काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि ठूला पार्टीभित्र उम्मेदवार बन्न हानथाप भइरहेको छ। आफूलाई सुरक्षित गर्नका लागि ठूला दलका नेताहरु टिकट पर्खिरहेका छन्।
उम्मेदवारकै विषयमा विवाद चर्किएपछि नेपाली कांग्रेसमा त एक पक्षले आन्दोलन नै घोषणा गरेको छ। समानुपातिक बन्दसूचीमा सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै सच्याउन माग राखेर डा शेखर कोइराला पक्षले आन्दोलनको घोषणा गरिसकेको छ।
ठूला दलभित्र टिकटका लागि हानथाप भइरहँदा साना दललाई भने उम्मेदवार पाउनै मुस्किल देखिएको छ। साना दललाई निर्वाचनमा भाग लिनका लागि सबै क्षेत्रमा उम्मेदवार पाउने स्थिति देखिँदैन।
नेपाली कांग्रेसबाट टुक्रिएर बनेको नेपाली कांग्रेस ९बीपी०ले त देशैभर उम्मेदवार नपाउने भएपछि प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवार बन्न आह्वान गरेको छ। पार्टीले एक विज्ञप्ति जारी गर्दै दुवै तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुक केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यका साथै अन्य दल वा समूहलाई पनि असोज १८ गतेभित्र पार्टी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
बीपी कांग्रेस पार्टीका महामन्त्री देवेन्द्र प्रकाश पौडेलले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘अहिले हामी समानुपातिक सूचीको लिस्टको अन्तिममा छौं। प्रत्यक्षका उम्मेदवार खोज्नुपर्यो। पार्टीको आन्तरिक बैठकमा छलफल हुन्छ। प्रत्यक्ष लड्दा खर्चिलो हुन्छ। ७७ वटै जिल्लामा हाम्रो पार्टीको संगठन छैन। अहिले हामी ६० जिल्लामा मात्र छौं। १७ जिल्लामा खाली छ। उम्मेदवार बन्न इच्छुकका लागि सम्पर्क गर्न सूचना निकालिएको हो।’
महामन्त्री पौडेलले करुवा चिह्नबाट चुनाव लड्नेलाई उम्मेदवार बनाउन पार्टी तयार भएको बताए। उनले करुवा चिह्न लिएर स्वतन्त्रसमेत लड्न पाउने जानकारी दिए। पार्टीको समानुपातिक भोट आउने दाबी गर्दै विगतमा एमालेको चुनाव चिह्नबाट हृदयेश त्रिपाठी, कमल थापासमेत चुनाव लडेको तर्क गरे।
नेपाली कांग्रेस (बीपी) मा मात्रै होइन, कैयौँ अन्य पार्टीलाई समेत सबैतिर उम्मेदवार उठाउन सकस छ। त्यसैले त्यस्ता पार्टीले आफ्नो सीमित प्रभाव क्षेत्रमा मात्रै उम्मेदवार उठाउने गरेका छन्।
कांग्रेसमा किचलो चरम उत्कर्षमा
सत्तारुढ दल नेपाली कांग्रेसमा समानुपातिक उम्मेदवारको विषयलाई लिएर किचलो उत्पन्न भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधि सभा समानुपातिक उम्मेदवारहरुको सूची एक पक्षीय रुपमा पठाएको भन्दै संस्थापन इतर पक्ष चिढिएको हो। तत्काल उम्मेदवारहरुको बन्दसूची नसच्याएमा विद्रोह गर्ने संस्थापन इतर पक्षले निर्णय नै गरिसकेको छ।
