काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनले राष्ट्रको नेतृत्व गर्न नसक्ने दाबी गरेका छन्।
बिहीबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतामा राष्ट्र निर्माणको आशा र भरोसाको रुपमा एमाले पार्टी मात्रै बताएका हुन्।
उनले गणतन्त्र र संविधानमाथि गठबन्धनले प्रहार गरेको आरोप लगाए। पोखरेलले नागरिकताको संवेदनशील विषयमा राष्ट्रपतिको सन्देशलाई संसदभित्र नभई संसदबाहिरबाट उपेक्षा गरेर पाँच दलीय गठबन्धनले गणतन्त्रमाथि प्रहार गरेको धारणा राखे। उनले आजको बहसको विषय अंगिकृत नागरिकता भएको स्पष्ट पारे।
‘हाम्रा नेपाली चेलीहरू विवाह भएर भारत जाँदा नागरिकता प्राप्त गर्नका लागि जति समय लाग्छ, त्यति समयको प्रतीक्षा बाहिरबाट आउनेहरुले गर्न तयार हुनुपर्छ। यात हाम्रो चेलीहरूको हकबारेमा बोल्न सक्नुपर्यो पाँच दलीय गठबन्धनले।’ पोखरेलले भने, चेलीहरूको हकबारे बोल्न नसक्ने पाँचदलीय गठबन्धन बाहिरबाट आएकाहरूसँग उदार हुनुपर्छ भन्ने मान्यता राख्ने गर्छ। म पाँच दलीय गठबन्धनलाई सोध्न चाहन्छु, विवाहकोलगत्तै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कहाँ छ ? पाँच दलीय गठबन्धनले बताओस्।’
उनले एमाले समान अधिकार, समान व्यवस्था र नेपाली चेलीको हकको विषयमा अडान राखेको बताए। पोखरेलले अध्यादेशमार्फत जन्मसिद्धका सन्तानको हक स्थापित गर्न खोज्दा अहिलेको सत्ता गठबन्धनले अदालतबाट रोकेको स्पष्ट पारे। नेपाली नागरिकहरुले नागरिकताको अधिकार पाउनुपर्छ भन्ने एमालेको मान्यता भएको उनले बताए।
उनले मुलुकको गुमेको भूभागलाई समेटेर नेपालको नयाँ नक्सा प्रकाशन गर्ने कामको नेतृत्व केपी शर्मा ओलीले गरेको स्मरण गराए। एमालेले लिएको अडानका कारण देशभक्त शक्ति एमाले केन्द्रीत हुन लागेको उनको भनाई छ। उनले एमालेको विजय अभियान रोक्न गठबन्धनले अनेक प्रकारका षड्यन्त्र गरिरहेको दाबी गरे।