काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गत साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि समय निर्धारण गरेको थियो।
जस अनुसार ८४ वटा दल निर्वाचन प्रयोजनका लागि दर्ता भएका थिए। निर्वाचन कार्यक्रमअनुसार, असोज २ र ३ गते समानुपातिकतर्फको बन्दसूची बुझाइएको थियो। असोज २३ गतेलाई प्रत्यक्षतर्फको मनोनयन दर्ता गरिएको थियो। अहिले निर्वाचनमा भाग लिने सम्पूर्ण पार्टी र उम्मेदवारको टुंगो लागिसकेको छ।
निर्वाचन आयोगमा विभिन्न समयमा दर्ता भएता पनि कैयौँ दलले निर्वाचनमा भाग लिँदैनन्। त्यसका लागि निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराउँदैनन्। निर्वाचन प्रक्रिया र यसभित्रका विविध पक्षबारे अनुसन्धान गरेका कतिपयले कैयौँ दल त अन्य दलसँग बार्गेनिङका लागि दर्ता गरिने गरिने बताउँछन्। निर्वाचनमा आफ्नो पनि उम्मेदवारी दर्ता गराउने, तर अन्य दलसँग बार्गेनिङ गरेर आफ्नो हित सुनिश्चित गरेर उम्मेदवारी नै फिर्ता लिने उनीहरुको भनाइ पाइन्छ।
विभिन्न राजनीतिक मुद्दा, घटनाक्रम तथा सन्दर्भअनुसार राजनीतिक दलहरुले प्रतिक्रिया व्यक्त गर्ने गर्छन्। आफ्ना पार्टीका नीति तथा सिद्धान्तहरु सार्वजनिक गर्छन् र आम बहसमा लैजान्छन्। तर कैयौँ दलहरु कहिल्यै देखिँदैनन्। उनीहरुको गतिविधि पनि शून्यप्रायः हुन्छ। यसरी अरु बेला आफ्ना गतिविधिका कारण चर्चामा नरहेका वा पार्टीहरु पनि निर्वाचनमा भाग लिइरहेका हुन्छन्।
फरकफरक पार्टीबीच निर्वाचन हुने भएकाले फरकफरक नाम हुनु स्वभाविक भइहाल्यो। तर, कतिपय त अनौठा नामका पनि हुन्छन्। अनौठा यसकारण कि, ती नियमित प्रयोगमा आउँदैनन् वा नाममै अनौठा र खासै प्रयोगमा नआउने शब्द प्रयोग गरिएका हुन्छन्। मूलधारका पार्टीको नामको जुन शब्दशैली छ, त्यसभन्दा पनि अलग हुन्छन्। आफ्नो नामलाई आमरुपमा परिचित गराउन पनि उनीहरुको भूमिका देखिँदैन। यहाँ पछिल्ला निर्वाचनमा भाग लिएका यस्तै नामहरुको चर्चा गरिन्छ।
यसपटकको प्रतिनिधि सभा निर्वाचनको बन्दसूची बुझाउने ४८ वटा र प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्ने दलमध्ये केही नामहरु अनौठा र रोचक छन्। जस्तै, नेपाल आमा पार्टी, मौलिक जरोकिलो पार्टी, आमुल परिवर्तन मसिहा पार्टी, पीछडावर्ग निषाद दलित जनजाति पार्टी, मितेरी पार्टी नेपाल, इतिहासिक प्रजातान्त्रिक पार्टी, नेपालवाद,। पार्टीको नाममै स्वतन्त्र राख्ने प्रचलन पनि यसपटक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी भर्खरै दर्ता भएर निर्वाचनमा भाग लिन लागेको हो।
