काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट प्रचण्ड बहुमतले विश्वासको मत प्राप्त गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा भएको मतदानबाट प्रधानमन्त्री प्रचण्डले २ सय ६८ मत प्राप्त गर्नुभयो । आजको बैठकमा २७० सांसद उपस्थित रहेका थिए । प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गरेको प्रतिनिधिसभामा जेष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिका निर्वाह गरिरहनुभएका पशुपति शमशेर जबराले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन् । विश्वासको मत लिन उनले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा २६८ सांसदहरूले समर्थन गरे । नेपालको संसदीय दलको इतिहासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा लगभग सबै सांसदको विश्वासको मतसहित यो अभूतपूर्व समर्थन प्राप्त गरेका छन् । उनलाई प्रतिनिधिसभामा रहेका १२ मध्ये १० दलको समर्थन प्राप्त भएको छ ।
प्रचण्डलाई सत्ता गठबन्धनका सबै दल सहित काँग्रेस, जसपा, लोसपा सबैले विश्वासको मत दिएका छन् । प्रधानमन्त्रीलाइ नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले भने विश्वासको मत दिएनन् ।
मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र जनमोर्चाका चित्रबहादुर केसीले भने उहाँलाइ मत दिनुभएन । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत माग्नुभएको थियो । यस्तै सभामुखको निर्वाचन माघ ५ गते हुने भएको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् । १२ दल र स्वतन्त्रसहित बाँकी २७४ मा राष्ट्रिय जनमोर्चा र नेमकिपा मात्रै विपक्षमा उभिएका छन् ।
एमालेसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए । उनी नियुक्त हुँदा समर्थन नगरेका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपाले पनि विश्वासको मत दिएका छन् ।