काठमाडौं । वामदेव गौतमको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नयाँदल घोषणा गरिएको छ । नयाँद लमा७५ सदस्यीय केन्द्रीय कमिटी बनाईएको जनाईएको छ । त्यस्तै, स्थायी कमिटी भने १५ जना भन्दा नबढ्ने गरि बनाईने जनाईएको छ ।
आज (मंगलबार) राजधानी काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर नवगठित पार्टीको घोषणा गरिएको हो ।
पार्टीले ८ सदस्यीय हेडक्वार्टर (केन्द्रीय सचिवालय) गठन गरेको छ । जसमा संयोजक गौतमसहित सचिव डीबी कार्की, सदस्य ओम शर्मा चालिसे, सदस्य डिल्लीराज भट्टराई, सदस्य दुर्गा भण्डारी, सदस्य निमकान्त पाण्डे, सदस्य भगवती विष्ट र सदस्य युवराज सफल रहेका छन् ।
नवगठित पार्टीले नेपालको कम्युनिष्ट आन्दोलनलाई सर्वोच्च अदालतको एमाले र माओवादी केन्द्र अलग–अलगगर्ने निर्णयले मुख्य कम्युनिष्ट पार्टीहरुकाबीचमा शत्रुतापूर्ण अवस्थामा परिणत गरिदिएको टिप्पणी गरेको छ । संयोजकगौतमको नाममा जारी विज्ञप्तीमा भनिएको छ, ‘एमाले र माओवादी केन्द्र विभाजन गर्ने सर्वोच्चको निर्णय त्रुटिपूर्ण र हानिकारक सावित भएको छ । त्यसकै कारण जनतामा निराशा बढ्दै जान थालेको छ ।’
त्यस्तै, पार्टीको मुख्य कार्यभार विघटन भएको नेकपालाई फेरि पूनर्गठन गर्ने रहेको जनाईएको छ । र, प्रदेश र संघको निर्वाचनपुर्व नै एमाले, माओवादी र समाजवादीबीच एकताको प्रयास गर्ने र एकता सम्भवन भए कार्यगत एकता गर्ने पार्टीको अर्को मुख्य लक्ष्य रहेको छ । यसरी गरिने कार्यगत एकतामा जनमोर्चा र जसपासहितको बृहत्त वापन्थी चुनावीमोर्चा बनाउने योजना रहेको छ ।
कार्यक्रममा संयोजक गौतमले आफू लागि परेपछि जस्तोसुकै जिम्मेवारी पनि पूरा गरेरै छाडेको ईतिहास भएको स्मरण गराउँदै आफ्नै जीवनकालमा नेपालका सबै कम्युनिष्टहरुबीच एकता गरेरै छाड्ने घोषणा गरे । उनले आफूमाथि पदमा बसिरहन र परिवारवादमा फसेको भनेर लगाईएको आरोपको खण्डन गरे ।
उनले भने,‘मलाई पदमा बसिरहने, आकांक्षा पूरा गर्नको लागि महत्वकांक्षा बोकेर, पार्टी खोलेको भनेर पनि यहाँ पत्रकार साथीहरुले भन्नुभयो, केही साथीले परिवारका सस्यहरु पार्टीमा राखेको कुरा भन्नुभयो । दुई वटै कुरा सत्य होइन । मेरो सिंगो परिवार कम्युनिष्ट आन्दोलनमा छ । सिंगो परिवार, आमा, भाईहरु, बहिनीहरु, जति छन् मेरा सन्तान, तपाईँले हेर्नुभयो भने सबै आन्दोनलमालागेका छन् । आजहोईन, कठिन परिस्थितिमा पनि लागेका छन् । म त ७ वर्षको उमेर हुँदा कम्युनिष्ट आन्दोलनमा सरिक भएको हुँ । अहिले ७३ वर्ष भएँ । व्यक्तिगत ईच्छा पूरा गर्न छोडेर कम्युनिष्ट आन्दोलनकोलागि ०२६ सालदेखि पूर्णकालिन रुपमाभूमिगत भएर हिँडेको हुँ । कठिन परिस्थितिमा पार्टी निर्माण गरेको छु । मैले जग हालेको पार्टीमा आज धेरै ठूला ठूला नेता बस्नु भएको छ । कम्पनी खोलेर, कुनै व्यवसाय गरेर आफ्नो व्यक्तिगत लाभ पूरा गर्न लगाएको छैन् । मजस्ताव्यक्तिहरु संसदीय संघर्षमा सामेल भएकैले देशमा सकारात्मक नतिजा प्राप्त भएको छ ।’
