काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालको व्याख्या आयोगले नगर्ने बताएका छन्। निर्वाचन आयोगको पत्रकार सम्मेलनमा थपलियाले यस्तो बताएका हुन्।
‘आउँदो मंसिरको २१ गते कार्यकाल सकिन्छ भनेको छ संविधानमा, आयोगले पेश गरेको डकुमेण्ट स्वीकारेको छ। सबै उम्मेदवारलाई खेल मैदान उपलब्ध गराउँछ। उम्मेदवारी दिएको दिन नै कार्यकाल सकिन्छ भन्ने मानिन्छ। दशैँ लगतै उम्मेदवारी मनोनयन हुने छ,’ उनले भने।
चुनावको निर्णय आकस्मिक नभएको भन्दै उनले आयोगले मिति प्रस्ताव गरेपछि आयोग आन्तरिक रुपमा तयारीमा जुटेको बताए। मतदाता नामावलीमा स्थानीय तहमा त्रुटी भएकाले त्यसलाई व्यवहारिक बनाउने काम भोलिदेखि सुरु गरिने उनले जानकारी दिए।
उनले भने, ‘१०७ दिनको अवधि भए पनि आयोगले मंसिर ४ गतेलाई अर्जुन दृष्टि लगाएर काम गर्छ। समय अवधिकै कारणले कुनै अप्ठ्यारो पर्ने छैन।’
वैदेशिक सहायताका विषयमा आयोगले सवारी साधनको लागि अर्थ र पररष्ट्रमार्फत दातृ निकायमा अनुरोध गरेका र प्राप्त भए स्वीकार गर्ने उनले बताए। मतदाता शिक्षाका लागि पनि प्रक्रिया अनुसार भए लिन सकिने उनको भनाइ थियो।
शुक्रवारदेखि नै मतदाता नामावली वडा कार्यालयमा लिएर सार्वजनिक गरिने उनले बताए।
उनले भने, ‘मतदानस्थलबारे पुनरावलोकन हुन्छ, आइतवारदेखि दल दर्ता र बन्द सूचीको प्रक्रिया सुरु हुन्छ। हिजोसम्म प्राप्त १ करोड ८५ लाख हुन्छ, १० लाख जति बढन सक्छ।’