काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि सहमतिको प्रयास जारी रहेकाले मतदान दिउँसो १२ बजेलाई सारिएको छ ।
सर्वसम्मत नेतृत्व चयनका लागि सहमतिको प्रयास भए पनि अध्यक्ष पदका आकाङ्क्षीहरू सहमत हुन नसकेपछि निर्वाचन प्रक्रिया सुरु गरिएको हो । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको मङ्गलवार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । महाधिवेशनले एक सय ९९ सदस्यीय केन्द्रीय समिति तथा ३ वटा केन्द्रीय आयोग पनि निर्माण गर्नेछ ।
प्रत्येक आयोगमा ५–५ जना सदस्य हुनेछन् । यस्तै, अध्यक्ष १, महासचिव र कोषाध्यक्ष १–१ जना, उपाध्यक्ष ४ र सचिव १० जना गरी पदाधिकारीहरूको चयन हुनेछ । १० सचिवमा ३ महिला, १ समावेशी र ६ खुला निर्वाचित हुनेछन् । अध्यक्षमा आरसी लामिछाने, समिक बडा, वाङ्छु योञ्जन, लोकेश निरौला, र मोति विकको उम्मेद्वारी परेको छ । त्यस्तै महासचिवका उमेश आचार्य, नरेश रोकाया, कल्पना वाईबा, सुदर्शन शिवाकोटी, भाष्कर खनालले उम्मेद्वारी दिएका छन् ।