदात गर्ने बताइसकेको छ ।
एमसीसी पारित गर्नको लागि हालसम्म काँग्रेसलाई जसपा र लोसपाको साथ रहने देखिएको छ । नेकपा एसले सांसलाई ह्वीप नलाएको खण्डमा केही सांसदहरू थपिन सक्ने देखिएको छ । एमसीसी जसरी पनि पारित गराएर छाड्ने रणनीतिमा रहनुभएका प्रधानमन्त्री शेर बहादुर देउवा छलफलका लागि पछिल्लो समय सक्रिय हुनुभएको छ ।
सत्ता गठबन्धनले साथ नदिएको खण्डमा एमालेसँग मिलेर अघि बढ्नको लागि प्रधानमन्त्री देउवाले एमालेसँग छलफल गर्नुभएको छ । छलफलमा ठोस निर्णय नभएका कारण आज साँझ ७ बजे पुनः छलफल हुनेछ । एमालेले साथ दियो भने उसलाई सरकारमा सहभागि गराएर भएपनि एमसीसी पारित गराउनका लागि प्रधानमन्त्री लागि रहनुभएको छ । यता, एमसीसीको विरोधमा संसद भवन आसपासको क्षेत्र तनावग्रस्त बनेको छ ।
बिहान ११ बजेदेखि नै संसद भवन नयाँ बानेश्वरदेखि बिजुलीबजार, बबरमहल, बुद्धनगर क्षेत्रमा प्रदर्शन जारी छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरिरहेका छन् भने प्रहरीले भिडलाई तितरवितर पार्नका लागि अस्रु ग्यासको प्रयोग गरिरहेको छ ।