सो क्रममा वामदेवले माओवादीले सशस्त्र संघर्षको पनि स्मरण गरे । उनले भने, ‘माओवादीले सशस्त्र संघर्ष सुरु गर्यो, त्यो संघर्ष एउटा चरणमा पुगेको बेला,कमरेड प्रचण्डसँग मेरो भेट भएको थियो । उहाँले भन्नुभएको थियो–हामी शत्रुको फौज समाप्त गर्ने अवस्थामा छैनौं, र शत्रुले पनि हाम्रो फौज समाप्तगर्नसक्ने अवस्था छैन भन्नुभयो । मैले वार्ता गर्नुपर्छ भनेको थिएँ । वार्तामा आफ्ना मागपूरा भए शान्तिप्रक्रियामा जानुपर्छ भनेको थिएँ, त्यतिवेला प्रचण्ड, बाबुराम र मोहन बैद्य हुनुहुन्थ्यो । मसँग देवी ओझा हुनुहुन्थ्यो । प्रचण्डले बोल्नुभएन । तर, बाबुरामले बोल्नुभयो किजुन संसदीय व्यवस्थाविरुद्ध लड्यौं, आज सम्झौता किन गर्ने भन्नुभयो । मैले त सेफ ल्याण्डिङको बाटो खोज्न भनेको थिएँ । त्यही दौरानमा ठूलो संघर्षको विस्फोट भयो । २०६२÷०६३ माठूलो जनआन्दोलन भयो । त्यो आन्दोलनले राजालाई हल्लायो । संविधानसभाको निर्वाचन भयो । पहिलो पटक नेपालमा राजालाई गद्दीबाट तलझारयौं । संसदीय अभ्यासमा हामीले ठूलो–ठूलो सफलता हाँसिल गरेका छौं । त्यो संघर्ष गर्दा म एउटा मोर्चामा खटिएको थिएँ ।’
गौतमले आज देशमा भएका परिवर्तन त्यसको जग आफूहरुले हालेको पनि स्मरण गराए । उनले भने,‘अब म कति समय बाँच्न सक्छु, मलाई मृत्युवोध छ । तर, अहिले म किन अगाडि बढेको छु, जुन आन्दोलनको निम्ति संघर्ष र जीवन बलिदान गरें, आज देखिरहेको छु, कित्यो आन्दोनल धराशयी हुँदैछ । जसले चाँडो सूर्य देख्छ, त्यसले संसार उज्यालो देख्छ । कम्युनिष्ट आन्दोलन धराशयी हुन नदिनको लागि म सक्रिय भएको छु । स्थानीय तहमा कांग्रेस पहिलो भयो । कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गरेर गयो भने र कम्युनिष्टहरु बीच एकता भएन भने उसले या त बहुमत प्राप्त गर्छ, या त ठूलो दल बन्छ । अब हुने निर्वाचनपछि हुने अर्को निर्वाचन अर्थात दोस्रो निर्वाचनमाकांग्रेसलाई गठबन्धनको आवश्यक पर्दैन् ।’
यस्तो छ, गौतमले निकालेको विज्ञप्ती
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको
प्रेस विज्ञप्ति
पत्रकार मित्रहरु,
हामीले नेपालको राजनीतिक पार्टीहरुको महासागरमा मिसाउन एउटा अर्को राजनीतिक पार्टीलाई यही अषाढ महिनाको ११ गते जन्माएका छौं । यसका बारेमा जानकारी दिन तपाईहरुलाई हामीले यहाँ बोलाएका हौं । अहिले मानवजातिले विकास गरेको सबभन्दा अत्याधुनिक विज्ञान र प्रविधियुक्तसंरचना नै सूचना संचार क्षेत्र हो । हामीले ठीक बेठिक जे काम गरेका छौं त्यसको जानकारी सूचना संचार क्षेत्रले ४÷५ सेकेण्डमै सिंगो नेपाल राष्ट्रलाई गराइ सकेको छ । तथापि संचार क्षेत्रका साथीहरुसंग औपचारिक रुपमै छलफल गर्ने मनसायका साथ यो पत्रकार सम्मेलन आयोजना गरिएको हो ।
हाम्रो आमन्त्रणलाई स्विकार गरेर यहाँ उपस्थित हुनु भएका तपाई संचारकर्मी साथीहरुलाई भर्खरै विकसित भएको नेकपा एकता राष्ट्रिय अभियान नामको राजनीतिक पार्टीका तर्फबाट हार्दिक स्वागत गर्दै धन्यवाद दिन्छौं ।
संचारकर्मी मित्रहरु !
