काठमाडौं । राष्ट्रियसभाको बैठकबाट विभिन्न दुई विधयेक पारित भएका छन् ।
सुक्रबार बसेको सभाको बैठकले रेल्वे विधेयक, २०७९ र औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरेको हो । राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले प्रस्तुत गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।
विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संयुक्त संशोधनकर्ताका तर्फबाट सांसद देवेन्द्र दाहालले रेल्वे सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न छुट्टै मन्त्रालय बनाउनुपर्ने बताउनुभयो । अर्का संशोधनकर्ता सांसद डा विमला राई पौडेलले रेल्वे बोर्डको सञ्चालन समितिमा सार्वजनिक यातायात व्यवस्थापन विषय पढेका, जानेका वा अनुभव लिएका दुई जना स्वतन्त्र विज्ञ राख्नुपर्ने धारणा राख्नुभयो ।
सांसद प्रकाश पन्थले रेल्वे बोर्डको स्वायत्ततामाथि सङ्कुचित गर्ने मनशाय राखिएको भन्दै केही प्रावधान हटाउनुपर्ने बताउनुभयो । रेल्वे विधेयकमा ९ सांसदबाट प्रस्तावना र १६ दफासँग सम्बन्धित संयुक्त संशोधन प्रस्तावसहित २३ संशोधन प्रस्ताव दर्ता भएका थिए । विधेयकको दफावार छलपलका क्रममा सांसदहरूले प्रस्तुत गरेका संशोधन प्रस्तावका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विधेयकका सम्बन्धमा सांसदहरूले राखेका विषयलाई नियमावलीमार्फत सम्बोधन गरिने बताउनुभयो ।
बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले पेस गर्नुभएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो ।
मन्त्री खापुङले नै पेस गरेको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रश्ताव पनि सर्वसम्मतिले पारित भएको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गरेको रेल्वे विधेयक २०७९ पारित गरियोस् भन्ने प्रश्ताव पनि सर्वसम्मतिले पारित भएको छ । राष्ट्रिय सभाको आगामी बैठक असार २० गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।