काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयताको सफल कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । उनले तीनवटै तहलाई सङ्घीयता कार्यान्वयनका लागि एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गर्नुभएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशको अबको प्राथमिकता स्थानीय सरकारको सवलीकरण गर्दै जनतामा सुशासन र विकासको अनुभूति गराउनु रहेको बताए ।
संविधानको साझा अधिकारको रुपमा रहेको केही द्विविधाहरू, अस्पष्टताहरूलाई थप स्पष्ट पार्दै संघीयताको सफल कार्यान्वयनका लागि अघि बढ्न हामी सबै एकजुट हुन आवश्यक छ, उनले भने ।
प्रधानमन्त्री देउवाले देशभरका स्थानीय तहका जनप्रतिनिधिलाई जनसेवाको कामलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सार्वजनिक सुनुवाइ, जनभेला, जनसहभागिता, घरदैलो सेवा, हेलो सरकार लगायतका सबै सार्वजनिक सेवाहरूलाई प्रभावकारी रुपमा सबै तहमा लागू गर्न पनि आग्रह गरे । उनले भ्रष्टाचार शून्य नीति लिएर अघि बढ्न पनि स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह पनि गरे ।
स्थानीय तहले संरचनात्मक सुधार, सेवा प्रवाहका लागि नवीन प्रविधिको उपयोग गरी सेवाग्राही केन्द्रित योजना बनाई अगाडि बढेमा सुशासनलाई स्थानीय तहमा संस्थागत गर्न सकिने उहाँको भनाइ छ ।