पहिचानको आन्दोलन अघि बढेसँगै विभिन्न समुदाय केन्द्रित भएर पनि पार्टीको नाम राख्न थालिएको छ। जस्तै, नेपाल दलित पार्टी, पीछडावर्ग दलित जनजाति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, किरात खम्बुवान पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), तामाङसालिङ लोकतान्त्रिक पार्टी। यीमध्ये केही दल प्रतिनिधि सभा र केही फरक–फरक प्रदेश सभा निर्वाचनमा भाग लिँदैछन्। दोस्रो संविधान सभाको निर्वाचनमा यसरी पहिचान झल्काउने नामहरु अझै धेरै थिए।
अन्तर्राष्ट्रिय सिद्धान्त र विचारलाई पार्टीको नामसँग जोड्ने क्रम पुरानै हो। चल्तीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र, नेकपा माले जस्ता पार्टीका नाममा त्यसैगरी विश्वव्यापी रुपमा फैलिएका विचार वा व्यक्तिको नाम जोडिन्छ। तर दक्षिण देश भारतका नेतासँग नाम मिलाएर पार्टी गठन गर्ने प्रचलन खासै छैन। यसपटकको निर्वाचनमा भने गान्धीवादी पार्टी नेपालले पनि भाग लिँदैछ।
नेपालकै नेताको नाम पनि पार्टीको नामसँग जोडेको पाइन्छ, अहिले। जस्तै, नेपाली कांग्रेस (बीपी), नेपाल मार्क्सवादी (पुष्पलाल)। बीपी प्रजातान्त्रिक धारका अग्रणी नेता हुन् भने पुष्पलाल कम्युनिस्ट धारका। दुवै नेताको निधन भइसकेको छ। रोचकचाहिँ ती नेता तत्कालीन समयमा आबद्ध भएको मूल शक्तिले नभइ अरुले उनीहरुको नाम राखेको पाइन्छ।
धेरैजसो पार्टीहरुले आफ्नो नाममा राखेको साझा शब्द हो, नेपाल कम्युनिस्ट पार्टी वा नेकपा, समाजवादी, नेपाल। कम्युनिस्ट पार्टीहरुले आफ्नो नाममा कुनै न कुनै किसिमले कम्युनिस्ट शब्द प्रयोग गर्ने गरेका छन्। अर्कोतिर, समाजवादी शब्द त झन् साझा प्रयोग गरिने शब्द जस्तो भएका छन्।
नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेकपा एमाले, नेकपा परिवर्तन, नेकपा माले, नेकपा माओवादी केन्द्र, नेकपा माओवादी समाजवादी जस्ता कम्युनिस्ट नाम राखिएका पार्टीहरुले निर्वाचनमा भाग लिँदैछन्। नाममै कम्युनिस्ट नराखिएता पनि कम्युनिस्ट भनिने दलहरु नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा जस्ता पार्टी पनि निर्वाचनमा भाग लिँदैछन्।
समाजवादी नामका पार्टी पनि प्रशस्तै छन्। लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी), नेकपा समाजवादी, नेपाल संघीय समाजवादी जस्ता पार्टीकै नाममा समाजवादी शब्द जोडिएका छन्। अझ एउटा पार्टीको नाममा समाजवादको अघिल्तिर जन पनि थपिएको छ( जनसमाजवादी पार्टी।
पार्टीका कतिपय नाममा तत्कालीन सन्दर्भ वा चर्चाको विषयले प्रभाव पनि प्रभाव पारेको जस्तो देखिन्छ। जस्तै, अहिलेको संविधानको लक्ष्य नै समाजवाद हो। त्यसैले पार्टीहरुले समाजवादी शब्दलाई प्रयोग गरेका हुनसक्छन्। जस्तो कि, यसअघि संघीयताको चर्चा हुँदा त्यसलाई नरुचाउने कतिपयले त्यसको ‘काउन्टर’ झल्किने गरी पार्टीको नाममा अखण्ड जोडेको पाइन्थ्यो। त्यसै क्रममा अखण्ड नेपाल पार्टी, अखण्ड सुदूरपश्चिम नेपाल जस्ता नामका पार्टी खुलेका थिए।