नेपाली जनताको आशा र भरोसाका रुपमा केही वर्ष पहिले मात्र उदय भएको राजनीतिक पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन उन्मुख भएर दुई अध्यक्षको नेतृत्वमा दुई समूह बनि एक अर्काका विरुद्ध आन्दोलन गरिरहेका बेला त्यो अनौठो क्रियाकलापलाई रोक्न र पार्टी एकताको पक्षमा जनमत सृजना गर्ने उद्देश्य राखेर नेकपा एकता राष्ट्रिय अभियानका नाममा २०७७ साल माघ १४ गते दवाव समूहका रुपमा यसलाई अगाडि सारिएको थियो । त्यसवेला असल प्रयत्नका वावजुद हामी सफल हुन सकेनौ । पहिला एकता अभियान सफल हुन नसक्नाको मुख्य कारण २०७७साल फागुन २३ गते सर्वोच्च अदालतको निर्णय थियो । एउटै पार्टी दुई समूहमा विभाजित भई एक अर्काका विरुद्ध शत्रुतापूर्ण आन्दोलनको अवस्था समाप्त हुनेछ भन्ने अनुमान गरेर हामीले त्यो निर्णयलाई समर्थन गरेका थियौं । तर व्यवहारमा अनुमान सत्य हुन सकेन । सर्वोच्च अदालतको निर्णयले पुनस्र्थापित नेकपा (एमाले) पुनः विभाजन उन्मुख भयो र केही महिना पछि साँच्चिकै विभाजित भएरै छोड्यो । जुन तपाईहरुलाई अवगत नै छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई सर्वोच्च अदालतको त्यो निर्णयले मुख्य कम्युनिष्ट पार्टीहरुका वीचको सम्बन्धलाई शत्रुतापूर्ण अवस्थामा परिणत गरिदिएको छ । साथै नेपालको राजनीतिक अवस्थामा गम्भीर नकारात्मक प्रभाव बृद्धि भइरहेको छ । यी तथ्यहरुको आधारमा भन्नुपर्दा सर्वोच्च अदालतको निर्णय त्रुटीपूर्ण र हानिकारक सावित भएको छ । त्यसकै कारण जनतामा निराशा बढ्दै जान थालेको छ । यसलाई आशावादतर्फ मोड्न सकिएन भने समाजमा साच्चिकैअराजकता फैलिन सक्नेछ ।
हामीले अगाडि सारेको यो पार्टीका तात्कालिन र दीर्घकालीन केही महत्वपूर्ण उद्देश्यहरु छन् । यस पार्टीको सबभन्दा महत्वपूर्ण र मुख्य कार्यभार त्यही विघटन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई फेरि पुनर्गठन गर्नु हो । त्यसपछि छिट्टै हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पूर्व नै विभाजित कम्युनिष्ट पार्टीहरु नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई एकीकृत हुन नसकेको अवस्थामा कार्यगत एकतामा आउन वातावरण सृजना गर्ने अर्को उद्देश्य रहेको छ । कार्यगत एकतामा जाने अवस्था सृजना हुँदा उपरोक्त तीन पार्टीहरु सहित राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी समेतको बृहत वामपन्थी चुनावी मोर्चा निर्माण गर्ने कामलाई महत्वका साथ हामीले गर्ने कामको सूचीमा समावेश गरेका छौं ।
