काठमाडौं । गएको मंसिर गते दिनअघि भएको प्रतिनिधि सभाको प्रत्यक्ष चुनावबाट कम सङ्ख्यामा महिला निर्वाचित भएपछि राजनीतिक दलहरूले समानुपातिक प्रणालीबाट धेरै महिला सांसद छनोट गर्नुपर्ने भएको छ ।
नेपालको संविधानले संसदमा कम्तिमा ३३ प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरेको छ । तर प्रतिधिसभाको निर्वाचनमा दुई सय २५ जना महिला उम्मेदवार प्रतिस्पर्धामा उत्रिएकामा हालसम्म ८ जना मात्रै निर्वाचित भएका छन् । यो कुल विजयी उम्मेद्वारको ६ प्रतिशत मात्रै हो । एक सय ४४ क्षेत्रमा प्रतिस्पर्धा गरेको नेकपा एमालेले ११ क्षेत्रमा महिलालाई उम्मेदवार बनाएको थियो ।
तीमध्ये तीनजना निर्वाचित भए । नेपाली काँग्रेसले पाँच स्थानमा महिलालाई उम्मेद्वार बनाएकोमा तेह्रथुमबाट सीता गुरूङ मात्रै निर्वाचित हुनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट २, नेकपा माओवादी केन्द्रबाट १ र जनमत पार्टीका १ महिला सांसद निर्वाचित भएका छन् । तर संविधानले ३३ प्रतिशतको महिला सहभागिता सुनिश्चित गरेकाले दलहरूले समानुपातिकतर्फ सिफारिस गरेका महिलामध्येबाट कम्तिमा ८३ जना चयन गर्नुपर्छ ।
प्रत्यक्ष निर्वाचनमा महिलाको सहभागिता घटाएका कारण दलहरूले समानुपातिकबाट छनोट गर्दा महिलालाई प्राथमिकता दिनुपर्ने अवस्था आएको एमाले नेता विन्दा पाण्डे बताउनु हुन्छ । पहिलो संविधानसभामा प्रत्यक्षतर्फ ३० जना महिला सांसद निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ निर्वाचित महिला सांसदको सङ्ख्या १० मा झ¥यो ।
२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा जम्मा ६ जना महिला प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । पछिल्लो समय महिला उम्म्दवारको सङ्ख्या केही बढेको देखिन्छ तर निर्वाचित हुने सङ्ख्या भने कम हुँदै गएको छ । अहिलेसम्मको निर्वाचनको परिणामलाई केलाउँदा अब बन्ने संसदमा नेपाली काँगेसको समानुपातिकसमेत गरेर लगभग ८६ सिट हुने देखिन्छ ।
जसमा ३३ प्रतिशत महिला सांसदको प्रंतिनिधित्व सुनिश्चित गर्न समानुपातिकबाट कम्तिमा ३० जना महिलालाई सिफारिस गर्नुपर्ने हुन्छ । एमालेले कम्तिमा २६ जना, नेकपा माओवादीले १० जना महिला, राष्ट्रिय स्वतन्त्र पार्टीले ६ जना र राप्रपाले कम्तिमा ५ जना महिला सांसद चयन गर्नुपर्ने देखिन्छ ।