काठमाडौं । एक महिना गृहकार्य गर्दा पनि सिट बाँडफाँडको आधार, मोडालिटी र संख्या पूर्ण रूपमा टुंग्याउन नसकेपछि गठबन्धन कार्यदलले शीर्ष नेतृत्वलाई अधुरो प्रतिवेदन बुझाउँदै छ ।
मिलेका विषय टुंग्याएर नमिलेका विषयमा विकल्पसहित कार्यदलले शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउन लागेको हो । प्रतिवेदन बुझाउनुअघि बिहीबार बिहान कार्यदल बैठक बस्दै छ ।
कार्यदलका एक सदस्यका अनुसार बुधबारसम्म करिब ९० सिटमा सहमति जुटेको छ । अन्य सिटमा कतै दोहोरो त कतै तेहेरो दाबी छ । ‘एक सय ६५ प्रतिनिधिसभा क्षेत्रमध्ये ९० क्षेत्रको बाँडफाँड करिब टुंगिएको छ । करिब १० स्थानमा दोहोरो र करिब १५ स्थानमा तेहेरो दाबी छ । र, बाँकी क्षेत्र कुन क्षेत्र कसले लिने भन्ने टुंगिन सकेको छैन,’ कृष्ण सिटौला संयोजकत्वको सिट बाँडफाँडसम्बन्धी कार्यदलका एक सदस्यले भने ।
सिट संख्या करिब–करिब मिलेको छ । कार्यदलले प्रतिवेदन लेखन सुरु गरेको छ । अन्तिम रूप दिन बिहीबार बिहान पुनः कार्यदल बैठक बस्दै छ । बिहीबार नै शीर्ष तहमा बुझाउँछौँ । नमिलेका केही सिटका लागि शीर्ष तहमा छलफल आवश्यक छ ।
कार्यदल सदस्यहरूले आ–आफ्नो पार्टीमा छलफल गरेर बिहीबार बैठकमा छलफल गर्ने, त्यसपछि सहमति जुटेका सिटसम्म समेटेर प्रतिवेदन बनाउने कार्यदलको तयारी छ । नमिलेका सिट शीर्ष नेतृत्वले टुंग्याउने कार्यदल सदस्यहरूले बताएका छन् । ०७४ र ०७९ को निर्वाचन परिणामलाई आधार मानेर क्षेत्रहरूमा दलहरूका दाबी छन् ।
कांग्रेसबाट कार्यदल सदस्य रहेका नेता ज्ञानेन्द्र कार्कीले केही सिटका लागि शीर्ष तहमा छलफल आवश्यक रहेको पुष्टि गरे । ‘सिट संख्या करिब–करिब मिलेको छ । कार्यदलले प्रतिवेदन लेखन सुरु गरेको छ । अन्तिम रूप दिन बिहीबार बिहान पुनः कार्यदल बैठक बस्दै छ । बिहीबार नै शीर्ष तहमा बुझाउँछौँ । नमिलेका केही सिटका लागि शीर्ष तहमा छलफल आवश्यक छ,’ कार्कीले भने ।
माओवादीबाट कार्यदल सदस्य वर्षमान पुनले कार्यदलले संख्या भन्दा क्षेत्रगत रूपमा टुंगो लगाएको र टुंगिन विषय थाती राखेर प्रतिवेदन बुझाउन लागेको बताए । ‘बिहीबार बिहान बैठकबाट अन्तिम रूप दिएर दिउँसो शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउँछौँ । शीर्ष नेतृत्व र कार्यदलको बैठकमा छलफल हुनेछ,’ उनले भने, ‘कार्यदलबाट टुंगो नलागेका विषय शीर्ष तहमा सहमति खोजिन्छ ।’ शीर्ष नेताहरूले एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेश सभा सिटको अंकगणितको विश्लेषण गरेर प्रतिवेदन बनाउन कार्यदललाई जिम्मा दिएका थिए । सोही आधारमा कार्यदल सदस्यहरू कुल सिटमा भन्दा क्षेत्रमै केन्द्रित भएर छलफल गरिरहेका छन् ।
राष्ट्रिय जनमोर्चाबाट कार्यदल सदस्य रहेका हिमलाल पुरीले छलफल सकारात्मक भएको र बिहीबार बिहान कार्यदलको बैठक बसेर काम सक्ने बताए । दलहरूले सिट संख्याभन्दा बढी दाबी गरेका छन् । ९ भदौको गठबन्धन बैठकमा पहिलोपटक औपचारिक रूपमा दलहरूबाट सिट संख्याको दाबी पेस भएको थियो । एक सय ६५ सिटमा कांग्रेसले सय, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३१ सिट र राष्ट्रिय जनमोर्र्चाले दुई सिटमा दाबी गरेका थिए ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार २ र ३ असोजमा समानुपातिकतर्फको बन्दसूची पेस गर्ने समय छ । जसका लागि दलहरूसँग नौ दिन मात्र समय बाँकी छ । त्यस्तै, २३ देखि २६ असोजसम्ममा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको कार्यतालिका छ ।
२० साउनमा शीर्ष नेताले सिट बाँडफाँडको विषय टुंगो लगाउन कार्यदल गठनको निर्णय गरेका थिए । कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा गठन भएको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल छन् । त्यस्तै, जसपाबाट रामसहायप्रसाद यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् । कार्यदललाई साउन मसान्तभित्रै प्रतिवेदन तयार गर्न प्रारम्भिक निर्देशन दिइएको थियो ।