काठमाडौं । आइतबार मध्याह्नपछि नेपालको राजनीतिमा अनपेक्षित रुपमा नयाँ घटनाक्रमहरुको विकास भयो। जसले अनपेक्षित समीकरण बन्यो। तर यो गठबन्धन बन्ने पूर्वआभास नभएको भने हैन। एमाले नेतृत्वमा बनेको गठबन्धनले सत्ता बाँडफाँटको केन्द्रमा रहेको प्रधानमन्त्री पद माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएपछि नयाँ राजनीतिक समीकरण बन्यो।
प्रधानमन्त्री टुङ्ग्याइएसँगै संघ र ७ वटा प्रदेशका करिब ३ दर्जन महत्त्वपूर्ण पदहरुको बाँडफाँटमा आगामी छलफलहरु केन्द्रित हुने देखिन्छ।
आइतबार बनेको सत्ता गठबन्धनमा एमाले, मोओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्।
शक्ति बाँडफाँटको केन्द्रमा रहेको प्रधानमन्त्री पद टुङ्गिएसँगै अब यो गठबन्धनले राष्ट्रपति, सभामुख, उपसभामुख, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष, ७ प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु गरी १४ जना, प्रदेश सभाका सभामुख र उपसभामुख सहित १४ जना लगायत करिब ३ दर्जन पदहरुको बाँडफाँड टुङ्ग्याउनुपर्ने छ।
नयाँ बनेको सत्ता गठबन्धनभित्र राष्ट्रपति र सभामुख पद गठबन्धनको ठूलो दल एमालेले लिने सहमति भएको नेताहरुले बताएका छन्। अब उपराष्ट्रपति, उपसभामुख, राष्ट्रिय सभाको उपाध्यक्ष लगायत अन्य पदहरुको बाँडफाँटमा दलहरुको रस्सकस्सी हुने देखिन्छ।
संघमा बन्ने सरकारको स्वरुपसँगै प्रदेशमा पनि यहि गठबन्धनबाटै सरकार बन्ने निश्चित छ। प्रदेशहरुको संसदीय अङ्कलाई हेर्ने हो भने माओवादी केन्द्रले कम्तीमा २ प्रदेशको नेतृत्व गर्ने देखिन्छ भने बाँकी ५ वटा प्रदेशको नेतृत्व एमालेले गर्ने देखिन्छ।
प्रदेश १ एमाले ठूलो दल, नेतृत्व पनि एमालेकै
यो प्रदेशमा एमाले–माओवादी केन्द्र गठबन्धन दुई तिहाइ नजिकको बहुमतमा छ। ९३ सदस्य रहको प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ। यो प्रदेशमा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ सांसद सहित करिब दुई तिहाइ नजिकको सरकार बन्ने अवस्था छ।
एमालेको नेतृत्वमा सरकार बने यो प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्नेछन्। कार्की आइतबार मात्रै संसदीय दलको नेतामा चयन भएका छन्।
मधेस प्रदेशमा एमाले–माओवादी–जसपा गठबन्धन बहुमतमा सरकारको दावीमा एमाले–जसपा
१०७ सांसद रहेको मधेस प्रदेशमा सरकार बन्न ५४ सांसद संख्या आवश्यक रहन्छ। यो प्रदेशमा एमालेका २३, माओवादी केन्द्रका ८, राप्रपाका १, जसपाका १६, जनमत पार्टीका १३, नागरिक उन्मुक्तिका १ सांसद सहित ६२ सांसद रहेको बहुमतको सरकार बन्ने भएको छ। यो प्रदेशको मुख्यमन्त्रीमा एमाले र जसपाको दाबी हुनसक्छ। संसदीय दलको नेता टुङ्गिनसकेकोले मुख्यमन्त्री को बन्छ भन्ने स्पष्ट छैन।
