काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने आफ्ना नेता कार्यकर्ताले सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा गरेको छ । स्थानीय तहको निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै एकीकृत समाजवादीले उम्मेदवारी मनोनयनको दिन नै उम्मेदवारले सम्पत्ति विवरण सार्वजनिक गर्ने बताएको छ ।
‘आम जनताले सुशासनको पहिलो अनुभूति स्थानीय सरकारकै माध्यमबाट गर्दछन्’ घोषणापत्रमा भनिएको छ, ‘त्यसैले स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त तथा सुशासनको केन्द्र बनाउनका लागि हाम्रो पार्टीले विशेष अनुगमन गरी आवश्यक उपाय अवलम्बन गर्ने छ ।’
एकीकृत समाजवादीले स्थानीय सरकारको प्रमुख, उपप्रमुख र वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधिले आफ्नो व्यापार÷व्यवसाय गरेको भए त्यसको कार्यकारी जिम्मेवारीबाट अलग भएको घोषणा गर्ने दावी गरेको छ । तर कार्यकारी भूमिका बाहेकको अरु संलग्नताबारे घोषणापत्रमा केही उल्लेख छैन ।
भड्किलो शैलीले भ्रष्टाचार बढाउने भन्दै एकीकृत समाजवादीले सादा जीवन बिताउने विषयमा ध्यान दिने दाबी गरेको छ । उसले आफ्ना जनप्रतिनिधिले गर्ने सांस्कृतिक र धार्मिक क्रियाकलापलाई मितव्ययी र कम खर्चिलो बनाउने दाबी गरेको छ ।
घोषणापत्रमा भनिएको छ, ‘यस्ता काममा हाम्रा जनप्रतिनिधिले पालिकाको कुनै पनि स्रोत–साधन प्रयोग गर्ने छैनन् ।’ पालिकाका भवन लगायतका साधन भाडा तिरेर मात्रै प्रयोग गर्ने प्रचलन रहेमा आफ्नो दल र जनप्रतिनिधीले त्यसको पालना गर्ने उसको दाबी छ ।
एकीकृत समाजवादीले स्थानीय तहका सवारीसाधन लगायतका सम्पत्तिको दुरुपयोग नगर्ने र गर्न नदिने दावी गरेको छ । अनि अनुत्पादक क्षेत्र र योजनाहरूमा बजेट नछुट्याउने घोषणा गरेको छ ।