सोमबार ठमेलस्थित एक होटलमा शेखर समूहको बैठक बसी समानुपातिक उम्मेदवार चयनमा एकलौटी गर्ने प्रयास गरेको भन्दै विरोधका कार्यक्रम तय गरेको हो। निर्वाचन आयोगले नेपाली कांग्रेसलाई १३ र १४ गते समानुपातिकको सूची सच्चाउने समय दिएको सुनेकाले उक्त मितिसम्म सभापतिलाई सूची सच्चाउन समय दिने, तर नसच्चिएमा कठोर निर्णय लिने निर्णय गरेको सो पक्षका नेता जगदीशनरसिंह केसीले बताए। केसीका अनुसार १२ गते १२ बजे पार्टी कार्यालयमा शान्तिपूर्ण धर्ना र १३ गते विरोध स्वरुप चियापान कार्यक्रम गर्ने निर्णय भेलाले गरेको छ।
देउवाले आफ्ना गुटका मानिसहरुलाई सूचीको सुरुमा राखेको र कोइराला पक्षका नेताहरुलाई पछाडि राखेको उनीहरुको आरोप छ। प्रत्यक्षतर्फ पनि देउवाले पेल्ने तयारी गरेको भन्दै आन्दोलनमा जाने शेखर पक्षले जनाएको छ।
माओवादीमा असन्तुष्टि चुलिँदै
सत्ता गठबन्धनको अर्को ठूलो दल नेकपा माओवादी केन्द्रमा पनि उम्मेदवारको विषयलाई लिएर आन्तरिक द्वन्द्व देखा परेको छ। पार्टीका नेताहरुलाई टिकट पाउन आश्वस्त तुल्याउन नसक्दा विद्रोहको स्थिति देखापरेको छ। पार्टी अध्यक्ष प्रचण्डकै गृहजिल्ला चितवनमा पाँचपटक पार्टीको जिल्ला अध्यक्ष भएका यमलाल विश्वकर्मा एमालेमा प्रवेश गरे। पार्टीमा नातावाद, कृपावाद भएको भन्दै उनी एमाले प्रवेश गरेका हुन्।
त्यसैगरी आइतबार मात्रै धनकुटामा माओवादीका केन्द्रीय नेता, पोलिटब्यूरो, प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सम्पूर्ण पदाधिकारीले विद्रोह गर्दै सामूहिक राजीनामा नै दिए। सामूहिक राजीनामासँगै हेमराज भण्डारीको नेतृत्वमा स्वतन्त्र अभियानलाई अगाडि बढाउने निर्णय समेत गरे। निर्वाचनकै मुखमा आएर पार्टी नै विलिन गर्ने गरी भएको विद्रोहबारे पार्टीपंक्ति भने मौन देखिएको छ।
समाजवादी पार्टी छोड्दै नेता कार्यकर्ताहरु
सत्तारुढ अर्को दल नेकपा एकीकृत समाजवादी पार्टीमा समेत नेता कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरेका छन्। कतिपयले पार्टी परित्याग गरिरहेका छन्। सोमबार मात्रै नेकपा समाजवादी पार्टी अछामका जिल्ला अध्यक्ष हिरण्ड भट्टराई लगायतको १७५ जनाको सिंगो टिम एमालेमै समाहित भएको छ। पार्टीभित्रको प्रवृत्ति ठीक नभएको भन्दै नेताहरु एमालेमै पनि फर्किरहेका छन्।
एमालेभित्र अन्यौल
तत्कालीन अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरेर अघि बढेका एमालेका ‘१० भाइ’ अन्तर्गतका कतिपय नेताहरुले टिकट पाउने वा नपाउने अन्यौल छ। ओली प्रधानमन्त्री हुँदा गरिएको संसद् विघटनको आलोचना गरेका नेताहरुलाई आत्मालोचनापछि मात्रै टिकट दिने तयारी भइरहेको समाचार सार्वजनिक नै भइसकेको छ। कतिपय नेताहरु उम्मेदवारमा एकल सिफारिस हुन नसकेका कारण पनि त्यो अन्यौल झन् बलियो बनेको हो।
त्यस्तै, पछिल्लो समय विभिन्न पार्टीहरु परित्याग गरि एमाले भित्र्याइएका नेताहरुलाई टिकटको आश्वासन दिएको बताइन्छ। त्यसले गर्दा सम्बन्धित क्षेत्रमा एमालेमा रहेका नेताहरुले असन्तुष्टि जनाउने गरेका छन्।
त्यसैगरी जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नेता कार्यकर्ताहरु समेत पार्टी परित्याग गरिरहेका छन्।