काठमाडौं । एमाले भित्रको आन्तरि कलह अँझ थप बढ्ने बताएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन नेकपाको तीन वर्षमा एमालेभित्र आफूले बीउ रोपेको भन्दै चाँडै नै त्यहाँभित्र पनि माओवादी विचार फल्ने दाबी गरेका छन् ।
बुधबार पेरिसडाँडामा विप्लव नेतृत्वको नेकपाका नेताहरूलाई माओवादीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीको नेतृत्वका कारणमात्र अहिले एमालेमा आफूले रोपेको बीउ फक्रिन नपाएको बताए ।
प्रचण्डले भने, ‘तीन वर्षको मेरो अनुभवले भन्छ, हामीले हाम्रो बीउ रोपेर आएका छौं, हेर्नुहोला केही समयपछि फुल्छ फल्छ । एमालेभित्र पनि हजारौं क्रान्तिकारी छन्, केपी ओली नेतृत्वका कारणमात्र हो । त्यहाँ पनि नसकिएको होइन । त्यसैले माओवादीहरूमात्र मिलेर हुन्न, अन्य वामपन्थीहरू पनि मिलाउनुपर्छ ।’
प्रचण्डले आफू भावुक र उदार स्वभावको रहेको भन्दै माओवादीमा बसेकाहरूलाई भन्दा बाहिर गएर आएकालाई बढी अवसर र जिम्मेवारी दिएको बताए । छाडेर फर्केकालाई महासचिव र गृहमन्त्री बनाउँदा अहिले कहाँ-कहाँ पुगेको भन्दै उनले बादलको आलोचना समेत गरे ।
घनश्यामको जवाफ तपाईँको बीउ उम्रिदैन
नेकपा एमालेका नेता घनश्याम भुसालले एमालेमा माओवादीको बीउ छरेको भन्ने प्रचण्डको दाबीप्रति असहमति जनाएका छन् ।
वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले कुनै एउटा धारको बीउ अब नउम्रिने दाबी गरे ।
भुसालले भने, ‘कमरेड प्रचण्डले आज एमालेमा माओवादीको बीउ छरेर आएका छौं भन्नुभएछ । तर, उहाँले पनि ठीक ढंगले बुझ्न सक्नुभएन । अब एमालेको बीउ, माओवादीको बीउ, समाजवादीको बीउ चल्दैन, अब हाइब्रिड बीउ चाहिन्छ । अस्ति हामीले हाइब्रिड बनाएका थियौं त्यो भनेको नेकपा एउटा हाइब्रिड थियो । हाम्रो वुद्धि पुगेन भकारीमा आगो लगायौं । फेरि पनि हामी नेकपाको हाइब्रिड बीउ बनाउँछौँ ।’
भुसालले फेरि पनि नेकपा एकता गर्ने प्रण समेत गरे ।