काठमाडौं । अर्थमन्त्रीमा २५ दिनपछि पुनः माओवादी नेता जनार्दन शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।
मन्त्री शर्माले आज आइतबार साँझ राष्ट्रपति कार्यालयमा सपथ लिनुएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिहरुले प्रवेश पाएको विषयमा विवादित बनेपछि अर्थमन्त्रीबाट राजीनामा दिएका शर्माले नै पुनः जिम्मेवारी पाएका हुन् । संसदीय छानबिन समितिले शर्मालाई सफाइ दिँदै प्रतिवेदन बुझाएको थियो ।
शीतल निवासमा साँझ साढे ५ बजे सपथग्रहण समारोह राखिएको राष्ट्रपति कार्यालयका सहसचिव सागर आर्चायले जानकारी दिए ।
पदभार ग्रहणमा अर्थ सचिव नै अनुपस्थित
जनार्दन शर्मा पुनः अर्थमन्त्री भएर अर्थमन्त्रालयमा पदभार ग्रहण गर्न आउने बेला अर्थ सचिव मधुकुमार मरासिनी नै बिदा वा कार्यक्रम कहाँ हो भन्ने नै अन्योल भएको छ ।
अर्थमन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलालाई नेपाल प्रेसले अर्थमन्त्री शर्माको पदभारको बेला अनुपस्थित भएको हो भनेर गरेको प्रश्नमा उनले बिदा वा कुनै कार्यक्रममा हो भन्ने जानकारी नभएको बताए । अर्थमन्त्री शर्माको कारण समस्यामा परेको भन्दै अर्थ सचिव मरासिनीले शर्मा मन्त्रीका कारणले समस्यामा परेको भन्दै अनिश्तिकालीन बिदामा बसेका थिए ।
आज अर्थमन्त्रीको पदभार कार्यक्रमको तयारी भइरहेका बेला उनी अर्थमन्त्रालयमा देखिएका छैनन् । शर्मा र मारासिनीबीच बजेट निर्माणमा करका दर हेरफेर गर्न बाहिरी मान्छे ल्याएको विषय बाहिर आएपछि सम्बन्धमा दरार आएको थियो ।
बजेट कार्यान्वयन र अर्थतन्त्रलाई सबल बनाउने प्रतिवद्धता
अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापन गर्न बजेट ल्याएको भन्दै त्यसको कार्यान्वयन गर्न जोड दिएका छन् ।
अर्थमन्त्रालयमा आइतबार पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै शर्माले बजेट कार्यान्वयन र विश्व अर्थतन्त्रमा देखिएको समयमा नेपाली अर्थतन्त्रलाई सबलीकरणतर्फ काम गर्नुपर्ने बताएका छन् ।
'यो नयाँ आर्थिक वर्ष भर्खरै प्रारम्भ भएको छ । बजेट पारित भएर कार्यान्वयनको चरणमा छौं त्यसको उद्देश्य र सिद्धान्त, आयात प्रतिस्थापन गर्नु र स्वदेशको उद्योग बढावा दिने रहेको छ । त्यसलाई कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्छ,' शर्माले भने ।
उनले विश्वको अर्थमन्त्रमा युद्धको कारण समस्या देखिएकाले त्यसको असर नेपालमा नपरोस भनेर नेपाली अर्थतन्त्रलाई सबलीकरण गर्न आवश्यक रहेको छ ।
'विश्वको आर्थिक अवस्थामा युद्धको कारण समस्या देखिएको छ । यस्तो अवस्थामा देशको अवस्था सबलीकरण गर्नुपर्ने आवश्यकता छ,' उनले भने । पुनस् अर्थ मन्त्रालयको जिम्मेवारी दिएकोमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरुलाई धन्यवाद व्यक्त गरेका छन् । आइतबार अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन उनले धन्यवाद व्यक्त गरेका हुन्।
'सम्मानीय प्रधानमन्त्री र गठबन्धन दलका नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेललाई धन्यवाद छ,' शर्माले भने ।
मन्त्रालयमा शर्मालाई स्वागत गर्दै राजश्व सचिव कृष्णहरि पुष्करले जसको नेतृत्वमा बजेट निर्माण भएको उसकैको नेतृत्वमा कार्यान्वयन गर्न पाउनु खुसीको विषय भएको बताएका थिए । 'अर्थमन्त्री शर्माको नेतृत्वमा बजेट आयो । उहाँकै नेतृत्वमा कार्यान्वयन गर्न पाउँदा हर्षित छु,' पुष्करले भने । अर्थसचिव मधुकुमार मरासिनी भने अनुपस्थित थिए ।