सिमकोट । शान्ति प्रक्रियामा आएपछि माओवादीले पहिलो पटक ०६४ को संविधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरेको थियो ।
प्रत्यक्षतर्फ २४० मध्ये आधा अर्थात् १२० वटामा जित निकालेको माओवादीले त्यसको ६ वर्षपछि भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने उक्त जितको एक चौथाइ पनि जोगाउन सकेन । ०७० को निर्वाचनमा २६ सिट (करिब ११ प्रतिशत) मा खुम्चियो । त्यसपछि माओवादीले संसदीय निर्वाचनमा पार्टीको अस्तित्व बचाउने उपायका रूपमा गठबन्धन संस्कृतिलाई अंगाल्ने नीति लिएको देखिन्छ ।
०७४ मा एमालेसँगको गठबन्धनबाट माओवादीले १६५ सिटमध्ये ३६ वटामा जित निकालेको थियो । हुम्लाबाट स्वतन्त्र रूपमा जितेका छक्कबहादुर लामा प्रवेश गरेपछि माओवादीको प्रत्यक्षतर्फको सिट संख्या ३७ पुगेको थियो । चुनावपछि भएको एमालेसँगको एकीकरण नटिकेपछि माओवादीले यस पटक कांग्रेस, एकीकृत समाजवादी र जनमोर्चासँग गठबन्धन गरेको थियो तर उसले ५ वर्षअघिको भन्दा आधा अर्थात् १७ सिटमा मात्रै जित निकाल्न सक्यो ।
माओवादीले जितेका यी १७ क्षेत्र हेर्दा कांग्रेस र एमालेको भन्दा फरक तस्बिर देखिन्छ । माओवादीले जितेका १४ ९भोजपुर, मोरङ–४, सिन्धुली–२, नुवाकोट–१, काभ्रे–१, सिन्धुपाल्चोक–१, बागलुङ–२, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, दाङ–२, हुम्ला, कालीकोट र जाजरकोट० वटा पुरानै क्षेत्र हुन् । यस पटक माओवादीले तीनवटा नयाँ क्षेत्र (गोरखा–२, सर्लाही–२ र खोटाङ) जितेको छ । जसमा गोरखा–२ कांग्रेसको समर्थनमा तत्कालीन नयाँ शक्ति पार्टीबाट बाबुराम भट्टराईले जितेको क्षेत्र हो भने सर्लाही–२ तत्कालीन राजपाका उम्मेदवार महिन्द्र राय यादवले जितेको क्षेत्र हो ।
अहिले भट्टराई र यादव दुवै आबद्ध नेपाल समाजवादी पार्टीले माओवादीसँग एकीकरण गर्ने प्रक्रिया सुरु गरेको छ । भट्टराईले छाडेपछि गोरखा–२ मा माओवादी अध्यक्ष पुष्पकमल दाहालले जितेका छन् भने सर्लाही–२ मा माओवादीकै चुनाव चिह्नबाट यादवले नै जितेका छन् । माओवादीले यो निर्वाचनमा विस्तार गरेको नयाँ क्षेत्र खोटाङ मात्रै हो, जहाँ कांग्रेसको समर्थनमा माओवादीका रामकुमार राईले एमालेका विशाल भट्टराईलाई करिब २६ सय मतान्तरले हराए । माओवादीले अघिल्लो निर्वाचनमा ३६ क्षेत्र जित्दा १ हजारभन्दा कम मतान्तरले जितेको केबल एउटा क्षेत्र (कपिलवस्तु–१) थियो । त्यहाँ एमालेको समर्थनमा माओवादीका चक्रपाणि खनालले कांग्रेसका दीपकुमार उपाध्यायलाई हराएका थिए । अहिले कांग्रेसको समर्थनमा खडा भएका खनाललाई एमालेका बलराम अधिकारीले १५ हजारभन्दा बढी मतान्तरले हराएका छन् ।
माओवादीले ०७४ मा १ हजारभन्दा बढी तर ५ हजारभन्दा कम मतान्तरले जितेका ११ क्षेत्र थिए । तीमध्ये अहिले एमालेले ३ (सोलुखुम्बु, महोत्तरी–१ र बाँके–१), कांग्रेसले २ (झापा–१ र गोरखा–१), जसपाले १ (सिरहा–२), नागरिक उन्मुक्ति पार्टीले १ (कैलाली–३) र राष्ट्रिय स्वतन्त्र पार्टीले १ (ललितपुर–३) क्षेत्र जितेका छन् । मोरङ–५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने माओवादीले केवल दुई क्षेत्र (काभ्रे–१ र कालीकोट) जोगाउन सकेको छ ।
माओवादीले (७४ मा जितेकामध्ये अहिले २३ वटा क्षेत्र गुमाएको छ । तीमध्ये एमालेले ९, कांग्रेसले ४, राप्रपाले २, स्वतन्त्रले ३, जसपाले २ र राष्ट्रिय स्वतन्त्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले एकरएक वटा फुत्काएका छन् ।