काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले लोककल्याणकारी बिज्ञापन अनलाईनलाई बितरण गर्ने काम चाँडै लागू गर्ने जानकारी दिनुभएको छ ।
प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसरमा आज आयोजित बिशेष कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो जानकारी दिनुभएको हो । ‘तपाईहरुको जुन सरोकार र माग छ, त्यसप्रति सरकार सम्वेदनशील छ, लोककल्याणकारी बिज्ञापन अनलाईनलाई बितरण गर्ने काम चाँडै लागू गरिन्छ,’ अर्थमन्त्री पौडेलले भन्नुभयो ।
बिगतमा आफू सरकारमा रहँदा श्रमजीवि पत्रकारहरुको पक्षमा काम गरेको तथ्य राख्दै पौडेलले अव पनि सरकार श्रमजीवि पत्रकारको पक्षमै रहेको प्रष्ट पार्नुभयो ।
अर्थमन्त्री पौडेलले बिगतमा गरिएको पत्रकार दुर्घटना बिमा एउटा गतिलो उदाहरण भएको भन्दै यस्को प्रभावकारी कार्यान्वयन गर्न सरकार दृढतापुर्वक लाग्ने बताउनु भयो । दुर्घटना बिमाको ५० प्रतिशत प्रिमियम सरकारले बेहोर्ने आफ्नो पालाको निर्णय पत्रकारप्रति आफूहरु सदैव सकारात्मक रहेको प्रमाण भएको पनि बताउनु भयो ।
यस्तै कामको सिलसिलामा जाँदा पत्रकार दुर्घटनामा परे सरकारी अस्पतालहरुमा निशुल्क उपचार गर्ने प्रबन्ध गरिएको भन्दै उहाँले यो निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भयो । अर्थमन्त्री पौडेलले श्रमजिवि पत्रकारको मुद्धाप्रति सरकार निकै सम्वेदनशील रहेको बताउनु भयो ।
अर्थमन्त्री पौडेलले पत्रकारको मागप्रति सरकार सकारात्मक रहेको भन्दै तत्काल पूरा गर्न सकिने माग तत्कालै र केही समय लिने माग समयक्रममै पूरा गर्ने बताउनु भयो ।
सवै सञ्चारकर्मीहरुको ब्यक्तित्व, बृत्ति बिकासका लागि सकारात्मक भूमिका निर्वाह गर्दै सवैले स्वाभिमानपुर्वक काम गर्न सक्ने बातावरण निर्माण गर्न सरकार प्रतिवद्ध छ, त्यस्तो अनुकुल परिस्थिति निर्माण गर्नका निम्ति हरेक तहको प्रयाश हुनेछ,’ अर्थमन्त्री पौडेलले भन्नुभयो ।