काठमाडौँ । स्थानीय तहको निर्वाचनमा पालिका प्रमुख पदका लागि देशभरिबाट २ सय ३२ महिलाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो विवरण अनुसार अध्यक्ष पदमा १ सय ५५ जना, उपप्रमुखमा १ हजार ४ सय ३४ र उपाध्यक्षमा १ हजार ६ सय ४३ महिला उम्मेदवार छन् ।
प्रदेश १ मा प्रमुख पदका लागि २७, अध्यक्षका लागि २६, उपप्रमुखका लागि २ सय ९ र उपाध्यक्ष पदका लागि २ सय ६२ महिलाको उम्मेदवारी परेको छ ।
मधेस प्रदेशमा प्रमुख पदमा ५४, अध्यक्षका लागि ३७, उपप्रमुखमा ५ सय ३८, उपाध्यक्षमा ४ सय जना महिलाले प्रतिस्पर्धा गर्ने छन् । बागमती प्रदेशमा प्रमुख पदका लागि ५९ जना महिलाको उम्मेदवारी परेको छ ।
अध्यक्षका लागि २५, उपप्रमुखमा १ सय ९५, उपाध्यक्षमा २ सय ३० महिलाको उम्मेदवारी परेको छ ।
गण्डकी प्रदेशमा प्रमुख पदका लागि १८, अध्यक्षमा २५, उपप्रमुखमा ९३ र उपाध्यक्षमा ६३ महिलाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
लुम्बिनीमा प्रमुखका लागि ४९, अध्यक्षमा २६, उपप्रमुखमा १ सय ८२, उपाध्यक्षमा ३ सय ४ महिलाको उम्मेदवारी परेको छ ।
कर्णाली प्रदेशमा प्रमुख पदका लागि ९, अध्यक्षमा ११, उपप्रमुखमा ९०, उपाध्यक्षमा १ सय ६८ महिलाले उम्मेदवारी दिएका छन् ।
सुदूरपश्चिममा प्रमुखका लागि १६, अध्यक्षमा ५, उपप्रमुखमा १ सय २७ र उपाध्यक्ष पदका लागि १ सय ३५ महिलाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा परेको महिला उम्मेदवारी यसपाली घट्ने र यसले नेतृत्वमा महिलाको उपस्थिति कम पुग्ने भन्दै अधिकारकर्मीहरूले चासो व्यक्त गर्दै आएका छन् ।
सीआईएनसँग कुराकानी गर्दै एक जना अधिकारकर्मी, मोना शेर्पाले नेतृत्वमा महिला पुग्दा विकासनिर्माण र सुशासनमा पनि सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।
उहाँले महिलाले सुशासन कायम गर्नेदेखि विकासको कामलाई पनि राम्रो तरिकाले सम्पन्न गर्ने भएकाले यो राम्रो पक्ष भएको पनि उल्लेख गर्नुभयो ।