काठमाडौं । नायँ समिकरणाका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा चार दलकाे बैठक सुरु भएको छ ।
एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल सुरु भएको हो ।
नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादी सत्ता गठबन्धनको वार्ता छाडेर एमालेसँग छलफलमा बसेको हो । रास्वपा र जसपा पनि थपिएपछि चार दलसँग सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ ।
एमालेसँग ७६, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २० र जसपासँग १२ जना सांसद छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिन्छ ।
अशोक राई वेटिङमा
सत्ता राजनीतिको केन्द्र बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न शीर्ष नेताहरूको ओहोरदोहोर बाक्लिएको छ । सत्ता गठबन्धन विघटनको नजिक पुगेका बेला ओलीलाई भेट्न गठबन्धनबाहिरका दलका नेताहरू बालकोट पुगेका हुन् ।
बालकोट जान हिडेका प्रचण्ड खुमलटार मोडिए पनि उनी खाना खाएर ओलीलाई भेट्न बालकोट पुगेका छन् । यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ओलीसँग भेटेर बाहिरिएका थिए ।
लिङदेनलगत्तै रास्वपाका अध्यक्ष रवि लामिछानेले ओलीलाई भेटेका छन् । लामिछाने ओलीसँग वार्तामा रहदा जसपा नेता अशोक राई बालकोट पुगेर ओलीलाई भेट्ने प्रतीक्षारत रहेका छन् ।
सत्ता गठबन्धनबाट प्रचण्डले प्रधानमन्त्री नपाउने भएपछि उनी बालुवाटारबाट बाहिरिएका थिए । अब गठबन्धन टुटेको जानकारी उनले गराएका छन् । ओलीले सबैसँग छलफलपछि यदि प्रचण्ड पुनः बालुवाटार नफर्किए सत्ता गठबन्धन इतरको बहुमत पुर्याएर राष्ट्रपतिसमक्ष प्रधानमन्त्री दाबी गर्ने सम्भावना रहेको बताएको छ ।