काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको उम्मेरदवारी दर्ता आउँदो असोज २३ गते हुने भएको छ ।
मंसिर ४ गतेलाई तय भएको निर्वाचनको उम्मेरदारी दर्ता असोज २३ गते गर्ने निर्वाचन आयोगले तयारी गरेको छ ।
निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार प्रत्यक्षतर्फका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुनेछ । समानुपातिकतर्फको बन्दसूची भने असोज २ र ३ मा बुझाउनुपर्नेछ। कार्यतालिका संशोधन नभए अघिल्लो दिन अर्थात् असोज १ मै चालु प्रतिनिधिसभा र प्रदेशसभाको ५ वर्षे कार्यकाल अन्त्य हुनेछ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन व्यवस्थापनका लागि आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । आयोगले कार्यतालिकाका विषयमा संघीय संसद्का पदाधिकारीलाई सोमबार अनौपचारिक जानकारीसमेत दिइसकेको बताएको छ। तर, आयोगले हाल यो कार्यतालिका बाहिर सार्वजनिक गरिसकेको छैन ।
आयोगले प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरि चुनाव चिह्न प्रदान गर्नेछ । त्यसैका आधारमा असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुनेछ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्नेछ । जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फको मतपत्र छाप्न करिब एक महिना लाग्ने जनाएको छ ।
निर्वाचन कार्यक्रम अनुसार घटस्थापनाको भोलिपल्ट असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति हुनेछ। असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।
प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने आयोगले जनाएको छ।
असोज २८ गतेदेखि मंसिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ ।
मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति कात्तिक २१ र २२ मा र मतदान केन्द्रमा खटिने अन्य कर्मचारीको नियुक्ति कात्तिक २२ र २३ मा हुने भएको छ । आयोगका अनुसार मंसिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ। मंसिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ। सोही दिन बेलुकाबाटै मतगणना सुरु गर्ने आयोगको तयारी छ ।