काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका प्रत्यक्ष तर्फबा उम्मेरदवारका लागि चुनाव प्रचार जम्म ३९ दिन मात्रै छुट्याइएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा चुनाव प्रचारका लागि ३९ दिनकोे अवधि रहने गरी कार्यतालिका स्वीकृत गरेको छ । आइतबारको आयोग बैठकले ४ मंसिरमा हुने निर्वाचनका लागि ७६ प्रकारका कार्यक्रमसहितको कार्यतालिका स्वीकृत गरेको हो ।
कार्यतालिकाअनुसार प्रत्यक्षतर्फ २३ देखि २६ असोजसम्म उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्मको कार्यतालिका रहेको छ । समानुपातिकतर्फ २ र ३ असोजमा बन्दसूची पेस गर्ने अवधि दिइएको छ । त्यस्तै, १ मंसिर राति १२ बजेबाट मौन अवधि लागू हुने कार्यतालिका छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बैठकबाट आन्तरिक कार्यतालिका स्वीकृत गरिएको र त्यसमा आवश्यकताअनुसार फेरबदलको सम्भावना रहेको बताए । ‘आयोगको बैठकले कार्यतालिका स्वीकृत गरेको छ । कार्यतालिका आन्तरिक प्रयोजनका लागि स्वीकृत भएको हो । कार्यतालिकामा अझै फेरबदल हुन सक्छ,’ उनले नयाँ पत्रिकासँग भने । आयोगले कार्यक्रमअनुसार तय हुने निर्वाचन कार्यक्रम भने क्रमशः राजपत्रमा प्रकाशित हुँदै जाने जनाएको छ ।
१० र २१ मंसिर ०७४ मा दुई चरणमा भएको निर्वाचनमा पहिलो चरणका लागि ५ कात्तिकमा उम्मेदवारको मनोनयन र दोस्रो चरणमा १६ कात्तिकमा मनोनयन गरिएको थियो । त्यस्तै, गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनका लागि ११ र १२ वैशाखमा गरी दुई दिन मनोनयनको कार्यक्रम थियो ।
आयोगको कार्यतालिकाअनुसार प्रत्यक्षतर्फ २५ भदौबाट निर्वाचन कार्यक्रम सञ्चालन, ११ असोजमा निर्वाचन अधिकृतको नियुक्ति, २१ असोजमा निर्वाचन कार्यालय स्थापना, २३ देखि २६ असोजसम्म उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशन, २८ असोजदेखि २७ कात्तिकसम्म मतपत्र छपाइको कार्यसूची छ ।
त्यस्तै, समानुपातिकतर्फ १ भदौमा निर्वाचन कार्यक्रम सञ्चालन, २ र ३ असोजमा बन्दसूची पेस, २० भदौदेखि २६ असोजसम्म मतपत्र छपाइको कार्यतालिका छ । आयोगले २७ कात्तिकबाट मतपत्र ढुवानी गर्ने, १ मंसिरबाट प्रचारप्रसार बन्द गर्ने र ४ मंसिरको बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको तालिका तय गरेको छ ।