काठमाडौं । हालै सम्पन्न स्थानीय चुनावअन्तर्गत देशका ७५३ स्थानीय तहमध्ये ६३८ वटामा गणना सकिएको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा बढी पालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । क्रमशः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), छन् ।
कांग्रेसले मतगणना सम्पन्न भएका पालिकामध्ये २८३ वटाको प्रमुख तथा अध्यक्ष जितेको छ । अन्तिम मतपरिणाम आएकामध्ये ४४.३५ प्रतिशत पालिकाको प्रमुख तथा अध्यक्ष कांग्रेसले जितेको छ ।
यस्तै, एमालेले १७८ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको मतगणना सम्पन्न भएका पालिकाको २७.८९ प्रतिशत हो । माओवादीले १११ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सकिएका पालिकामध्ये १७.३९ प्रतिशतमा माओवादीका प्रमुख तथा अध्यक्षका उम्मेदवार विजयी बनेका छन् ।
जसपाले २० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालिसकेको छ । यो भनेको कूल मतगणना सम्पन्न भएका पालिकाको ३.१३ प्रतिशत हो ।
एकीकृत समाजवादीले हालसम्म १४ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । मतगणना सकिएकामध्ये २।१९ प्रतिशत पालिकामा एकीकृत समाजवादीका प्रमुख तथा अध्यक्षका उम्मेदवारले जितेका छन् ।
लोसपाले ७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको कूल मतगणना सम्पन्ना भएका पालिका प्रमुख तथा अध्यक्षको १।०९ प्रतिशत हो ।
आयोगका अनुसार अन्य साना दल र स्वतन्त्र उम्मेदवारले २५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । मतगणना सम्पन्न भएका पालिकामध्ये ३.९१ प्रतिशतको प्रमुख तथा अध्यक्ष पदमा साना दल तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।