काठमाडौं । सत्ता गठबन्धनका कार्यदल सदस्यसहित शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ ।
बैठक ३ बजे बस्ने भनिएपनि केही ढिलागरी मात्रै शीर्ष नेता बालुवाटार पुगेका थिए । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।
यसअघि सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँडको टुङ्गो लगाउन बनेको कार्यदलको बैठक पनि बालुवाटार मै बसिररहेको थियो । आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गरि आजको बैठकमा कार्यदलले सिट बाँडफाँडमा भएको सहमतिसहित शीर्ष नेतालाई प्रतिवेदन बुझाउने छन् । सिट बाँडफाँड लगभग टुङ्गिएको र शीर्ष नेतालाई प्रतिवेदन बुझाएपछि सङ्ख्या सार्वजनिक गरिने बताईएको छ । कार्यदलमा केही निर्वाचन क्षेत्रमा विवाद नभए पनि समग्रमा कसलाई कति सिट भन्ने कुरामा दलहरूको दावी अस्वभाविक भएकाले सहमतिमा ढिलाई भएको नेताहरूको भनाइ छ ।
बैठकमा कांग्रेसले एक सय सीट दाबी गरेको छ । तर, ८६ को वरपर कांग्रेसलाई मनाउन सहयात्री दल लागिपरेका छन् । माओवादीले ६० आसपासमा, जसपाले ३२, नेकपा एकीकृत समाजवादीले ३५ देखी ४० को दाबी गरेको थियो । कोही टसमस नभएपछि बिहानैदेखि बसेको कार्यदलमा सहमति बस्न सकेन ।
दुई दिनअघि धनगढी आएका प्रचण्डले नेपाली कांग्रेस ८० सीटमा मान्ने सम्भावना बढेको बताएका थिए । माओवादी ६० वरपर र नेकपा एस २५ सीटलाई आधार बनाएर मिलाउन लागिएको भन्दै उनको भनाइ थियो, ‘कांग्रेस १०० सीट दाबी गरेको थियो ८० को वरिपरि आउने सम्भावना बढ्दो छ । हामीले ६० भनेका छौं केही तलमाथि होला । समाजवादीको २५ वरिपरि होला’
सीट बाँडफाँटको टुंगो लगाउन गत साउनमा बसेको गठबन्धनको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदलमा काँग्रेसबाट महामन्त्री गगन थापा, नेताहरू कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन नेकपा (एस) बाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट कार्यकारिणी सदस्य रामसहायप्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन् ।
हिजो सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आजै बिहान ९ बजे कार्यदलको बैठक बस्ने र सहमति गरेर प्रतिवेदन गठबन्धनलाई दिने बताएका थिए । तर, अहिले सम्म कार्यदल बिचमै सहमति जुट्न सकेको छैन ।