काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन, एमसीसी अमेरिकी सहयता परियोजना अनुमोदनका लागि प्रमुख प्रतिपक्षी दलका नेताको साथ खोजेर गरिएको बालकोट बार्ता आज पनि निष्कर्षबिहीन बनेको छ।
सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका दोस्रो तहका नेताहरु यस विषयमा छलफल गर्न शनिवार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए।
दोस्रो तहका नेताहरुको छलफल पछि प्रधानमन्त्री शेरबहादुर देउवा ओली निवास पुग्ने बताइएको थियो। यद्यपि दोस्रो तहकै नेताहरुबिचको छलफलमा पुरानै अडान दोहोरिएपछि नेताहरु निराश भएर फर्केका छन्।
छलफल खासै सकारात्मक नभएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारकर्मी ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 'नयाँ कुरा भनौला भनेर लामो छलफल भयो। तर कुरा पुरानै छ। हामीद्ये आज पनि उहाँहरुलाई प्रतिनिधि सभालाई सुचारु गरौ। एमसीसीलाई राष्ट्रिय सहमतिका साथ पारित गरेर अनुमोदनको दिशामा लगेर मुलुक महत्वपूर्ण कुरामा एक ठाउँमा उभिन्छ भनेर विश्वलाई सन्देश दिउँ भन्ने प्रस्ताव गर्यौ,'छलफलपछि सञ्चारकर्मीसँग प्रवक्ता कार्कीले भने, 'उहाँहरुले पुरानै कुरा दोहोर्याउनुभयो। प्रतिनिधि सभाको द्वार हाम्रा निमित्त खुलेको छैन हामीलाई। तपाईहरुले काम गर्नुस्। तपाईहरुको दायित्व हो सदन खोल्नुस् भन्नुभयो।'
सरकारको तर्फबाट प्रमुख प्रतिपक्षी दललाई एमसीसी अनुमोदन गराउन सदन खुलाउन आफूहरुले जोड दिएको उनको भनाई रह्यो। 'तपाईहरुले पनि दायित्व हो संसदलाई प्रभावकारी र जीवन्त बनाउनुस् भनेर हामीले भनेका छौ,' कार्कीले भने, 'आज पनि छलफल त्यतिमै केन्द्रित रह्यो। छलफल अझै जारी रहन्छ।'
एमाले महासचिव शंकर पोखेरलले पनि छलफल निष्कर्षमा नपुगेको पुष्टि गरे। 'विगत ५/६ महिनादेखि हामीले संसदभित्र हामीले सभामुखको भूमिकालाई लिएर संसद अवरोध गर्दै आएका छौ। त्यो विषयलाई लिएर हामीले निरन्तर अनुरोध गर्दै आएका छौ। जबसम्म उहाँहरुले हाम्रो तर्फको मागलाई सुनुवाई धन गर्नुहुन्न,' छलफलपछि महासचिव पोखरेलले भने, 'हाम्रो उपस्थिति सम्भव हुन्न भन्दै आएका छौ। अन्य प्रक्रियामा हाम्रो उहाँहरुले एमसीसीमा प्रतिपक्षीको सहयोग माग्दै आउनुभएको छ। हामीले सरकार पक्षधरको जबसम्म सरकारको राय एक हुँदैन। सरकारको राय एक नभएसम्म प्रतिपक्षीलाई त्यो विषयमा बोलिरहन कुराको बाध्यता पनि रहँदैन।'
यसमा सरकारले नै स्पष्ट धारणा बनाउनुपर्ने उनको भनाई रह्यो। 'सरकार पक्षको रुपमा रहेको छ। जसले सम्झौता गर्यो र टेबल गर्यो उसले एउटा दृष्टिकोण बनाउनुपर्छ। हामीलाई संसदमा प्रवेश गर्ने बाटो बनाउनुपर्यो भनेका छौ,' पोखरेलले भने।
छलफलमा कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की थिए भने एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालगायत सहभागी थिए।