उपरोक्त तीन पार्टीवीच एकता हुँदा हामीले भर्खरै निर्माण गरेको भए पनि यो नेकपा एकता राष्ट्रिय अभियानपनि संगै एकीकृत हुनेछ । हामीले अनवरत प्रयत्न गर्दा पनि एकता सम्भव भएन भने पार्टी एकीकरण गर्ने विषयलाई पार्टीको मुख्य कार्यभारका रुपमा स्वीकार गर्ने तथा नेकपा एकता राष्ट्रिय अभियानले अगाडि सारेका विचारहरुलाई जुन कम्युनिष्ट पार्टीले सम्मान गर्नेछ त्यही पार्टीसंग हामी सम्मानजनक एकीकरणका लागि तयार हुनेछौं । उपरोक्त मध्ये कुनै अवस्था सृजना भएन भने हामीले नेकपा एकता राष्ट्रिय अभियानलाई छुट्टै कम्युनिष्ट पार्टीका रुपमा अगाडि बढाउने छौं ।हाम्रो पार्टीको संरचनागत ढाँचा निम्नानुसार हुनेछ ।
पार्टीको सम्पूर्ण संरचनागत ढाँचा पार्टी विधानमा उल्लेख गरिएको छ । हाल हाम्रो यस पार्टीको केन्द्रीय कमिटी७५ सदस्यीयरहेको छ । दैनिक पार्टी संचालनका लागि स्थायी कमिटी निर्माण हुनेछ । त्यसमा १५ जना नबढ्ने गरी सदस्यहरु रहनेछन् । यो पार्टी बहुपदीय प्रणालीमा जानेछ । तद्नुरुप एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्जको जिम्मेवारी बहन गर्नेगरी ७ उपाध्यक्ष, संगठनात्मक कामको मुख्य जिम्मेवारी पुरा गर्नेगरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने व्यवस्था गरिनेछ ।
एकीकरणको भूमिका निर्वाह गर्दासम्म हाम्रो पार्टीका सम्पूर्ण ढाँचा समन्वय समितिका रुपमा रहने छन् । त्यस्तो अवस्थामा हरेक कमिटीका प्रमुख पदमा संयोजक र सचिवको व्यवस्था गरिनेछ । दैनिक कार्यसम्पादनका लागि आवश्यक संख्यामा एक सचिवालय रहनेछ । अन्य पार्टीहरुसंग एकता सम्बादका लागि पार्टी संयोजक क.वामदेव गौतमको संयोजकत्वमा सचिवालयका सदस्यहरु सम्मिलित वार्ता टोली छिट्टै निर्माण गरिनेछ । सचिवालयले नै पार्टीको आन्तरिक कार्यक्रम अन्तरगत विधानसम्मत रुपमाआवश्यक संख्यामा विभाग, आयोग र जनवर्गीय संगठन, सामुदायीक संगठन र पेशागत संगठन निर्माण गर्नेछ ।
यो पार्टी समन्वय समितिका रुपमा रहँदासम्मका लागि केन्द्रीय सचिवालयमा निम्नानुसारका आठ जना कमरेडहरु रहनु भएको छः(संयोजक र सचिव बाहेक अन्य सबै सदस्य कमरेडहरुको नाम नेपाली वर्णानुक्रम अनुसार राखिएको छ ।)
संयोजकः क.वामदेव गौतम
सचिवः क.डीबी कार्की
सदस्यः क.ओम शर्मा चालिसे
सदस्यः क.डिल्लीराज भट्टराई
सदस्यः क.दुर्गा भण्डारी
सदस्यः क.निमकान्त पाण्डे
सदस्यः क.भगवति बिष्ट
सदस्यः क.युवराज सफल
हार्दिक धन्यवाद सहित !
वामदेव गौतम
संयोजक
१४ असार,२०७९