काठमाडौं । मङ्सिर ४ मा हुने प्रदेश, प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल समाजवादी पार्टी नेसपाले घोषणा पत्र सार्वजनिक गरेको छ ।
संविधान संशोधन, आर्थिक, सामाजिक, परराष्ट्र, कृषि, रोजगार लगायतका विषय समेट्दै पार्टीले घोषणा पत्र सार्वजनिक गरेको हो । घोषणा पत्रमा राष्ट्रपति र प्रदेश प्रमुखमा निर्वाचित व्यक्ति दुई कार्यकालभन्दा बढी रहन नसक्ने व्यवस्था गर्ने, राज्य पुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा प्रदेशहरूको पुनर्संरचना गर्ने, स्थानीय तहहरूलाई बलियो र अधिकार सम्पन्न गर्ने उल्लेख छ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र महिन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर चुनावी मैदानमा छ ।
यसगरी सत्तारुढ दल नेपाली काँग्रेसको सङ्कल्प पत्र भोली मात्रै सार्वजनिक हुने भएको छ । प्रदेश, प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै काँग्रेसले आज बेलुकी ५ बजे सङ्कल्प पत्र सार्वजनिक गर्ने तय गरेको थियो । तर नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ती जारी गर्दै भोलि बिहान १०ः३० बजे सङ्कल्प पत्र सार्वजनिक गर्ने जानकारी दिए ।
नेकपा माओवादी केन्द्रले तिहारपछि मात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
घोषणापत्र हाल पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डकोमा पुगेको घोषणापत्र सुझावका लागि पदाधिकारीकामा पठाउने तयारी भइरहेको छ । पदाधिकारीबाट प्राप्त सुझावका आधारमा परिमार्जन गरी घोषणा पत्रलाई अन्तिम रुप लिने नेकपा माओवादी केन्द्रले जनाएको छ ।