काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुने एमालेले जनाएको छ ।
प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिने तयारी छ ।
केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्ने लगायत कामका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा तीन उपमहासचिव, सात सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालय रहेको छ । हिजो बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकको एजेण्डा तय गरिसकेको छ ।
लोसपाको कार्यकारिणी बैठक पनि आजै बस्दै
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी बैठक बस्दैछ ।
बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो साढे १२ बजेका लागि बोलाइएको बैठकमा सङ्गठन निर्माण, केन्द्रीय समिति, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भ्रातृ सङ्गठन निर्माण लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । यस्तै बैठकमा अगामी चुनावमा कुन दलसँग सहकार्य गर्ने भन्ने बारेमा पनि छलफल हुने लोसपाले जनाएको छ ।