काठमाडौं । स्थानीय तहमा एमाले एक्लैले ३४ प्रतिशत मत प्राप्त गरेकाले बहुमतका लागि बाँकी १६ प्रतिशत बढाउने गरी अगाडि बढ्ने एमालेको रणनीति छ । तर, पाँचदलीय गठबन्धन तालमेलको बिन्दुमा पुगेपछि एमालेमाथि ठूलो अंकगणितीय दबाब पैदा भएको छ ।
कांग्रेसले प्रदेश र संघीय निर्वाचनमा अहिलेकै गठबन्धनसहित जाने निर्णय लिएसँगै प्रमुख प्रतिपक्षी एमाले दबाबमा परेको छ । गठबन्धनकै कारण स्थानीय निर्वाचनमा अपेक्षाकृत नतिजा पाउन नसकेको एमालेलाई कांग्रेसको पछिल्लो निर्णयले झनै अप्ठ्यारोमा पारेको छ । यद्यपि, आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने गरी चुनावको तयारी गर्न उसले तल्ला निकायलाई निर्देशन दिएको छ । तर, सर्तसहित तालमेलको ढोका पनि बन्द गरेको छैन ।
लोकतन्त्र र राष्ट्रियतालाई बलियो बनाउने उद्देश्यमा सहमत हुने जुनसुकै शक्तिसँग तालमेलका लागि छलफल गर्ने र एक्लै गठबन्धनको सामना गर्ने गरी तयारी अगाडि बढाउने एमालेको रणनीति छ । यसैअनुसार उसले सातै प्रदेशमा संघ र प्रदेश निर्वाचनलक्षित प्रशिक्षण सुरु गरेको छ । सोमबार मधेस प्रदेशको जनकपुरमा प्रशिक्षण आयोजना गरेको एमालेले ८ साउनमा गण्डकी प्रदेशमा प्रशिक्षण कार्यक्रम राखेको छ ।
हामी मूलतः आफ्नै बलबुतामा, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौँ । तर, लोकतन्त्रलाई सुदृढ गर्ने, राष्ट्रियतालाई बलियो बनाउने हाम्रा उद्देश्यमा सहमत हुने शक्तिहरूसँग छलफल गर्न तयार छौँ । एमाले केवल सत्ता प्राप्तिका लागि, अंकगणित बदल्नकै लागि गठबन्धन बनाउने खेलमा सामेल हुँदैन ।
‘हामी मूलतः आफ्नै बलबुतामा, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौँ । तर, लोकतन्त्रलाई सुदृढ गर्ने, राष्ट्रियतालाई बलियो बनाउने हाम्रा उद्देश्यमा सहमत हुने शक्तिहरूसँग छलफल गर्न तयार छौँ,’ उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको चुनावी रणनीतिबारे भने, ‘एमाले केवल सत्ता प्राप्तिका लागि, अंकगणित बदल्नकै लागि गठबन्धन बनाउने खेलमा सामेल हुँदैन ।’
अध्यक्ष केपी ओलीले पनि ज्ञवालीकै भनाइलाई पुष्टि गर्ने गरी १९ असारमा आफ्नै सामथ्र्यमा चुनाव लड्ने, तर गन्तव्यलाई केन्द्रबिन्दुमा राखेर भरपर्दो सहयात्री खोज्नेमा केन्द्रित हुने भन्दै पार्टीपंक्तिलाई आन्तरिक सर्कुलर जारी गरेका थिए । ‘राजनीतिक नैतिकता र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमारेखालाई बिर्सिदिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्रो छैन,’ ओलीको सर्कुलरमा छ, ‘तर, तत्कालको स्वार्थपूर्तिका लागि टाउको गन्ती गर्नेतिर होइन, हाम्रो ध्यान आफ्नो गन्तव्यलाई केन्द्रबिन्दुमा राखेर त्यसका लागि भरपर्दो सहयात्रीलाई खोज्ने कुरामा केन्द्रित हुनुपर्छ ।’
ओलीले भरपर्दो सहयात्री राजनीतिक ध्रुवीकरणलाई तीव्रता दिँदै पार्टी प्रवेश अभियानबाट मात्र आर्जित हुने भन्दै त्यसअनुसार योजना बनाउन पार्टीपंक्तिलाई निर्देशित गरेका छन् । ‘राजनीतिक ध्रुवीकरणको प्रक्रियालाई तीव्रता दिँदै अन्य पार्टीबाट सक्दो प्रवेश गराउने नीति लिने । खासगरी निर्वाचन क्षेत्रको शक्ति सन्तुलनका आधारमा प्रतिस्पर्धाको अवस्था रहेको ठाउँमा जित सुनिश्चित गर्न र हामी अगाडि रहेको ठाउँमा जितलाई कायम गर्न पार्टी प्रवेशका ठोस र मूर्त योजनाहरू बनाई कार्यान्वयन गर्ने,’ चुनावी तयारीबारेको निर्देशनमा भनिएको छ ।
