काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले सत्ताका लागि घुँडा टेकेको आरोप लगाएका छन्।
पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले गठबन्धन' मसलुले चलिरहेको बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीको भने ओलीले बचाउ गरेका छन्।
'अनाडी मान्छेहरु बसेर राष्ट्रपतिको मजाक उडाउने। अलोकतान्त्रिक संस्कार अहिलेको गठबन्धनले देखाइरहेको छ। राष्ट्रपतिको अपमान गर्नु महानता हो भनिरहेको छ,' उनले भने। ओलीले एमालेसँग जुध्न आए ठिक नहुने भन्दै चेतावनी पनि दिएका छन्।
'मसलको भाषा बोल्दा बोल्दै एमालेसँग आयो भने मसलको पोलिटिक्स हुन्छ,' ओलीको भनाइ छ।
उनले पाइलै पिच्छे कानुनको उल्लंघन भइरहेको पनि बताए। गठबन्धनसँग बहुमत नभएको भन्दै ओलीले अहिले बहुमत पार्टीको सरकार नभएर 'जोडजाडु मात्रै भएको उनले बताए। आफूले सम्झाएका कुरा नमाने मंसिर ४ गते जनताले गठबन्धनको हिसाबकिताब गर्ने ओलीको चेतावनी थियो।
ओलीले गठबन्धनलाई घुँडा टेक्दा टेक्दा बेहाल अवस्थामा पुगेको बताएका छन्।
'यसो पन्ट तानेर हेर्नुस त उहाँहरुको घुँडा टेक्दा टेक्दा हालत भएको छ। उहाँहरु स्वेच्छाले कुवाभित्र पस्नु भएको छ। त्यहाँबाट निस्कन सक्नु हुन्न। उहाँहरु अस्तित्व रक्षाको पक्षमा हुनुनुहुन्छ,' उनले भने।
यस्तै, नेकपा माओवादी केन्द्र पार्टी नभएर केन्द्र मात्रै भएको ओलीको टिप्पणी थियो।
'माओवादी भनेको पार्टी होइन। नेकपा माओवादी केन्द्र। केन्द्र त २/४ जना भए भइहाल्छ। फ्यामिलि क्लव। फ्यामिलि एण्ड रिलेटिभ क्लबमा परिणत हुने छ। माथि छाता जस्तो तल डण्डा मात्रै छ,' ओलीले भने।