काठमाडौं । नेकपा माओवादी केन्द्रले शनिबार २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको छ ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकबाट अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत पारित भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । २१ सदस्यीय पदाधिकारीमा महिला एक जना मात्रै परेकी छन् ।
महासचिवमा देव गुरुङ, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा चयन भएका छन् ।
यस्तै उपमहासचिवमा हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेत रहेका छन् ।
सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्यको नाम पारित भएको छ । यस्तै, कोषाध्यक्षमा केन्द्रीय कार्यालय मुख्यसचिव श्रीराम ढकाललाई बनाइएको छ ।
विशेष महाधिवेशनसम्मका लागि मात्रै पदाधिकारीलाई पूर्णता दिइएको उपाध्यक्ष कृष्णबहादुर महराले बताए । तर विशेष महाधिवेशन कहिले गर्ने भन्नेबारे यकिन नभएको उनको भनाइ छ । महाधिवेशन सकिएपछिको पहिलो केन्द्रीय कमिटीको अपुरो बैठकबाट दाहाल अध्यक्षमा चयन भएका थिए ।
महासचिवका दावेदार रहेका जनार्दन शर्माले भने पदाधिकारी चयनप्रति असन्तुष्टि जनाएका छन् । माओवादीका एक नेताका अनुसार नेता शर्माले आफू यो प्रक्रियामा असहमत रहेको बताएका छन् ।
तर शुक्रबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले प्रस्ताव गरेको नाममा कसैको असहमति भए पनि निर्णय मानेर जाने समझदारी बनेको थियो ।
पार्टीभित्र नेताहरुलाई लडाए, जुधाएर र अन्तिममा सबैको साझा नेताका रुपमा सबैको व्यवस्थापन गरेर ३५ वर्षदेखि निर्विकल्प नेतृत्व गर्दै आएका प्रचण्डले यसपटक पनि आफूलाई अप्ठेरो पर्ने कामबाट सहज पार पाएका छन् । महासचिव पदका प्रमुख दाबेदार वर्षमान पुन र जनार्दन शर्मामध्ये एक छान्नु उनका लागि सहज थिएन, त्यसैले उनले सहज विकल्पमा रुपमा देव गुरुङ निकाले ।
पार्टीमा जनयुद्धकालीन वरिष्ठता र शान्ति प्रक्रियापछिको एकीकरणका धाराहरुसमेत समेटेर उनले २० जना पदाधिकारी छाने । यसो गर्दा वरिष्ठताका आधारमा नारायणकाजी दोस्रो वरियतासहित वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा एकल उपाध्यक्ष भए । उपाध्यक्षमा अरु नेताहरु व्यवस्थापन गर्नुभन्दा उनले महासचिव र उपाध्यक्षका दाबेदारहरुलाई उपमहासचिवमा सेटल गरे ।
यसबीचमा उनले हरिबोल गजुरेल र पम्फा भुसालमध्ये एकजनालाई महासचिव बनाउने योजना पनि सुनाएका थिए । तर एकाएक पछिल्लो पटक उनले महरापछिको वरियतासहित देव गुरुङलाई छाने । यद्यपी वरिष्ठताकै आधारमा हो भने गुरुङभन्दा हरिबोल सिनियर हुन् । उपमहासचिव राखिएकोमा उनी सन्तुष्ट छैनन् ।
महासचिवको दावी गरेका वर्षमान पुन, जनार्दन शर्मा, गिरिरामणी पोखरेल, शक्ति बस्नेत, पम्फा भुसाल, मात्रिका यादव जस्ता नेता उपमहापसचिवमा समेटिँदा स्थायी कमिटीका सिनियर सदस्यबाट छानेर ९ जना सचिव बनाइएको छ ।
सचिवमा उमेर तथा राजनीतिक जीवनका हिसाबले समेत अवकाश भइसकेका दिनानाथ शर्माजस्ता पाका नेतासमेत समेटेर प्रचण्डले ९ जनाको नाम पेश गरेका थिए । चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीलाई सचिव बनाइएको छ ।
कोषाध्यक्ष पदमा भने लो प्रोफाइलका नेता श्रीराम ढकाल चयन भएका छन् । उनी लामो समयदेखि कार्यलय सचिव थिए । चाँडै नै पार्टीको विधान महाधिवेशन आयोजना गर्ने भएकाले अहिलेको पदाधिकारी टिम तदर्थ प्रकारको रहेको पाध्यक्ष कृष्णवहादुर महराले बताए । उनले चुनावलाई केन्द्रित गरेर अस्थायी प्रबन्ध गरिएको बताए ।
प्रचण्डले चलाखीपूर्वक पेश गरेको पदाधिकारी सूचीमा शान्ति प्रक्रियापछि पार्टी एकतामा जोडिएका तत्कालीन एकता केन्द्रका नारायणकाजी श्रेष्ठ, गिरिराजमणी पोखरेल र लिलामणी पोखरेललाई समेटेका छन् । त्यस्तै, नेकपा मसालबाट जोडिएका डिलाराम आचार्य पनि सचिवमा समेटिएका छन् ।
नेकपा संयुक्तबाट पार्टी एकतामा जोडिएका गणेश साह समेत पदाधिकारीमा समेटिँदा जनयुद्धकालीन पृष्ठभूमिका नेताहरुले बाँकी जिम्मेवारी पाएका छन् । नेता व्यवस्थापनका नाममा आउटडेटेड व्यक्तिको भारीभर्कम पदाधिकारी बनाउँदा क्षमतावान युवा पुस्ता छुटेको टिप्पणी भइरहेको छ ।
त्यस्तै २१ सदस्यीय पदाधिकारीमा दलितको प्रतिनिधित्व छैन भने महिला एकजनामात्र छन् ।
माओवादीले बनाएको यो पदाधिकारी टिमलाई चुनाव केन्द्रित भनिएको छ । त्यसैले यो बैठकले सबैको चित्त बुझाउन खोज्दा सोही बमोजिमका नेताको व्यवस्थापन गरिएको छ । बैठकले भदौ ७ गतेसम्म गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउने अनुमान गर्दै त्यसपछि सातै प्रदेशमा सन्देशमूलक भेला तथा प्रशिक्षण सन्चालन गर्ने निर्णय समेत गरेको छ । सोही बैठकले १२५ सदस्यीय पोलिटव्युरो र ४१ सदस्यीय स्थायी कमिटीको टुंगो लगाएको छ ।