गत ३० वैशाखको स्थानीय चुनावमा पनि एमालेले पार्टी प्रवेश अभियान चलाएको थियो । खासगरी माओवादी र एकीकृत समाजवादीसँग गठबन्धनका लागि नेतृत्व तहमा औपचारिक वार्ता नगर्ने, तर ती पार्टीहरूबाट नेता–कार्यकर्तालाई व्यक्तिगत रूपमा प्रवेश गराउने पुरानै रणनीतिलाई एमालेले पछ्याएको हो । पछिल्ला दिनमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहित उनीनिकट नेता–कार्यकर्तालाई भने एमालेले पार्टीमा फिर्ता गर्ने उद्देश्यसहित अनौपचारिक छलफललाई तीव्रता दिइरहेको छ ।
उपाध्यक्ष सुरेन्द्र पाण्डेले सोमबार जनकपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा एकीकृत समाजवादीबाट नेता–कार्यकर्ताको ठूलो पंक्ति एमाले प्रवेश गर्ने तयारीमा रहेको बताएका छन् । पछिल्ला दिनमा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, दोस्रो तहका नेताहरू वर्षमान पुन, देव गुरुङलगायतसँग पनि एमालेका दोस्रो पंक्तिका नेताहरू अनौपचारिक संवादमा छन् ।
उपमहासचिव ज्ञवालीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबाट माओवादीसँगको सम्भावित गठबन्धनको ढोका बन्द भएको बताए । ‘प्रचण्डजीले देशबाहिर गएर अहिलेकै गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता मात्र होइन, तमसुक नै गरेर आउनुभएको छ । त्यसैले घाम–जून रहेसम्म उहाँले यही गठबन्धन कायम राख्नुहुनेभो भन्ने हामीले बुझेका छौँ,’ ज्ञवालीले नयाँ पत्रिकासँग भने, ‘जसलाई कांग्रेस बलियो भएकोमा खुसी छ, जसले कांग्रेसलाई पहिलो पार्टी बनाउँदा जितको अनुभूति गर्छ, त्यस्तालाई वामशक्ति मानेर पछाडि कुद्नुपर्ने आवश्यकता एमालेले ठान्दैन ।’
प्रचण्ड भारत भ्रमणमा रहेकै वेला गत ३२ असारमा आयोजित एक कार्यक्रममा भने ओलीले कांग्रेससँगको गठबन्धन तोडेर आएको खण्डमा माओवादीसँग चुनावी गठबन्धन हुन सक्ने संकेत गरेका थिए । ‘म आग्रह गर्न चाहन्छु– राफसाफ कुरा गरौँ । कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, गल्ती भइहाल्यो छोडिदिऊँ । वामपन्थी हुनुहुन्छ भने आउनुस् एमालेसँग मिलेर कांग्रेसविरोधी होइन, देशको पक्षमा, राष्ट्रियता, लोकतन्त्र र कानुनी राजको पक्षमा उभिएर काम गर्ने सरकार बनाऊँ र अगाडि बढौँ,’ ओलीले भनेका थिए, ‘चुनावमा बुथ कब्जा गर्ने, मतपत्र च्यात्ने, टोक्ने होइन । निष्पक्ष ढंगले चुनाव गर्ने लोकतान्त्रिक अभ्यास गर्ने सरकार बनाऊँ ।’ उनले सक्कली वामपन्थीका लागि आफू एकपटकका लागि शंकाको लाभ दिनसमेत तयार रहेको बताउँदै एमालेको नेतृत्वमा गठबन्धन बनाउन लचिलो बन्न सक्ने संकेत गरेका थिए ।
सर्कुलरमा ओलीले सत्तारूढ गठबन्धन टुट्ने सम्भावना न्यून रहेको औँल्याउँदै एक्लै लड्ने र पराजित गर्न सकिने आत्मविश्वासका साथ तयारी अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । त्यस्तै, स्थानीय निर्वाचनमा गठबन्धनको योजना र षड्यन्त्र सामना गरेर लोकप्रिय मतसहित पहिलो दल भएको तथ्यलाई स्थापित गर्ने गरी निर्वाचनको मूल सन्देश र शिक्षालाई स्थापित गर्ने र प्रतिरक्षात्मक मनोविज्ञानलाई अन्त्य गर्ने कामको अगुवाइ गर्न एमालेले पार्टीपंक्तिलाई निर्देशित गरेको छ ।
स्थानीय तहमा एमाले एक्लैले ३४ प्रतिशत मत प्राप्त गरेकाले बहुमतका लागि बाँकी १६ प्रतिशत बढाउने गरी अगाडि बढ्ने एमालेको रणनीति छ । ‘हामीलाई बहुमतका लागि आवश्यक पर्ने करिब १६ प्रतिशत मत अपुग छ । त्यसलाई वृद्धि गर्न सकिन्छ र यसका लागि ठोस योजनाका साथ अगाडि बढ्ने । नयाँ पुस्तामा विशेष ध्यान दिने । पार्टीको जनाधार बलियो भएको ठाउँमा जनाधारलाई सुदृढ गर्ने । कमजोर जनाधार भएको ठाउँमा जनाधार विस्तारमा जोड दिने,’ ओलीको सर्कुलरमा छ । तर, उसको यो अंकगणितको राजनीतिलाई प्रतिकूलता हुने गरी पाँचदलीय गठबन्धन तालमेलको बिन्दुमा पुगेको छ ।