काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठकले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुनका लागि विभिन्न मापदण्ड बनाएको छ। पार्टी कार्यालय च्यसलमा बिहीबार सम्पन्न भएको पोलिटब्युरो बैठकमा मापदण्डबारे छलफल भएको एमालेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
उनले लोकप्रियताका आधारमा एमालेले उम्मेदवार छान्ने बताए। उम्मेदवार बन्न जित्न सक्ने सनिश्चितता पनि हुनुपर्ने एमालेले बताएको छ।
पार्टीको सिद्धान्तनिष्ठ, लोकप्रियता, योगदान र समावेशिता मापदण्ड बनेको गुरुङले बताए। एमालेले केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्ने बिहीवार पोलिटब्यरो बैठक बोलाएको थियो। उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। ओलीको प्रतिवेदनमाथि खिमलाल देवकोटा, शान्ता चौधरी, खगराज अधिकारी, कृष्ण कुमार राई लगायतले आफ्नो धारणा राखेका थिए।
समानुपातिकलाई सोही कोटामा नदोहोर्याउन र राष्ट्रियसभाकालाई तल नझार्नेमा एकमत
बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक सांसद रहेकाहरूलाई सोही पदमा दोहोर्याउन नहुनेमा एकमत देखिएको छ । बैठकमा अधिकांश सदस्यले समानुपातिकको अवसर एकपटकभन्दा बढी दिन नहुने राय प्रकट गरेका हुन् ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दिइने उम्मेदवारको मापदण्डाबारे छलफलमा भाग लिएका नेताहरूले समानुपातिकलाई सोही कोटामा दोहोर्याउन नहुने भन्दै प्रत्यक्षमा उम्मेदवार बन्न खुला रहेको बताए ।
त्यस्तै स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरूलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनाउन नहुने मत प्रकट भएको पोलिटब्युरो सदस्य महेश बस्नेतले नेपाल प्रेसलाई बताए । स्थानीय निर्वाचनमा अन्य दलबाट उम्मेदवार बनेर पराजित भएका र अहिले एमालेमा प्रवेश गरेकालाई समेत टिकट दिनेबारेमा पार्टीले मापदण्ड बनाउनुपर्ने बैठकमा उठेको छ ।
राष्ट्रियसभा सदस्यलाई राजीनामा गरेर प्रतिनिधिसभा वा प्रदेशसभा चुनावमा उम्मेदवार बनाउने कुरामा समेत एमालेभित्र असहमति देखिएको छ । स्थानीय चुनावमा कम संख्या जितेका कारण राष्ट्रियसभामा गठबन्धनसँग लडेर जित्ने सम्भावना कम भएकाले अहिले भएका सांसदलाई त्यहिँ राख्नुपर्ने कुरा उठेको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टीको नीति सिद्धान्तमा प्रतिबद्धता रहेको, आन्दोलनमा योगदान दिएको, लोकप्रिय र विजय सुनिश्चित भएको लगायतका मापदण्डहरू राखिएको बताए । बाँकी छलफल भएका मापदण्डबारे केन्द्रीय कमिटीले टुंगो लगाउने उनले बताए ।
पोलिटब्युरोले शुक्रबारबाट सुरू हुने केन्द्रीय कमिटी बैठकका लागि ११ वटा एजेण्डा पारित गरेको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दस्तावेज पेस गर्नेछन् ।