काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो।
पहिला प्रधानमन्त्री को बन्ने भन्नेबारमा विवाद नमिलेपछि गठबन्धनको बैठक निर्णय बिहीन भएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले दाबी गरेका छन्। आज बालुवाटारमा बसेको बैठकमा देउवा, प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का, बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको सहभागीता रहेको थियो।
यसअघि शुक्रवार र शनिवार पनि निरन्तर छलफल भए पनि गठबन्धनमा सहमति हुन नसकेको हो।
प्रचण्ड बालकोट
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पावर शेयरिङमा कुरा नमिलेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोटतर्फ लागेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जानकारी दिएर प्रचण्ड बालकोटतर्फ हिँडेका हुन् । केहीबेरमा दुईनेताबीच भेटघाट हुने तय भएको छ ।
माओवादीले आलोपालोपालोमा पहिलो चरणको प्रधानमन्त्री दाबी गर्दै आएको थियो । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नसकिने बताएपछि सत्तागठबन्धन भत्किने दिशामा अघि बढेको छ ।
हिजोमात्र ओलीले प्रचण्ड प्रधानमन्त्री बन्न ढिलाई गरेको बताएका थिए ।