बागमती प्रदेशमा एमाले–माओवादी–राप्रपा सुविधाजनक बहुमतमा, सरकार आलोपालो
११० सांसद रहेको बागमती प्रदेशमा सरकार गठनका लागि ५६ सांसद संख्या आवश्यक रहेको छ। एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ सांसदसहित सुविधाजनक बहुमतको सरकार बन्ने सम्भावना छ।
यो प्रदेशमा एमाले र माओवादी केन्द्रले आलेपालो नेतृत्वमा सरकार बनाउन सक्छन्। तर संसदीय दलको नेता नटुङ्ग्याएकोले मुख्यमन्त्रीमा कसको अनुहार आउने भन्ने यकिन भइसकेको छैन।
गण्डकीमा एमाले–माओवादी केन्द्र–राप्रपालाई झिनो बहुमत, सरकारको नेतृत्वमा एमाले
६० सांसद रहेको गण्डकी प्रदेशमा सरकार बन्नका लागि ३१ सांसद संख्या आवश्यक पर्छ। एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ सहित स्पष्ट बहुमतको सरकार बन्ने भएको छ।
यो प्रदेशमा एमालेकै नेतृत्वमा सरकार बन्ने देखिन्छ। एमालेकै नेतृत्वमा सरकार बन्दा नेता खगराज अधिकारी मुख्यमन्त्री बन्नेछन्। अधिकारी एमाले गण्डकी प्रदेशका संसदीय दलका नेतामा चयन भएका छन्।
लुम्बिनी प्रेदशमा एमाले–माओवादी गठबन्धनलाई स्पष्ट बहुमत, नेतृत्व एमालेको
८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सरकार गठनका लागि ४४ सांसद संख्या आवश्यक पर्छ। २९ सांसदसहित एमाले पहिलो दल बनेको छ।
यस्तै, माओवादी केन्द्रका ८ सांसद, राप्रपाका ४ सांसद, जसपाका ३ सांसद, जनमत पार्टीका ३ सांसद, नागरिक उन्मुक्तिका ४ सांसद सहितको गठबन्धन सरकार बन्ने सम्भावना छ। संसदीय दलको नेतृत्व कसले गर्ने भन्ने टुङ्गो नभइसके पनि सरकारको नेतृत्व भने एमालेले नै गर्ने देखिन्छ।
कर्णाली प्रदेशमा एमाले–माओवादीकै स्पष्ट बहुमत, नेतृत्व माओवादी केन्द्रको
४० सांसद रहेको यो प्रदेशमा सरकार गठनका लागि २१ सांसद संख्या आवश्यक पर्छ। एमालेका १० सांसद, माओवादी केन्द्रका १३ सांसद, राप्रपाका १ सांसदसहित स्पष्ट बहुमतको सरकार बन्ने देखिन्छ। यो गठबन्धनमा माओवादी केन्द्र ठूलो दल रहेकाले सरकार पनि उसैको नेतृत्वमा बन्ने देखिन्छ। तर संसदीय दलको नेतृत्वको टुङ्गो नगरेकोले मुख्यमन्त्री को हुन्छन् भन्ने टुङ्गो छैन।
सुदूरपश्चिम प्रदेशमा एमाले–माओवादी गठबन्धनलाई स्पष्ट बहुमत, नेतृत्व आलोपालो
५३ सांसद रहेको सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ सांसद संख्या आयश्यक पर्छ। यो प्रदेशमा एमालेका १० सांसद, माओवादी केन्द्रका ११ सांसद, राप्रपाका १ सांसद, नागरिक उन्मुक्ति पार्टीका ७ सांसद सहितको स्पष्ट बहुमतको सरकार बन्ने देखिएको छ।
यो प्रदेशमा माओवादी केन्द्र र एमालेले सरकारको नेतृत्व आलोपालो गर्न सक्छन्। माओवादी केन्द्रले सरकार बनाए यसका नेता खगराज भट्टले नेतृत्व गर्न सक्छन्। तर संसदीय दलको नेतृत्व भने टुङ्गिसकेको छैन।