काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच औपचारिक सम्बन्धमात्रै देखिएको छ ।
संसद सचिवालयको दैनिक कार्य सञ्चालनमा पनि दुई किनारामा देखिएका छन्, जसले गर्दा सचिवालयमा महत्वपूर्ण काम रोकिएको बताइएको छ । त्यसकै कारणले संसदको क्याबिनेट नै रोकिएकोसम्म बताइन्छ ।
सभामुख सापकोटा र अध्यक्ष तिमल्सिनाबीचको मनमुटाव सुरुवाती चरणदेखि नै हो । तत्कालीन सभामुख कृष्णबहादुर महरासँग पनि रुष्ट देखिएका तिमल्सिना ०७६ मा सभामुखमा सापकोटा आएदेखि नै असन्तुष्ट थिए । तत्कालीन नेकपाकालीन विवादका कारणले तिमल्सिना र महराको सम्बन्धमा तिक्तता थपेको थियो, जुन सापकोटा आएपछि झन् बढ्यो । २३ पुस ०७६ मा तत्कालीन नेकपाका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमको निवासमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेलबीच सापकोटालाई सभामुख बनाउन सहमति जुटेको थियो ।
अनिच्छापूर्वक अध्यक्ष केपी ओली उक्त निर्णय मान्न बाध्य भएका थिए । ओलीको चाहना सुवास नेम्वाङ वा शिवमाया तुङ्बाहाम्फेलाई सभामुख बनाउने भन्ने थियो । पार्टीभित्र ओली समूहमा रहेका तिमल्सिना त्यही कारणले सापकोटासँग असन्तुष्ट थिए । सभामुखबाट १५ असोज ०७६ मा राजीनामा दिएलगत्तै अध्यक्ष तिमल्सिना सभामुख निवासमा डेरा सरे । अर्को सभामुख आएपछि पनि उनले निवास छाडेनन् र सापकोटाले अर्को निवास खोज्नुपरेको थियो ।
त्यसले पनि मनोवैज्ञानिक रूपमा असन्तुष्टिको संकेत देखाइरहेका बेला चैत ०७६ मा कार्यबाहक महासचिव कसलाई बनाउने भन्नेमा सभामुख सापकोटा र अध्यक्ष तिमल्सिनाबीच विवाद भयो । महासचिव मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि महासचिव बनाउने विषयमा पनि दुई जनाबीच कुरा मिलेको थिएन । सापकोटाले कार्यबाहक महासचिव गोपालनाथ योगीलाई बनाएपछि एमालेका नेताहरूमात्र होइन, स्वयम अध्यक्ष तिमल्सिनाले सार्वजनिक रूपमा असहमति जनाएका थिए । सभामुख निर्वाचित भएको दुई महिनामै सापकोटा र अध्यक्ष तिमल्सिनाबीच दूरी बढाउने उक्त घटना सेलाउन नपाउँदै नेकपाभित्रको विवाद उत्कर्षतिर पुग्यो । त्यसको प्रतिछाया संसदमा देखिएकै थियो ।
पछि ५ पुस ०७७ मा प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको विषयमा सभामुख र अध्यक्ष तिमल्सिना दुई धारमा देखिएका थिए । तिमस्सिना अध्यक्ष ओलीको लाइनमा लागेर विघटन सही थियो भनिरहेका बेलामा सभामुख सापकोटा उस्तै परे संसद बैठक बोलाउनसमेत तयार भएका थिए । यो घटनासँगै जोडिएको विषय थियो, संवैधानिक नियुक्तिको विवाद । अध्यादेशमार्फत प्रधानमन्त्री ओलीले संवैधानिक निकायमा नियुक्त गर्न अध्यक्ष तिमल्सिनाको साथ रहँदा सभामुख सापकोटाले बहिस्कार गरेका थिए । त्यसको प्रतिरक्षामा पनि सभामुख सापकोटा र अध्यक्ष तिमल्सिना दुईधारमा रहेका छन् ।
यता, सचिवालयका सहसचिव सुरज दुरालाई कारबाही गर्ने विषयमा पनि अध्यक्ष तिमल्सिना र सभामखु सापकोटाबीच विवाद रहेको बताइन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षको नेताको हैसियतमा प्रयोग गरेको गाडी फिर्ता गर्दा पनि जानकारी नगराएको विषयले दुरा विवादमा तानिएका थिए । अध्यक्ष तिमल्सिना दुरालाई कारबाही पर्ने पक्षमा रहेको र सापकोटा मौन रहेको पनि बताइन्छ । असन्तुष्टि र बेमेलको संकेत सुरुदेखि नै भए पनि त्यसलाई कम गर्न दुवैले प्रयास गरेको देखिएको छैन । अझ, उनीहरूबीचको सम्बन्धलाई सुमधुर बनाइदिनका लागि प्रयास गर्ने सचिवालयमा उपसभामुख र उपाध्यक्ष पनि छैनन् ।